२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली सरकारले कोभिड-१९ उपचारका लागि एम्बुलेन्स र हेलिकप्टरको व्यवस्था गर्ने

कर्णाली सरकारले कोभिड-१९ उपचारका लागि एम्बुलेन्स र हेलिकप्टरको व्यवस्था गर्ने


वीरेन्द्रनगर—कर्णाली प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि एम्बुलेन्स र हेलिकप्टरको व्यवस्था गर्ने भएको छ । सरकारले गम्भीर प्रकृतिका संक्रमितको उपचारमा सहज पहुँच पु¥याउन १० वटा एम्बुलेन्स तत्काल भाडामा लिएर सञ्चालन गर्ने र विकट क्षेत्रका लागि हेलिकप्टरसहितको व्यवस्था गर्ने निर्णय गरेको छ ।

बिहीवार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि यस्तो निर्णय गरेको हो । कर्णालीमा सञ्चालन हुने एम्बुलेन्सहरूको सेवा दिने स्थल छनोट र सेवा प्रदायक संस्थाहरूको छनोट गरी जीपीएस प्रणालीमार्फत एम्बुलेन्स सेवा एप्स सञ्चालन गर्ने सरकारको तयारी छ ।

यस्तै, बैठकले कोरोना नियन्त्रण र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि स्वीकृत लिन मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लैजाने, आवश्यक स्वास्थ्य जनशक्ति पूर्ति गर्ने र कोभिड संकट व्यवस्थापनका लागि आवश्यक बजेटसहित एकीकृत सेवा व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ ।

कोभिड व्यवस्थापन सम्बन्धी विस्तृत ठोस योजना तयार गर्ने, उपचार सेवालाई प्रभावकारी बनाउन कोभिड विशेष अस्पताललाई आवश्यक सहयोग गर्ने, प्रदेशअन्तर्गतका कोभिड अस्पतालहरूमा चौबिसै घण्टा विद्युत आपूर्ति गर्ने, आइसोलेसनका लागि आवश्यकताअनुसार निजी क्षेत्रको होटलहरूलाई सुरक्षा मापदण्डसहित उपयोग गर्ने निर्णय भएको बताइएको छ ।

यसका साथै औपचारिक कार्यक्रममा बढीमा २५ र अनौपचारिक कार्यक्रममा बढीमा ५ जनाभन्दा बढीको संख्यामा भेला हुन नदिने, भिडभाड नियन्त्रण गर्ने, कोरोना संक्रमण बढेकाले सम्बन्धित निकायले नियन्त्रण र उपचारका लागि विशेष ध्यान दिने निर्णय समेत बैठकले गरेको छ । बैठकले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई पाँच जनाभन्दा बढी भेला हुुन नदिन र कोभिड सतर्कता अपनाउन जनसमुुदायमा व्यापक प्रचार—प्रसार गर्ने जिम्मेवारी दिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ