काठमाडौ– नेपाल मेडिकल काउन्सिलले १२ जना चिकित्सकलाई सक्कली कागजात सहित ३० दिनभित्र सम्पर्कमा आउन पत्राचार गरेको छ । चिकित्सकहरुको नागरिकता र परिचयपत्र नेपाल र भारत दुवै देशको पाइएपछि स्पष्टिकरण पेश गर्नका लागि काउन्सिलले पत्राचार गरेको हो ।
काउन्सिलका रजिष्टार डा. कृष्ण अधिकारीले उनीहरुले पढाई अघि नेपाली नागरिक भएको, पढ्दा भारतीय नागरिक भएको र पढिसकेर काउन्सिलबाट लाइसेन्स परीक्षा दिँदा नेपाली नागरिक भएको कागजात पेश गरेको हुँदा सही कुरा के हो भनेर छानविन भैरहेका बताए । उनले सही छानबिनको क्रममा सक्कल प्रमाणपत्रसहित उपस्थित हुन पत्र काटिएको जानकारी दिए ।
काउन्सिलमा महोत्तरीकी डा. कविना सिंहले भारतको सितामणीबाट सपथ पत्र पेश गरेकी छिन् । उनले नेपाली नागरिकता पनि पेश गरेकी छिन् । त्यस्तै, धनुषाका डा. प्रेक्षा साहले भारतबाट जारी भएको आवश्यक प्रमाणपत्र र मतदाता सूचीसहित नेपाली नागरिकता पनि पेश गरेकी छिन् । साह तत्कालिन सभासद प्रेम किशोर साहकी छोरी हुन् ।
पर्साका डा. शशिकान्त चौधरीले जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता लिएको प्रमाणपत्रसहित भारत सरकारको दतक पुत्र(भारतको राजस्थान फत्तेपुर जिल्लाकी चौधरी बनारसी देवीको दतक पुत्र) पेश गरेका छन् । रौतहकी डा. विनिता सिंहले भारतको सपथ पत्र पेश गरेकी छिन् । उनले १५ वर्षदेखि भारतीय हरेन्द्रप्रसाद चोधरीले लालनपालन गरेको भन्दै दतक पुत्री भएको दाबी गरेकी छिन् ।
महोत्तरीकी डा. पुजा कुमारी झाले भारतीय दुताबासका तत्कालिन काउन्सिलर एन बरुवाले भारतीय नागरिक भएको प्रमाणित पत्र दिएका छन् । उनले महोत्तरीबाट नेपाली नागरिक भएको प्रमाणपत्रसमेत काउन्सिलमा पेश गरेकी छिन् । विरगन्ज डा. पुष्करकुमार तिवारीले बसन्तपुर भारतका कमलदेव मिश्र तिवारीले उनलाई पालनपोषण गरेको सपथ पत्र बनाइदिएका छन् । तर, उनले पर्साबाट नेपाली नागरिकता लिएका छन् । यी लगायत अन्य ५ जनाले पनि यस्तै प्रकारको दाहोरो परिचयपत्र काउन्सिलमा बुझाएका छन् ।
दोहोरो परिचयपत्र बनाएर अवैध रुपमा अध्ययन गरी काउन्सिलको प्रमाणपत्र पाएको विषयमा खोजपत्रकारिता केन्द्रका लागि रामु सापकोटाले ४ वर्षअघि खोज रिपोर्ट तयार पारेका थिए ।
डाक्टर बन्न नक्कली कागजात