२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २पर्सामा कैदीबन्दी र वृद्धाश्रमका वृद्धवृद्धालाई कोरोना खोप दिन सुरु

पर्सामा कैदीबन्दी र वृद्धाश्रमका वृद्धवृद्धालाई कोरोना खोप दिन सुरु


पर्सा – पर्सा जिल्लामा कैदीबन्दी र वृद्धाश्रमका वृद्धवृद्धाहरूलाई कोरोना विरुद्ध खोप दिन सुरु गरिएको छ । गएको आइतबारदेखि वीरगन्ज कारागारका कैदीबन्दीहरूलाई खोप दिन सुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख चौरसियाले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, वारुणयन्त्र, एम्बुलेन्स चालकलाई खोप दिने नीति रहे पनि कैदीबन्दी र वृद्धाश्रमका वृद्धवृद्धाहरूमा  संक्रमणको उच्च जोखिमको सम्भावनालाई मध्येनजर गर्दै खोप दिन सुरु गरिएको हो ।

उनले भने, ‘कैदीबन्दी र वृद्धाश्रममा कोरोना संक्रमणको जोखिम उच्च रहन्छ जसकारण हामीले प्राथमिकतामा राखेका हौँ। वीरगन्ज कारागारमा रहेको महिला तथा पुरुष गरी १२ सय ५० जना कैदीबन्दीलाई खोप दिइने  छ।’

स्वास्थ्य प्रमुख चौरसियाका अनुसार पहिलो चरणको कोरोना विरुद्धको खोप कार्यक्रम अन्तर्गत पर्सा जिल्लामा ५ हजार खोप दिने लक्ष्य रहेकोमा आइतबारमात्रै १५ सय ५० जनालाई खोप लगाइएको बताए ।

माघ १४ गते देखि नारायणी अस्पतालबाट शुरू भएको पहिलो चरणको खोप अहिले पर्सा जिल्लाको नेशनल मेडिकल कलेज र पोखरिया अस्पताल गरी तीन स्थानबाट खोप लगाउने कार्य भइरहेको छ ।

पोखरिया अस्पतालमा आइतबार देखि कोरोना विरुद्धको खोप लगाउने कार्य सुरु गरिएको छ। स्वास्थ्य कार्यालयको पर्साका प्रमुख कामेश्वर चौरसिया, पोखरियाका नगरप्रमुख मन्टु रौनियार, उपप्रमुख सलमा खातुन, नेता निजामुद्दिन समानी लगायतको उपस्थितिमा अस्पतालका मेसु डा. अनिल यादवलाई खोप लगाएर शुभारम्भको सुरुवात गरिएको थियो ।

सरकारी अस्पतालबाट लगाउने निर्णय भएपनि मन्त्रालयको आदेशमा शनिबार देखि वीरगंजको नेशनल मेडिकल कलेजबाट समेत खोप दिन सरू भएको प्रमुख चौरसियाले बताए ।

उनले माघ २३ गतेसम्म पहिलो चरणको खोप सम्पन्न गर्ने लक्ष्य रहेको र सो लक्ष्य पूरा गर्न नारायणी अस्पतालमा थप खोप केन्द्रको व्यवस्था गरिने बताए ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ