काठमाडौं—३ फागुनमा चिकित्सा शिक्षा सुधारका लागि भन्दै पटक—पटक अनसन बसेका प्रा.डा. गोविन्द केसीले एउटा विज्ञप्ती प्रकाशित गरे । जसमा सरकार नजिकका मेडिकल माफियाहरुले अपराधिक व्यक्तिहरुलाई प्रयोग गरेर आयोगका पदाधिकारीलाई धम्क्याउने तथा घर अगाडि बम राख्ने कुकर्म गरेको उल्लेख गरेका छन् ।
उनले आयोगका पदाधीकारीलाई धम्क्याउने तथा हिंसामा उत्रने अपराधीलाई तत्काल कारवाही गर्न पनि सरकारको ध्यानाकर्षण गरेका छन् । डा. केसीले आयोगका पदाधिकारीकै घरमा बम राखेर तर्साएको विज्ञप्ति निकालेपछि त्यसतर्फ सबैको चासो बढेको छ । त्यसो त प्रा.डा गिरीले आफ्नो घरको छेउमा सुतली बमजस्तो बोतल राखेको र आफूलाई पटक—पटक प्रस्ताविक बीएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाई र उनका निकट व्यक्तिहरुले धम्काउने गरेको कुरा दुई हप्ताअघि बसेको चिकित्सा शिक्षा आयोगकै बैठकमै आयोगका सदस्यसचिवमार्फत उठाइएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफै अध्यक्ष रहेको आयोगका उपाध्यक्षमाथि यस्तो घटना भएको हो/होइन भनी गम्भीर रुपमा लिएको तर सुरक्षा निकायबाट बम राखेको भन्ने कुरा पुष्टि हुन नसकेको जानकारी पाएको बालुवाटार स्रोत बताउँछ । त्यसो त हेल्थआवाजले गिरी बस्ने बसुन्धरा क्षेत्रको सुरक्षा हेर्ने जिम्मेवारी पाएको बसुन्धरा चौकीका प्रमुखलाई सम्पर्क गरेर उक्त घटनाबारे जानकारी लिएको थियो ।
बसुन्धराका सई दीपेन्द्रराज गिरीकाअनुसार प्रा.डा. गिरी बस्ने क्षेत्रमा केही महिना अगाडि राँके जुलुस भएको र केही पर्चा मात्रै फालिएका थिए । ‘केहीले जुलुस गरेको र पर्चा फालेको भन्ने कुरा आएपछि हामीले त्यो एरियामा निगरानी बढाएका हौ,’ उनले भने, ‘बम राखेको भन्ने कुरा हल्ला मात्रै हो । ’ उनले अहिले त्यो क्षेत्रका त्यस्ता गतिविधी केही पनि भएको बताए ।
तर, प्रा.डा. गिरीले एक महिनाअघि (६ माघमा) आफ्नो घर अगाडि वियरको बोतलमा सुतली बमजस्तो देखिने वस्तु राखेको बताए । सो वस्तुसँगै विजय थापा नाम गरेको पर्चा पनि पाइएको उनको भनाइ छ । ‘मैले उक्त घटनाका विषयमा बसुन्धरा चौकीमा जानकारी गराएको हुँ,’ उनले भने, ‘तर, छानविन के भयो मलाई जानकारी आएको छैन ।’
बीएण्डीसीका सञ्चालक प्रसाईले भने आफूले प्रा.डा. गिरीलाई कसैमार्फत पनि धम्की नदिएको बताए । ‘आयोगका उपाध्यक्षलाई जो व्यक्तिमार्फत धम्काइएको भन्ने बाहिर आएको छ,’ उनले भने, ‘ती व्यक्तिसँग मेरो महिनौंदेखि सम्पर्क छैन । उहाँलाई मनको बाघले खाएको मात्रै हो ।’