२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशहिमालय आँखा अस्पताललाई करिब १ करोड पर्ने सिटी स्क्यान मेसिन सहयोग

हिमालय आँखा अस्पताललाई करिब १ करोड पर्ने सिटी स्क्यान मेसिन सहयोग


पोखरा –  पोखरामा विशेषज्ञ डाक्टरसहितका अस्पताल छन् । ठूला ठूला भवन र आधुनिक प्रविधिसहित विभिन्न रोगको उपचार हुने विज्ञापनसहित स्थापित धेरै अस्पताल भए पनि गण्डकी प्रदेशबासी पूर्ण भरोसा गर्न सक्ने अवस्थामा छैनन् ।

रोग पत्ता लगाउन, भरपर्दाे उपचार गर्न काठमाडौं वा अन्य देशमा समेत पुग्ने गरेको अवस्था छ । तथापि गण्डकीबासीको आँखा रोगको उपचारका लागि हिमालय आँखा अस्पताल भरोसाको केन्द्र बनेको छ । हिमालय आँखा अस्पतालमा पुगेका ९० प्रतिशतभन्दा बढी बिरामीको उपचार हुने पक्का छ ।

अस्पतालका कामु चिफ मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठ आँखाको उपचारमा पोखरा आसपासका मात्र नभई अन्यत्रका समेत आउने गरेको बताउँछिन् । दक्ष जनशक्ति उत्पादन गर्न सिटिइभिटी र पोखरा विश्वविद्यालयसँगको सहकार्यमा ३ वर्षे डिप्लोमा, ४ वर्षे ब्याचलर र २ वर्षे मास्टर तहमा अप्टामेट्री कक्षा सञ्चालन गरिएको छ । विदेशबाट समेत इन्ट्रानसिप गर्न आउने गरेका छन् । अस्पताल स्थापनाको २८ वर्षमा आँखा शिविरमार्फत लगभग १ वर्षको १ हजारका दरले शल्यक्रिया हुने गरेको अस्पतालले जनाएको छ ।

चस्मा लगाउन नपर्ने गरी रेटिनाको अप्रेसन गर्ने सुविधा भने हिमालय आँखा अस्पतालमा छैन । त्यो बाहेक आँखा उपचारमा आवश्यक सामग्री अस्पतालमा छन् । सहयोगबाट सञ्चालित अस्पतालमा रेटिनासम्बन्धी अप्रेसन गर्ने मेसिन पनि दाताबाट प्राप्त हुने विश्वास डा. इलिया श्रेष्ठले व्यक्त गरिन् । हिमालय आँखा अस्पतालका २६ वटा भवन छन् । गण्डकी प्रदेश सरकारले समेत अस्पताललाई आर्थिक सहयोग गरेको छ ।

रोटरीको सहयोगमा आँखाको सिटी स्क्यान

नेदरल्यान्डबाट नेपाल घुम्न आएको युवा युवतीले जोडीको पहलमा पोखरामा हिमालय आँखा अस्पताल खुलेको इतिहास छ । धेरैको सहयोग र आन्तरिक आम्दानीबाट चल्दै आएको र दैनिक ५ सयभन्दा बढीको आँखा जाँच हुने हस्पिटलमा कोरोना कहरबीच आँखाको रेटिनाको सिटी स्क्यान गर्ने मेसिन बिग्रियो । एउटा भएको मेसिन बिग्रिएपछि सिटीस्क्यान गर्न अन्य अस्पतालमा रिफर गर्नुपर्ने अवस्था रहेको कामु चिफ मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठले बताइन् ।

आँखा अस्पतालमा सिटी स्क्यान मेसिन बिग्रिएको र सेवा दिन नसकेको रोटरी क्लब अफ पोखरा मिडटाउनलाई जानकारी भयो । क्लबले रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२, र आंकिता नर्थ रोटरी इन्टरनेसनल डिस्ट्रिक २५४० को सहयोगमा हिमालय आँखा हस्पिटलमा ओसिटी एन्जिओग्राफी मेसिन हस्तान्तरण गरेको छ । मेसिनको मूल्य ७८ हजार अमेरिकी डलर पर्ने क्लबले जनाएको छ ।

आँखाको सिटी स्क्यान मेसिनबाट सुगर, प्रेसर, आँखामा पानी जमेको, रगत जमेको, पर्दामा प्वाल परेका लगायत पत्ता लगाउन सकिन्छ । मेसिनमा चेक गरेको १५ मिनेटभित्रमा रिपोर्ट आउने डा.इलिया श्रेष्ठले बताइन् ।

मेसिन क्लबले उपलब्ध गराएपछि आँखाको सिटीस्क्यान गर्न अन्यत्र रिफर गर्नुपर्ने बाध्यता त हट्यो नै । त्यसमाथि बिरामीले अन्यत्रको भन्दा कम मूल्यमा सेवा लिन पाउने अस्पतालले जनाएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ