पोखरा– गण्डकी प्रदेशमा बुधबारबाट सुरु भएको कोरोनाविरुद्धको खोप अभियानमा शुक्रबारसम्म ७ हजार ८ सय ७४ जनाले खोप लगाएका छन् । स्वास्थ्यकर्मी र महिला स्वयंसेविकालाई मात्र लगाइएको पहिलो चरणको खोप अभियानको तेस्रो दिनमा ३ हजार १ सय ५८ जनाले खोप लगाएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद विन्दु कोइरालाले जानकारी दिए ।
कोइरालाका अनुसार शुक्रबारमात्रै कास्कीमा ३२२६, लमजुङमा २३९, बागलुङमा ३३१ पर्वतमा २२० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । यस्तै मुस्ताङमा ४४ गोरखामा २६९, मनाङमा १० , तनहुँमा २३५, म्याग्दीमा १३२, नवलपुरमा २२० र स्याङ्जामा २६५ जनाले कारोनाविरुद्धको खोप लगाएका हुन् ।
खोप लगाएका कसैलाई पनि स्वास्थ्य अवस्था असहज नभएको निर्देशक कोइरालाले बताए । उनले खोप लगाएका कारण असहज भएमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज र संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथमा राखी उपचार गर्ने व्यवस्था मिलाइएको प्रष्ट पारे ।
नेपाल सरकारले पहिलो चरणको खोप अभियानअन्तर्गत ४० हजार डोज खोप गण्डकी प्रदेशमा पठाएको थियो । उक्त खोप गण्डकीका १७ हजार ३ सय ९६ जनालाई लगाउने लक्ष्य दिइएकोमा करिव ४५ प्रतिशत प्रगति भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गण्डकीमा थप २८ जनामा कोरोना पुष्टि
पोखराका तीनवटा ल्याबमा गरिएको स्वाब परीक्षणबाट २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । संक्रमित हुनेमा कास्कीका १९, म्याग्दीका ४, वागलुङका २, तनहुँका २ र लमजुङका १ जना रहेको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिएको छ ।