२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘सात वटै प्रदेशमा कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको स्थापना जरुरी छ’

‘सात वटै प्रदेशमा कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको स्थापना जरुरी छ’

‘नेपालका सिटिभीएस सेन्टरबाट विश्वस्तरीय सेवा प्रवाह हुन्छ’


डा. अनिल भट्टराई त्रिविअन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट विभागका प्रमुख हुन् । विगत १० वर्षदेखि सेन्टरमा सक्रिय उनी युरोपमा बसेर पनि लामो समय प्रयाक्टिस गरेका कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सर्जन हुन् । केही समयअघि मात्रै देशकै प्रमुख अस्पतालको विभागीय प्रमुख नियुक्त भएका डा. भट्टराईसँग नेपालमा कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेवाका विविध विषयमाथि केन्द्रीत रहेर हेल्थआवाजले गरेको कुराकानीः

भर्खरै त्रिवि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सिटीभिएस विभागको प्रमुख नियुक्त हुनु भएको छ । देशकै प्रमुख केन्द्रको विभागलाई कसरी अगाडि लैजाने योजना बनाउनुभएको छ ?
हाम्रो हस्पिटल सेन्ट्रल लेभलको हस्पिटल हो । यो युनिभर्सिटी लेभलको हस्पिटल पनि हो । एउटा विभाग प्रमुखको जिम्मेवारी पाउनु गौरवको कुरा हो र सँगसँगै चुनौती पनि हो । केही नयाँ र एकदमै आवश्यक कुराहरु गर्नुपर्ने हुन्छ । यसमा धेरै कुराहरु छन् ।

सिटीभिएस डिपार्टमेन्टमा ३ वटा विधाहरु पर्छ । ‘सी’ कार्डियो यो मुटुसँग सम्बन्धि छ । ‘टी’ भनेको थेरासिक र ‘भी’ भनेको भास्कुलर हो । सिटीभास्कुलर मुटु, फोक्सो र रक्तनली सम्बन्धिको विभाग हो । यो जटिल खालको रोगहरु र जटिल खालको सर्जरी हो । जस्तो मुटुको शल्यक्रिया, फोक्सोको शल्यक्रिया, ठूला—ठूला धमनीहरु र रक्तनलीहरुको शल्यक्रिया गर्ने विभागमा हामी पर्छौ । सिटीभिएस सेवा देशभरी नै कुरा गर्ने हो भने धेरै कम हस्पिटलहरुमा मात्र उपलब्ध छ । काठमाडौं बाहिर पूरै सिटीभीएस एकै ठाउँमा पाउन गाह्रो छ । एक किसिमको म्यानपावर फ्याट्टफुट्ट भएपनि सबै एकै ठाउँमा भएको पाउन गाह्रो छ ।

अहिलेको हाम्रो चुनौती भनेको कार्डिया सर्जरी जुन छ, त्यसमा आएका नयाँ प्रविधिहरु र नयाँ कुराहरुलाई कसरी अगाडि बढाउने भन्ने कुराहरुमा छ । अहिले सिटीभिएस विभाग अथवा विषय डाक्टरहरुको वीचमा अलोकप्रिय छ । किनभने, यसमा धेरै काम गर्नुपर्ने, खट्नुपर्ने हुन्छ, कसैलाई पनि धेरै दुःख गर्न मन लाग्दैन् । डाक्टरलाई पनि नलाग्नु स्वभाविक हो । तर, हामी केहि सेलेक्टेड मानिसहरु जो दुःख गर्न तयार छन्, उनीहरुले गरिरहेका छन् । त्यसलाई दुःख नमानी आफ्नो इच्छाले, आफ्नो खुसीले गरिरहेको हुनाले यसलाई कसरी डाक्टरहरुको बीचमा इन्ट्रेस्टको विषय बनाउन सकिन्छ भन्ने कुरा मैले अलि बढी सोचिरहेको छु ।

पछिल्लो समय सिटिभीएसमा आउने वा आउन चाहने सर्जनहरुको मात्रा धेरै कम भएको छ । त्यसकारण यसलाई एउटा इन्ट्रेस्टको विषय बनाउने कुरा धेरै च्यालेन्जका रुपमा लिएको छु । यो सर्भिस एकदमै महत्वपूर्ण छ । मुटु चार मिनेट बन्द भयो भने जिन्दगी सम्भव छैन । त्यस्तै, रक्तनलीमा कुनै अवरोध आयो भने छ घण्टासम्म पनि त्यो खोल्न सकिएन भने त्यो खुट्टा अथवा हात काटेर फाल्नुपर्छ । फोक्सोको समास्या पनि जटिल छ । खाद्य नलीमा खाना अड्किने, क्यान्सर, चोटपटक लाग्दा फोक्सोमा रगत जम्ने, हावा भरिने जस्ता जटिल समस्याहरुको उपचार गर्न मानिसहरु यही आउँछन् । यसको विशेषज्ञहरु कम भए भने लामो समयमा पब्लिकलाई धेरै असर गर्छ । एक जेनेरेसन ग्याप हुने बित्तिकै त्यसलाई पूरा गर्न र त्यसले नयाँ जेनेरेसनलाई एजुकेट गर्न समय लाग्छ । त्यसकारण सिटिभीएस विषय आवश्यक हो र रुचि जगाउनुपर्ने सबैभन्दा जल्दोबल्दो समस्या मैले देखेको छु ।

त्यसपछि विषयगत रुपमा गर्नुपर्ने कुराहरु मुटुको प्रत्यारोपण गर्नुपर्ने छ । भास्कुलर सर्जनमा पनि नयाँ—नयाँ कुराहरु भइरहेका छन् । अहिले हाम्रोमा हाइब्रिड ओटी छ, जुन नेपालमा एक मात्र ओटी हो । हाइब्रिड ओटी भनेको शल्यक्रिया र इन्टरनल प्रोसिजरहरु एकै ठाउँमा गर्न सकिन्छ । महँगो छ तर हामीसँग छ । प्रायः सर्जरीमा पनि नयाँ—नयाँ कुराहरु आइरहेको छन् । यो सबै कुराहरुलाई स्थापित गरेर युवा सर्जनहरुलाई कसरी आकर्षित गर्ने, उनीहरुलाई कसरी यो फिल्डमा आउनको लागि प्रोत्साहन गर्ने र त्यही किसिमको सुविधाहरु, प्रोत्साहन भत्ताहरु दिने खालको यसमा केही गर्नुपर्छ भन्ने मरो इच्छा छ ।

यो सर्जन उत्पादन गर्ने शैक्षिक प्रोग्राम पनि हो यसलाई कसरी विकास गर्दै लैजानुहुन्छ ?
यो आज युवा चिकित्सकहरु नभएको फिल्ड भएको छ । यसलाई अगाडि बढाउन हामीसँग एमसीएच प्रोग्राम छ । एमसीएच भनेको पिएचडी लेभलको प्रोग्राम हो । यो धेरै वर्षदेखि चलिरहेकै हो । पछिल्लो समयमा विद्यार्थीहरु आउने क्रम घटेको छ । यसलाई आकर्षक बनाउनको लागि रिसर्चका क्रियाकलाप पनि गर्नु पर्छ । अनुसन्धानमा अलि धेरै व्यस्त हुनुपर्छ । इन्टरएक्टीभ गराउने, एक्सचेन्ज प्रोग्रामहरु ल्याउने (एक्सचेन्ज प्रोग्राम भनेको हाम्रोमा स्टडी गर्नेहरुलाई सर्टटर्मका लागि विदेशमा ट्रेनिङ्गमा पठाउने) त्यसको लागि पनि मैले केही पहलहरु गर्न खोजिरहेको छु । जसले गर्दा हाम्रो पिएचडी लेभलको कार्यक्रम जुन छ, त्यो प्रोग्राम निरन्तर होस् । धेरै स्पेसलिष्टहरु यसमा आकर्षित हुन भन्नेमा छ ।

लामो समयदेखि कार्डियो भास्कुलर सर्जरीमा सक्रिय हुनुहुन्छ ? पछिल्लो समय नेपालमा कार्डियोभास्कुलर सर्जरीको अवस्था के छ ?
कार्डियोभास्कुलर सर्जरीमा तीन वटा विधा छन् । कार्डियोको मात्र कुरा गर्ने हो भने अहिले देशमा प्रत्येक वर्ष २२ सयदेखि २५ सयसम्म ओपन हार्ट सर्जरी भइरहेका छन् । गंगालाल र मनमोहनबाहेक चितवन, विराटनगर, धरान र पोखरा पनि सुरु हुन लागेको छ । यो सबै जोड्यो भने २२ सयदेखि २५ सय प्रत्येक वर्ष शल्यक्रिया हुन्छन् । त्यो भनेको राम्रो हो तर त्यो पर्याप्त भएन् । किनभने हाम्रो जनसंख्याको हिसाबले तीन करोड जनसंख्यामा जम्मा २२—२५ सय भनेको धेरै नै कम हो । वर्षमा ५—६ हजार सर्जरी हुनुपर्ने हो ।

इमर्जेन्सी प्रक्रियाहरु जसलाई हामी थम्बीलेक्टोमी, इम्बोलेक्टोमी भन्छौं । खुट्टा अथवा हातको रक्तनलीमा अवरोध आयो भने त्यसलाई तुरुन्त स्पेसलिस्ट भएको ठाउँमा तुरुन्त लैजान सकियो भने १०—१५ मिनेटभित्र एउटा सानो पाइप छिराएर हातको पनि झिक्यो, खुट्टाको पनि झिक्न सक्यो भने बिरामीको हातखुट्टा जोगिन्छ । तर, त्यही नभएको कारणले अहिले पनि सयौं हात, खुट्टा बिरामीले गुमाउनु परेको छ । त्यसको लागि पनि हामीले स्पेसल लेटरहरु तयार गरेर कम्तीमा मेजर सिटीहरुमा त्यो सुविधा उपलब्ध गराउन सकियो भने धेरै मान्छेहरुको हातखुट्टाहरु जोगाउन सकिन्छ । थोरासिक सर्जरीमा पनि स्पेसलिस्टहरु देशमा धेरै कम छन्, त्यो सुविधा पनि कम छ । अब भनेको सुविधा बढाउने र स्पेसलिस्टको नम्बर बढाउने नै हो ।

यो क्षेत्रमा पछिल्ला १० वर्षदेखि यही सेन्टरमा रहेर काम गर्दै हुनुहुन्छ । यो १० वर्षको अवधिमा के कस्ता परिवर्तनहरु आए ?
म यहाँ आवद्ध हुँदा कार्डियो सर्जरी लगभग सबै खाले नै हुन्थ्यो । तर, नम्बर अलि कम थियो किनभने स्पेशलिष्ट कम थिए । हामी आयौं, साथीहरु आउनुभयो, उनीहरुलाई हामीले ट्रेन गर्यौ । उनीहरुले पनि गर्न थाले । त्यो हिसाबले अलिअलि म्यानपावर बढेको छ । उहाँहरु जहाँ भएपनि देशका विभिन्न ठाउँबाट सर्भिस दिइरहेका छन् । त्यसकारण यो अवधिमा सेवा विस्तार भएको छ ।

अर्को, हामी प्रविधिको हिसाबमा हामीले धेरै फड्को मारेका छौं । कार्डियो सर्जरीकै कुरा गर्नुभयो भने १० वर्षअघि मिनिमल्ली इनभासीभ कार्डियाक सर्जरी हुँदैन थियो । सानो इन्सीजनबाट गर्ने ठूला अप्रेशनहरु हामीले सुरु गरिसकेका छौं । डेढ सय दुई सयभन्दा बढीको भइसक्यो । त्यो इन्टरनेशनल जर्नलमा प्रकाशित भइसक्यो भनेपछि नेपालमा नयाँ प्रविधिको विकास भइरहेको छ । सिटीभीएस विभाग र क्षेत्रमा पनि नयाँ प्रविधिका अपरेसनहरु भइरहेका छन् भन्ने आजको दिनमा दुनियाँलाई थाहा छ । त्यो कुरा हामीले ‘वल्र्ड जर्नल अफ कार्डियोथोरासिक सर्जरी’ पनि प्रकाशित गरिसकेका छौं । त्यो पनि एउटा ठूलो एचिभमेन्ट हो ।

हाम्रो इन्स्टिच्युटमा शैक्षिक गतिविधी हुने त्रिविअन्तर्गत नै भएको हुनाले यहाँ तीन वटा विधा छन् । एउटा हामी सर्भिस दिन्छौं, दोस्रो पठनपाठन र तेस्रो रिसर्च हुन्छ । हामीले यो तीन वटा आधारभूत कुरामा अड्किएर काम गर्यौं । सर्भिस भनेको पब्लिकलाई दिने उपचार हो, शैक्षिक प्रोग्राम ब्याचलर, माष्टर्स र पिएचडी स्टुडेन्टलाई पढाउँछौं । अर्को, अनुसन्धानका कार्यहरु गरिरहेका छौं । यी तीन वटै कुराहरुलाई हामीले सँगै लगिरहेका छौं ।

१० वर्षमा भएको परिवर्तन हामीले सिटिभीएस सर्जरीलाई बढायौं, आज पोखरामा पनि सिटिभीएस सर्जरी उपलब्ध छ, त्यो हामीले नै उत्पादन गरेको हो । चितवनका केही हस्पिटलहरुमा छन् । त्यसपछि हाइब्रिड ओटी आयो, जुन हामीसँग पहिला थिएन । अहिले दुईवटा क्याथ ल्याब भए । सर्भिसको एक्सपान्सन एकदमै राम्रो भएको छ ।

युरोपमा पनि कार्डियोभास्कुलर सर्जरीमा काम गर्नुभयो त्यहाँ र यहाँ काम गर्दा के भिन्नता पाउनुभयो ?
आधारभूत रुपमा फरक त खासै छैन । प्रविधिको हिसाबले हामी पनि लगभग एक लेभलले माथि आइसक्यौं । युरोपसँग तुलना गर्न सकिने खालको आउटकम हाम्रो पनि छ । अलिकति सेवाको कुराहरु, मेट्रियलको कुराहरु, अपरेसन थिएटरमा प्रयोग हुने सामानहरु फरक छन् । ती सामानहरुमा अलिकति भिन्नता होला । जस्तो उनीहरुसँग सामानहरु धेरै उपलब्धता हुन्छ। हामीसँग त्यो अलि कम छ । तर, समग्रमा हामीले प्रयोग गर्ने सामान, हामीले प्रयोग गर्ने प्रविधि लगभग एउटै छ । किनभने। सबै आयात उतै हो । युरोप, अमेरिकाबाट हामी पढेर पनि आयौं । सामान पनि त्यहीबाट पनि आउने भयो । यहाँ प्रयोग हुने कार्डियो सर्जरी सिटिभीएस ओभरअल हाइटेक सब्जेक्ट पर्‍यो । त्यसले गर्दा नेपालमै अथवा साउथ एसियामा उत्पादन भएको त्यस्तो खालको सामानहरु ल्याएर उत्पादन गरौं भने पनि त्यति सजिलो छैन । त्यसकारण हामीले त्यो पार्टबाट भिन्नता पाउँदैनौं ।

अरु भिन्नता भनेको हाम्रो सामाजिक वातावरण यस्तो छ कि अस्पतालमा पनि बिरामी भेट्नलाई जन्ती नै आएको जसरी मान्छे आइदिन्छ । त्यो खालको प्रवृत्ति त्यहाँ हुँदैन । एक जनाको लागि एउटा भिजिटर हुन्छ । त्यसको लागि त्यही किसिमको सुविधा दिइएको हुन्छ । यहाँ एउटा बिरामी परेर आयो भने गाउँ नै उठेर आउने चलन छ, त्यसलाई हामी सामान्य नै मान्छौं । त्यो परिवर्तन आउन समय नै पनि लाग्छ । हामीले चाहेर दुई दिनमै त्यो परिवर्तन हुँदैन् । यस्तो खालको सोसियल पार्टहरु अलिकति खराब हुन् । हस्पिटलको भवन, सरसफाइलगायतका केही कुरामा अलिकति फरक होलान् । त्यसमा हामीले सुधार गर्नुपर्नेछ । विशेष गरेर हाम्रो फिल्डमा प्राविधिकको हिसाबले धेरै ठूलो भिन्नता आजको दिनमा छैन ।

सिटिभीएस नेपालमै विश्वस्तरीय सेवा र सुविधा छ ?
निश्चित नै दिन्छन्, त्यसमा कुनै दुविधा नै छैन । किनभने, हामीले प्रयोग गर्ने मेसिन, त्यसमा लाग्ने डिस्पोजेएबल अक्सिजन मिटर, भालहरु, सुचरहरु, स्ट्यान्डहरु, ग्याजेटस्हरु यी सबै एउटा स्ट्यान्डर्ड मेनटेन भएकोलाई मात्रै हामीले इन्ट्री गर्छौ । हामीले जुनसुकैलाई स्ट्यान्डर्ड मेन्टेन नहुने खालको एफडिएहरु एप्रुभ भएको छ कि छैन हेरेर मात्रै प्रयोग गर्छौ ।

कार्डियोभास्कुलर सर्जरीमा नेपालका अप्ठ्याराहरु के हुन् ?
कार्डियोभास्कुलर सर्जरीमा अप्ठ्याराहरु सेन्टरहरुको कमी, स्पेसलिस्टहरुको कमी, भौगोलिक जटिलताले गर्दा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको मान्छे सबै खालको उपचार गर्नको लागि काठमाडौं नै आउनुपर्ने अवस्था केही हदसम्म कम भएपनि अझै यस्तो अवस्था बाँकी छ ।

अर्को, कार्डियो भास्कुलर फिल्ड भनेको अरुभन्दा फरक छ । सम्बन्धित रोग लागेर जटिलता आइसकेपछि हामीसँग समय एकदमै कम हुन्छ । हुम्ला, जुम्लामा भएको मान्छे काठमाडौंसम्म आइपुग्न धेरै समय लाग्छ । त्यसकारण हाम्रो भौगोलिक जटिलता, देशको आर्थिक अवस्थालाई मध्यनजर गर्दै सात प्रदेशमा सात वटा सिटिभीएस सेन्टर बनाउन सक्यौं भने धेरै हदसम्म अहिले भएका यी जति पनि समस्याहरु छन्, हल हुन्छन् । इमर्जेन्सी प्रक्रियाहरु, तुरुन्त गरिहाल्नुपर्ने शल्यक्रियाहरुलाई हामीले ट्याकल गर्नु सक्नुप¥यो । स्पेसलिस्ट एकदमै नभएको पनि होइन तर ती स्पेसलिस्टलाई आज हामीले देशमा होल्ड गर्न नसकेको अवस्था पनि छ । हामीसँग काम गरेर विदेशिएका पनि छन्, उनीहरुलाई होल्ड गर्ने हाम्रो नीति पनि भएन । सात प्रदेशमा सातै वटा सेन्टर बनाएर तिनीहरुलाई त्यहाँ पठाउन सक्ने सरकारसँग त्यो लेभलको पोलिसी भएको भए विदेश पक्कै जाँदैनथे होलान् । पोलिसी लेभलमा सिटिभीएसलाई बढाउने, स्थापना गर्नेतिर ध्यान दिनुपर्नेछ । गाउँ—गाउँमा सिटिभीएस अस्पताल त बनाउन सकिँदैन्, कम्तीमा मुख्य सहर र सात वटा प्रदेशको सात वटा केन्द्रीय अस्पतालहरुमा सिटिभीएस डिपार्टमेन्ट बनाएर यो सुविधा थप्नुपर्छ । सिटिभीएस विभागलाई विस्तार गर्नुपर्छ गर्नुपर्छ ।

अहिले चलिरहेका सेन्टरहरुलाई पनि अझै व्यवस्थित गराउन राज्यले के गरिदिनुपर्छ जस्तो लाग्छ ?
सिटिभीएसको कुरा गर्दा अहिले सात वटै प्रदेशमा कार्डियोलोजी सिटिभीएस सर्भिस विस्तार गर्ने भनेर एउटा पोलिसी ल्याउन सकिन्छ । पोलिसी ल्याएपछि पाँच वर्षसम्म चलाउने हिसाबले ल्याउने, भएको पोलिसीलाई पनि यसले आईडेन्टीफाइ गर्नुपर्‍यो । प्रदेशका संघीय अस्पतालहरुमा एउटा बलियो सिटिभीएस डिपार्टमेन्ट विकास गर्नुपर्छ । त्यसका लागि इक्वीपमेन्ट, म्यानपावर केन्द्रीय सरकारले नै आफ्नो जिम्मामा लिएर पाँच वर्ष भित्र पुरा हुने हिसाबले गर्न सकिन्छ ।

नेपालमा कार्डियोथोरासिक भास्कुलर सर्जरीमा कानुनी जटिलताहरु के छन् ?
कानूनी जटिलता त अहिले खासै छैन । तर, हार्ट ट्रान्सप्लान्टको लागि धेरै कुराहरु लगभग मिलिसकेको छ । मैले मुटु ट्रान्सप्लानको लाइसेन्स पनि लिइसकेको छु । कानुनी रुपमा अब धेरै व्यवधान छैन । मृत मानिसबाट अंग लिन पाइने कानुन पनि बनिसक्यो । कोही मान्छे मस्तिष्क मृत्यु भएको घोषाण भएपछि उसको मुटु झिकेर अर्को मान्छेमा हाल्न सकिन्छ । कानुनी जटिलता खासै ठूलो देखिदैंन् । पोलिसी लेभलमा यसलाई कसरी विस्तार गर्ने, यहाँ भएका स्पेसलिस्टलाई कसरी रिट्रेन गर्ने र युवा डाक्टरहरु जो सिटिभीएस सर्जन बन्न चाहन्छन्, तिनीहरुलाई कसरी फ्यासिलिटीहरु दिने र स्पेसलिस्ट भइसकेपछि कसरी देशमै रिटेन गर्ने भन्ने खालको पोलिसी चाहिएको छ ।

नेपालमा कार्डियोभास्कुलर सर्जरीमा सम्भावनाहरु के छन् ?
हाम्रा सम्भावनाहरु नयाँ प्रविधिलाई अगाडि बढाउन सकिन्छ । जस्तोः कार्डियो सर्जरीलाई अझै बढाउनुपर्नेछ । मुटुको प्रत्यारोपण गर्न बाँकी छ । सेवालाई बढाउने, भास्कुलर सर्जरीमा नयाँ प्रविधि एन्डोभास्कुलर सर्जरी भन्ने हामीले गरिरहेका छौं । त्यसलाई अझै शसक्त बनाउने र सस्तो पनि बनाउनुपर्‍यो । त्यसलाई देशभरी विस्तार गरेर लैजाने, थेरासिक सर्जरीमा पनि स्पेसलिस्टहरु राख्ने, कम्तीमा सातै प्रदेशमा फुल फङसन भएको बनाइदिने बित्तिकै धेरै स्पेसलिस्टहरु राख्न सकिन्छ । सर्भिस दिन सकिन्छ । स्रोत साधन सम्पन्न, वेल स्ट्याब्लिस्ट सिटिभीएस सेन्टर सातवटै प्रदेशमा बनाउनु जरुरी छ ।




क्याटेगोरी : अन्तर्वार्ता / विचार, भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ