काठमाडौं-स्वास्थ्य मन्त्रालयले आगामी ९ दिन भित्र ४ लाख ३० हजार फ्रन्टलाईन कर्मचारीलाई पहिलो डोज खोप दिईसक्ने बताएको छ । तर, खोप सुरु भएको ६ दिनमा २१ प्रतिशत फ्रन्टलाईन स्वास्थ्यकर्मीले मात्रै खोप लिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार लक्ष्य ४ लाख ३० हजारको भएपनि हाल सम्म करिब १ लाखले खोप लिएका छन् ।
खोप लिएका मध्ये ५० प्रतिशतमा सामान्य स्वास्थ्य समस्या देखिएको छ । खोप उत्पादन गर्ने भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले पनि खोप लगाएका ५० प्रतिशतमा सामान्य खालको लक्षण देखिने बताएको थियो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाले बताए अनुसार वितेको ५ दिनमा कम्तिमा पनि ३ लाख फ्रन्टलाईन कर्मचारीलाई खोप दिइसक्ने बताइएको थियो । तर, यो लक्ष्य भन्दा ३ लाख ४१ हजार ९९३ जनाले कमी हो ।
खोप सुरु भएको तेस्रो दिन निकै उत्साहजनक सहभागीता देखिएको थियो । तर, पछिल्ला दुई दिनमा खोप लिनेको संख्या क्रमश घट्न थालेको तथ्यांकले देखाएको छ । यसले गर्दा खोप लिन अपेक्षा अनुसार उत्साहीत नदेखिएको अधिकारीहरुले बताएका छन् ।
भारतले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड खोप नेपालमा १४ माघबाट लगाउन सुरु भएको हो । पहिलो दिन १० हजार ९४४ जनाले खोप लिएका थिए । त्यस्तै दोस्रो दिन १८३२४ जना र तेस्रो दिन २०५४९ जनाले खोप लिएका थिए । तर, चौथो दिन १८९८९ जनाले खोप लिए भने पाँचौ दिन १९२०१ जनाले खोप लिए भने ६ टौं दिनको तथ्यांक आइनसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यही अनुसार सहभागीता घट्दै गए आगामी १० दिनमा पहिलो डोज सबै ४ लाख ३० हजारलाई लगाउन सकिदैन मन्त्रालयका एक अधिकारीले भने ।
सरकारले पहिलो चरणमा २ लाख २५ हजार स्वास्थ्य र सफाईकर्मी त्यस पछि फ्रन्टलाइनर सुरक्षाकर्मी लगायत जेल भित्र रहेका कैदिलाई दिने बताएको छ । तर, ६ दिनमा स्वास्थ्यकर्मी र सफाईकर्मचारीलाई समेत खोप दिन सकेको छैन । उपत्यकामा भने ५ दिनमा सबै स्वास्थ्यकर्मीलाई खोप दिने बताएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार पुरै बाग्मती प्रदेशमा २८ हजार ६८३ जनाले खोप लिएका छन् । तर, काठमाडौमा मात्रै ३१ हजार ७१९ जना स्वास्थ्यकर्मी छन् ।