२०८२ असार २२, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रदेश १ को सामाजिक विकास मन्त्रीमा राई, पदभार ग्रहण गर्दै भनिन्, ‘कोरोना नियन्त्रणमा जुटछु’

प्रदेश १ को सामाजिक विकास मन्त्रीमा राई, पदभार ग्रहण गर्दै भनिन्, ‘कोरोना नियन्त्रणमा जुटछु’


विराटनगर—प्रदेश १ को सामाजिक विकास मन्त्री उषाकला राईले पदभार ग्रहण गरेकी छिन् । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा सपथ लिएलगत्तै मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेकी हुन् ।

उनले पदभार ग्रहण गर्दै मन्त्रालयको काम नयाँ ढंगले गर्ने बताइन् । उद्घाटन र समापनमा समय बिताउनेभन्दा पनि मन्त्रालयको कामलाई बढी प्राथमिकता दिने उनको भनाइ छ । ‘उद्घाटन र समापनलाई धेरै प्राथमिकतामा राख्ने छैन,’ उनले भनिन्, ‘जनता लक्षित कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढ्नेछु ।’

पदभार ग्रहणपछि कर्मचारीसँगको परिचयात्मक कार्यक्रममा उनले फरक तरिकाले काम गर्ने सोच भएको बताइन् । ‘केही नयाँ काम गरौं । कोरोना संक्रमण पुनः बढ्न सुरु भएकाले यसको नियन्त्रणका लागि सबै जुटौं,’ उनले भनिन् । मन्त्री राईले अस्पतालहरुमा धेरै फोहोर हुने गरेको सुन्नमा आएकाले सरसफाईमा ध्यान केन्द्रीत गर्न आग्रह गरिन । धेरै कार्यक्षेत्र रहेको सामाजिक विकास मन्त्रालयलाई प्रदेश १ कै उत्कृष्ट मन्त्रालयका रुपमा अघि बढाउनुपर्नेमा उनले जोड दिइन् । परिचयात्मक कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले मन्त्रालयको कार्यक्षेत्र, सम्पादन गरिरहेको काम, जनशक्तिलगायतका बारेमा जानकारी गराए ।

शुक्रबार मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गरेका छन् । राईले चार जना मन्त्री र दुई जना राज्यमन्त्री नियुक्ति गरेका हुन् । माओवादी छाडेर एमालेमा प्रवेश गरेका र माधव नेपाल समूह छोडेर प्रधानमन्त्री केपी शर्मा ओली समूहको पक्षमा आएकालाई मुख्यमन्त्री राईले पहिलो प्राथामिकता दिएर मन्त्री र राज्यमन्त्री नियुक्त गरेका हुन् । नयाँ मन्त्रीहरूमा भर्खरै माओवादी छाडेर एमाले प्रवेश गरेका टंक आङबुहाङलाई आर्थिक मामिला तथा योजनामन्त्री, माधवकुमार नेपालको क्याम्प छोडेर आएकी उषाकला राईलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिइएको छ ।

यस्तै, मुख्यमन्त्री राईले प्रदेशसभा सदस्य कला घले र राजकुमार ओझालाई राज्यमन्त्रीको जिम्मेवारी दिइएका छन् । घलेलाई भूमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र ओझालाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो । मुख्यमन्त्री राईले भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर मन्त्री बनाएका छन् । यसअघि गुरूङ र मगर राज्यमन्त्री थिए ।

विस्तारित मन्त्रीहरूलाई प्रदेश प्रमुख सोमराज अधिकारी ‘प्यासी’ ले पद तथा गोपनियताको सपथ खुवाए भने मुख्य मन्त्री राईले राज्य मन्त्रीहरूलाई सपथ खुवाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ