२०८१ वैशाख ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविमान दुर्घटनामा अर्थोपेडिक सर्जन डा. श्रेष्ठ दम्पत्तिले गुमाए ज्यान

विमान दुर्घटनामा अर्थोपेडिक सर्जन डा. श्रेष्ठ दम्पत्तिले गुमाए ज्यान


काठमाडौं-पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ दम्पत्तिले पनि ज्यान गुमाएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाअनुसार दुर्घटनामा परेका डा. श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकरको शव पहिचान भएको छ ।

‘उहाँहरु दुवैको शव पहिचान भएको छ,’ अस्पतालका एक चिकित्सकले भने, ‘तर, परिवारले सनाखत गर्न बाँकी छ । सबै शव पहिचान गरिसकेपछि एकै पटक सनाखत गराउने तयारीमा छौं ।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक रहेका उनका भिनाजु डा. दीपेन्द्रमान श्रेष्ठले पनि दुवैको शव पहिचान भइसकेको पुष्टि गरे । ‘हामीले उहाँहरुको शव पहिचान गरिसकेका छौं,’ उनले भने, ‘सनाखत एकै पटक गर्ने भनिएकाले हस्पिटलमै राखिएको छ ।’

राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. श्रेष्ठ र उनकी श्रीमती डा. सोना नाबालक छोरासहित काठमाडौंबाट छुट्टी मनाउन पोखरा घर जाने क्रममा उक्त विमान दुर्घटनामा परेका हुन् । उनीहरु सवार यति एयरलाइन्सको ९एन-एनएनसी एटीआर विमान आइतबार विहान १०ः५१ मा अवतरणका क्रममा पोखरा सेती खोचमा दुर्घटनामा भएको थियो ।

पोखरामै रहेका ट्रमा सेन्टरका पूर्व निर्देशक डा. सन्तोष पौडेलले डा. श्रेष्ठ र उनकी श्रीमती डा. सोनालाई अलिबिदा भन्दैं फेसबुकमा दुःख व्यक्त गरेर स्टाटस लेखेका छन् । ‘यो दुखद् खबर कसरी पत्याउने । मेरो गण्डकी बोर्डिङदेखि न्याम्ससम्मको प्रिय भाइ, अहिले पनि ट्रमा सेन्टरमा सँगै थियो,’ उनले फेसबुकमा लेखेका छन्, ‘अलबिदा डा. सुशील र डा. सोना ।’

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीकाअनुसार आधिकारिक रुपमा ३२ वटा शव अस्पतालले बुझेको छ ।

शनिबार पनि इमर्जेन्सीमा बिरामी हेरेका थिए

दुई वर्षदेखि ट्रमा सेन्टरमा अर्थोपेडिक सर्जनका रुपमा कार्यरत डा. श्रेष्ठले शुक्रबार विस्तारित सेवा (ईएचएस)मा बिरामीको शल्यक्रिया गरेका थिए । शनिबार पनि उनी फुर्सदमा थिएनन् । उनले विहान इमर्जेन्सीमा बिरामी हेरेका थिए भने पछि किष्ट मेडिकल कलेजमा भएको स्पाइन सम्बन्धी कार्यक्रममा सहभागी भएका थिए ।

ट्रमा सेन्टरका उनका अग्रज सहकर्मी डा. गौरव ढकाल डा. श्रेष्ठले किष्टको कार्यक्रममा स्पाइन सर्जरी सम्बन्धी कार्यक्रममा अन्तिम पटक आफूहरुको कुराकानी भएको बताउँछन् । ‘त्यहाँ उनले ढाडको नसा च्याप्पिने रोग सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए,’ उनी भन्छन्, ‘कार्यक्रम सकिएर फर्किने बेलामा केही दिन छुट्टी लिएर परिवारसहति घर जान लागेको बताएका थिए र फर्केर आएपछि गर्धनको नसा च्याप्पिएको बिरामीको शल्यक्रियासँगै गर्ने सल्लाह भएको थियो ।’

राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले डा. श्रेष्ठले हिजो र अस्ति ओटी गरेर एक दुई दिन विदा बस्न चाहेको आफूलाई बताएको जानकारी दिए । ‘सुशीलले अस्ति इएचएसमा शल्यक्रिया गरेका थिए । हिजो इमर्जेन्सीमा शल्यक्रिया गर्दा कुराकानी भएको थियो,’ डा. मरासिनीले भने, ‘म एक दुई दिन बिदामा बस्छु भनेर पनि भनेका थिए ।’ शनिबार किष्ट मेडिकल कलेजमा भएको स्पाइन सोसाइटीको बैठकमा पनि डा. मरासिनी र डा. श्रेष्ठसँगै सहभागी भएका थिए ।

न्याम्सबाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका डा. श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा काम गरेका थिए । पोखरा स्थायी घर भएका डा. श्रेष्ठ काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन् । उनी पोखराको गण्डकी बोर्डिङ स्कुल पढेका हुन् ।

डा. सोना भने एमडीको तयारीमा थिइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ