२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेश१ करोड लागतमा बेनी अस्पतालमा आफ्नै प्लान्टबाट अक्सिजन

१ करोड लागतमा बेनी अस्पतालमा आफ्नै प्लान्टबाट अक्सिजन


पोखरा—म्याग्दीको बेनीस्थित ५० शैय्याको बेनी अस्पतालमा आफ्नै अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ । अस्पतालका ३० शैय्यामा पाइपमार्फत अक्सिजन पु¥याइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए । बेनी अस्पताल ५० शैय्या क्षमताको अस्पताल भनिएपनि पूर्ण क्षमतामा सञ्चालन हुन भने सकेको छैन ।

कुल १ करोड ४ लाख लागतमा अक्सिजन प्लान्ट सञ्चालन भएको अध्यक्ष कटुवालले जानकारी दिए । यसका लागि २ आर्थिक वर्षमा गरी गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट ८५ लाख रुपैयाँ विनियोजन भएको थियोे । सामाजिक विकास मन्त्रालयबाट नै प्लान्ट भवनका लागि चालु आर्थिक वर्षमा ५ लाख र संघीय सांसद भुपेन्द्र थापाको पहलमा सांसद विकास कोषको १३ लाख ४५ हजार रघुगंगा गाउँपालिकामार्फत प्राप्त भएको अध्यक्ष कटुवालले उल्लेख गरे । रघुगंगामार्फत् प्राप्त रकममा चानचुन १ लाख थपेर बुस्टर मेसिन किनिएको उनले स्पष्ट पारे ।

अध्यक्ष कटुवालकाअनुसार गाउँपालिकाका अन्य स्वास्थ्य संस्थामा सिलिन्डर पु¥याउन तथा पाइपलाइनमा समस्या आएमा अक्सिजन व्यवस्थापन गर्न सिलिन्डरमा अक्सिजन भर्न बुस्टर मेसिन आवश्यक हुन्छ । केन्द्रमा १५ वटा सिलिन्डर भर्न सक्ने क्षमता भएपनि दैनिक १० वटा भर्ने योजना बनाइएको छ ।

अस्पतालमा अहिले पुरानै भवनबाट ३० बेड इनडोर, ७ बेड इमर्जेन्सी, आईसीयु, डायलाइसीस सेवा उपलब्ध गराइएको छ । बेनी अस्पतालमा पर्वत जलजलाकाका अधिकांश, मुस्ताङ जिल्ला र बाग्लुङको पश्चिमी भेगका जनता सेवा लिन आउने गरेका छन् ।

अस्पतालमा ६ जना विशेषज्ञ डाक्टरले सेवा दिएका छन् भने २६ जना स्वास्थ्यकर्मी दरबन्दीमा छन् । त्यहाँ छात्रवृत्तिमार्फत आउने डाक्टरले सेवा दिइरहेको अध्यक्ष कटुवालले स्पष्ट पारे । उनले विशेषज्ञ डाक्टरको मनोबल उच्च बनाउन सरकारी सुविधामा मासिक ३५ हजार रुपैयाँ थप गरिदिएको उल्लेख गरे । अस्पतालमा आउने बिरामीमध्ये गर्मीको तुलनामा जाडोयाममा आउने बिरामीमा अक्सिजन दिनुपर्ने समस्या देखिएको अस्पतालले जनाएको छ । अघिल्ला वर्षहरुमा जाडो याममा ४० देखि १ लाख रुपैयाँसम्म अक्सिजनमा खर्च गर्नुपर्ने अवस्था थियो । अक्सिजन प्लान्टको गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गरेकी हुन् ।

सांसद र मन्त्रीको चासो

बेनी अस्पतालको निर्माणाधीन भवन अलपत्र पारेर ६ महिनादेखि ठेकेदार भागेका छन् । समयमै भवन नबन्दा क्षमताअनुसार अस्पतालले सेवा दिन सकेको छैन । तत्कालीन सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले २०७३ मंसिरमा भवन निर्माणको ठेक्का सम्झौता गरेको गरेको उक्त भवन २०७६ मंसिरसम्म सम्पन्न गर्नुपर्ने थियो ।

करिब २४ करोड लागत अनुमान गरिएको उक्त भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीले करिब १९ लाखमा ठेक्का लिएको थियो । भवन आंशिक बनेको छ ।

ठेकेदार भागेर भवन निर्माण अलपत्र भएपछि संघीय सांसद भुपेन्द्र थापा र गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले चासो देखाएका छन् । अस्पतालका अध्यक्ष कटुवाल यही हप्ता पहिलेको ठेकेदारले काम गर्ने वा अर्काेलाई जिम्मा दिने भन्ने निष्कर्ष आउने बताउँछन् ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ