काठमाडौं– ब्युटिसियन निशा गौतमले विद्यालयलाई स्वास्थ्य सुरक्षा सामग्रीका साथै खेलकुद सामग्री हस्तान्तरण गरेकी छिन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ५ सिन्धुकोटस्थित श्री सिन्धुपुराना गाउँ माध्यमिक विद्यालयका लागि गौतमले बुधबार एक समाराेहकाबीच स्वास्थ्य सुरक्षा सामग्रीका साथै खेलकुद सामग्री हस्तान्तरण गरेकी हुन् ।

विगत १० वर्षदेखि सौन्दर्य कला व्यवसायमा आवद्ध गौतमले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई कोभिड–१९ महामारीबाट बच्नका लागि आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएकी हुन् । सौन्दर्य कला व्यवसायी संघ ललितपुरकी सचिव समेत रहेकी गौतमले आगामी दिनमा पनि विद्यालयका लागि सहयोग गर्न तयार रहेको बताइन् । ‘अहिले मैले व्यक्तिगत रुपमा सहयोग गरेकी हुँ,’ उनले भनिन्, ‘यस विद्यालयका विद्यार्थीका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री आगामी दिन पनि सहयोग गर्नेछु । साथै सौन्दर्यकलामा रुची भएका विद्यार्थीहरुलाई निःशुल्क तालिम लिने व्यवस्था समेत मिलाउनेछु ।’
स्वास्थ्य सामग्री ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक कुमारप्रसाद खतिवडाले आगामी दिनमा पनि यस्तै रचनात्मक सहयोगको अपेक्षा गरेको बताए । ‘यतिबेला हामीसँग स्वास्थ्य सामग्रीको अभाव भैरहेको थियो,’ सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उनले भने, ‘आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्छाैं ।’ गौतमले विद्यालयका लागि ५० लिटर सेनिटाइनर, १० वटा स्प्रे, १ हजार थान मास्क, ५० वटा साबुन, ६ वटा तौलिया, २ वटा भलिबल र नेट सहयोग गरेकी थिइन् ।