विराटनगर- डाक्टरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका तरूण दल मोरङका कोषाध्यक्ष अनिल भन्ने लक्ष्मी प्रसाद रिजाल धरौटीमा छुटेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाको इजालशले रिजाललाई बिहीबार १० हजार रुपैयाँ धरौटीमा छोडन आदेश दिएको हो ।
प्रमुख जिल्ला अधिकारीले तोकेको धरौटी रकम बुझाएपछि रिजाल रिहा भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत नाक, कान तथा घाँटी रोग विशेष डा. मिनाक्षी बस्नेतलाई कुटपिट गरेको आरोपमा रिजाल पक्राउ परेका थिए ।
रिजालले चिकित्सक बस्नेतलाई १५ पुसमा राति साढे ८ बजे निर्घात कुटपिट गरेको आरोप छ । कुटपिटबाट बस्नेतको औंला र संवेदनशील अंगमा चोटपटक लागेको थियो । पहुँचवाला रिजालले चिकित्सकलाई निर्घात कुटपिट गरेपछि पनि घटना बाहिर लगे जागिरबाट हटाउने र मानसिक रुपमा यातना दिएको कारणले ढिलो गरी बस्नेतले प्रहरीमा जाहेरी दिएकी थिइन् । प्रहरीमा जाहेरी परेपछि लामो समयदेखि फरार गरेका रिजाललाई १० माघमा पक्राउ गरेर मोरङ प्रहरीले ‘अभद्र व्यवहारको’ मुद्दामा म्याद थप गरी अनुसन्धान गर्दै आएको थियो ।
रिजाल र बस्नेत मिल्ने साथी हुन् । मित्रवत सम्बन्ध हुँदाहुँदै उनीहरुबीच आर्थिक लेनदेनको विवाद हुँदा झगडा भएको थियो । विराटनगरमा थोक विक्रेताको कारोबार गर्दै आएका रिजालले बस्नेतसँग १० लाख रुपैयाँ ऋण सापटी लिएको थिए । सापटी लगेको रकम मागेपछि कोठामा पुगेर रिजालले कुटपिट गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।
पीडितले दिएको जाहेरीको आधारमा प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरू गरेको हो । मोरङ प्रहरीले अनुसन्धान पूरा गरी अभियोग बुझाएपछि प्रमुख जिल्ला अधिकारीले धरौटीमा छोड्न आदेश दिएका हुन् ।