काठमाडौं—गत ४ जेठमा पहिलो कोरोना भाइरस (कोभिड—१९) संक्रमितको मृत्यु भएको थियो । कोरोनाबाट मृत्यु हुने पहिलो कोरोना संक्रमित सुत्केरी महिला थिइन् । दोस्रो कोरोना संक्रमितको ८ र तेस्रो संक्रमितको १० गते मृत्यु भएको थियो । त्यसयता क्रमसः दैनिक एक जनाको मृत्यु भएपनि २५ जेठमा पहिलो पटक २ जनाको मृत्यु भएको थियो । त्यसयता दैनिक कोरोना संक्रमित हुनेको संख्या बढ्दैं २५ जनासम्म पुगेको थियो ।
कोभिड—१९ संक्रमणबाट मृत्यु सुरु भएको आठ महिनापछि शुन्यमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार विगत २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य छ । आइतबार मात्रै २ जनाको मृत्यु भएको थियो । शनिबार २, शुक्रबार ५ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ ।
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समिर अधिकारीका अनुसार कोरोना संक्रमितको संख्या घट्दै जाँदा मृत्युको संख्या पनि शुन्यमा पुगेको हो । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशभर हालसम्म २ हजार २९ जनाको मृत्यु भइसकेको छ । ९७ जना क्वारेन्टाइनमा छन् ।
कोरोना संक्रमित पुष्टि हुने दर पनि निकै कम भएको छ । सोमबार देशभर ४ हजार १ सय ४५ वटा नमुना परिक्षण गर्दा १ सय ५९ जना संक्रमित पुष्टि भएका छन् । आइतबार ३ हजर ३ सय ८ वटा नमुना परिक्षण गर्दा १०५ जनामा कोरोना पुष्टि भएको थियो ।
नेपालमा पहिलो केस गत वर्ष ९ माघमा देखिएको थियो । त्यस यता हालसम्म २ लाख ७५ हजार १५२ वटा नमुनाको कोरोना भाइरस पत्ता लगाउने आरटी—पिसिआर परिक्षण गरिएको छ । यो प्रति १० लाख नागरिकमा ७१ हजार १ सय १३ हो । उक्त परिक्षणबाट २ लाख ७१ हजार १ सय १८ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका मध्ये २ लाख ६६ हजार ६ सय जना निको भएर घर फर्किसकेका छन् । अब देशमा २ हजार ४ सय ८९ जना सक्रिय संक्रमित छन् ।
सरकारले कोरोना नियन्त्रण गर्न त्यस विरुद्धको खोप अभियान संचालन गरिरहेको छ । पहिलो चरणमा २ लाख २५ हजार स्वास्थ्यकर्मी तथा सफाइकर्मी बाँकी फ्रन्टलाइनर अन्य कर्मचारीलाई लगाउने निर्णयअनुसार अभियान संचालन गरिरहेको छ । सोमबार साँझसम्म देशभर १ लाख १३ हजार १ सय ७५ जना स्वास्थ्यकर्मी तथा सफाइकर्मीले खोप लगाएका छन् । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले छैटौ दिन १ सय ९१ खोप केन्द्रबाट १ लाख १३ हजार १ सय ७५ जनाले लगाएको बताए ।
प्रवक्ता गौतमकाअनुसार प्रदेश नम्बर १ मा १५ हजार ३ सय २९, प्रदेश नम्बर २ मा १५ हजार २४ जना, बाग्मती प्रदेशमा ४० हजार २ सय ७२ जना, गण्डकी प्रदेशमा १३ हजार ९ सय २२ जना लुम्बिनी प्रदेशमा १४ हजार ६ सय ४० जना, कर्णाली प्रदेशमा ६ हजार १ सय ३१ जना र सुदूरपश्चिममा ७ हजार ८ सय ५७ जनाले खोप लगाएका छन् ।
एक प्रतिशत खोप खेर गयो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ लाख ३० हजार कर्मचारीका लागि ४ लाख ८६ हजार डोज खोप केन्द्रहरुमा पठाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार ७७ जिल्लाका १ सय ९१ बुथबाट खोप लगाइएको छ ।
मन्त्रालयकाअनुसार प्रयोग गरिएका खोपमध्ये एक प्रतिशत खेर गएको छ । विज्ञहरुले १० देखि १५ प्रतिशत खोप प्रयोगबिहिन हुने वैज्ञानिक अनुमानका आधारमा सबै बुथमा आवश्यकताभन्दा केही बढी पठाएको थियो । तर, पोख पाउन निकै कठिन हुने देखेपछि स्वास्थ्यकर्मीहरुले १० जनाको समूह बनाएर मात्रै खोपको भायल खोल्ने गरेका छन् ।
एक भायलमा १० डोज हुन्छ । ‘कुनै पनि खोप खेर नजाओस् भनेर हामीले १० जना भेला पारेर मात्रै भायल खोल्ने गरेका छौं,’ खोप सुपरभाइजर भरत भण्डारीले बभने । उनले यो विधि प्रयोग गर्दा राज्यको ठूलो धनरासी जोगिएको मात्रै नभएर धेरै नागरिकले खोप पाउने पनि बताए । तर, मासमा खोप अभियान संचालन भएको खण्डमा भने धेरै खोप खेर जान सक्छ ।
मन्त्रालयका प्रवक्ता गौतमले काउन्सिल दर्ता नम्बर, आधिकारिक परिचय पत्र र संस्थाबाट प्रमाणीकरण गरेको विवरणसहित नाम दर्ता गर्न भनेका छन् । यसअघि खोप अभियानमा डिजिटल विधिबाट गरिएको नामावली संकलनका आधारमा मात्रै खोप लगाइदैं आएको थियो । उनले अबको पाँच दिन भित्र पहिलो चरणमा प्राथमिकता प्राप्त लक्षित समूहले खोप सेवा लिइसक्न अनुरोध समेत गरेका छन् ।