२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको अध्यक्षमा डा. श्रेष्ठ

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको अध्यक्षमा डा. श्रेष्ठ


काठमाडौं—ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. को नयाँ सञ्चालक समिति गठन भएको छ । २४ माघमा काठमाडौंको लाजिम्पाटस्थित होटल सांग्रिलामा भएको २४ औं वार्षिक साधारणसभाले नयाँ सञ्चालक समिति गठन गरेसँगै नयाँ अध्यक्ष पनि चयन गरेको छ ।

समितिले सर्वसम्मत रुपमा डा.आनन्दप्रसाद श्रेष्ठलाई अस्पतालको नयाँ अध्यक्ष चयन गरेको हो । त्यसैगरी अस्पतालका अन्य सञ्चालकहरुमा सरला रिजाल, शरदकान्त अधिकारी, टंक श्रेष्ठ, डा. हरिकिशोर श्रेष्ठ, डा. राजेश किशोर श्रेष्ठ, डा.केशवप्रसाद सिंह, डा.गिसुप निख प्रसिको, डा.रिता सिंह हमाल, डा.सरोज सेढाँई र डा.अनिश मुडभरी निर्वाचित भएका छन् ।

नव निर्वाचित अध्यक्ष डा. श्रेष्ठले सम्बोधनका क्रममा आफूले पाएको जिम्मेवारीलाई ध्यानमा राखेर अपतालमा संस्थागत सुशासन कायम गर्न सबैको साथ सहयोग अपरिहार्य रहेको जिकिर गरे । उनले चिकित्सकहरुको बाहुल्य रहेको बोर्डले समय सापेक्ष तथा विश्वस्तरमा अस्पताल संचालन गर्ने र उच्चस्तरीय उपचार सेवालाई प्राथमिकता दिने प्रतिबद्धता पनि ब्यक्त गरे ।

आगामी दिनमा दक्ष चिकित्सक, नर्सिङ स्टाफ र कर्मचारीहरुको साथमा अस्पताल नयाँ ढंगबाट अगाडि लैजाने र ॐ अस्पताललाई पूर्ववत नेपालको पहिलो रोजाइको उपचार सेवा प्रदायक बनाउने दृढता समेत उनले व्यक्त गरे ।

डा. श्रेष्ठले ॐ अस्पताल साथै विदेशबाट समेत रेफरल आउने देशभरका साना ठूला सबै स्वास्थ्य सेवा प्रदायकहरुको रोजाइको रेफरल सेन्टरको रुपमा परिचय बनाउन सफल भएकोमा अस्पतालका सम्पूर्ण डाक्टर, नर्सिङ स्टाफ तथा कर्मचारीहरुलाई धन्यवाद दिए ।

साधारण सभाकै सन्दर्भमा अस्पतालमा बिशेष योगदान पु¥याउने चिकित्सक, नर्सिङ स्टाफ तथा कर्मचारीहरुलाई उहाँहरुको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको थियो । उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित हुनेहरूमा अस्पतालका मेडिकल कोअर्डिनेटर समेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा.विश्वनाथ कोइराला, सघन उपचार विशेषज्ञ तथा आईसीयु प्रमुख डा. प्रमेश सुन्दर श्रेष्ठ, सघन उपचार कक्षका जुनियर कन्सल्ट्यान्ट डा. विपिन कार्की, अंकोलोजी वार्डकी नर्सिङ इन्चार्ज सुशीला कुँवर, सघन उपचार विभागकी नर्सिङ इन्चार्ज सविना ढकाल, इन्फेक्सन कन्ट्रोल नर्स निलम देवकोटा, हाउस किपिङकी सिनियर आया रस्मिला महर्जन, रिसेप्सनिष्ट रसिला तुलाधर रहेका थिए । उनीहरू सबै कोरोनाको विश्वब्यापी महामारीका समयमा फ्रन्टलाइनमा रहेर अस्पतालको ड्युटीमा खटिएको अस्पतालले जनाएको छ ।

तीन दशक अघिदेखी नेपालको निजीस्तरमा संचालित अग्रणी स्वास्थ्य सेवा प्रदायक संस्था ॐ अस्पतालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दूरदराजका बिरामीका लागि समय—समयमा दुर्गम जिल्लाहरुमा विशेषज्ञ र औषधीसहितको निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी बितरण शिविरलगायतका अन्य चेतनामूलक कार्यक्रमहरु समेत संचालन गर्दै आएको छ ।

पछिल्लो समय अस्पतालले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सेवा विभागसँगको सहकार्यमा मृगौला रोग लागि मृगौला कमजोर भएका विरामीहरुको निःशुल्क डायलाइसीस सेवा तथा क्यान्सरका बिरामीहरुका लागि नेपाल सरकारले उपलब्ध गराएको एक लाख सहुलियतसहितको विशेष उपचार सेवा समेत प्रदान गरिरहेको छ । ७० बर्षभन्दा माथिका जेष्ठ नागरिकहरुको सम्मानमा अस्पतालले उपचार शुल्कमा १० प्रतिशत छुटसमेत प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ