२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड उपचारमा लाग्ने औषधीको कालो बजारी गरेको पाइएमा कडा कारवाही गर्छौं : प्रधानमन्त्री ओली

कोभिड उपचारमा लाग्ने औषधीको कालो बजारी गरेको पाइएमा कडा कारवाही गर्छौं : प्रधानमन्त्री ओली


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को उपचारमा लाग्ने औषधीको कालो बजारी गरेको पाइएमा सरकारले कडा भन्दा कडा कारवाही गर्ने बताए। प्रधानमन्त्री ओलीले सोमबार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा कोभिड उपचारमा लाग्ने जीवनरक्षक औषधीको अभाव गराउने र कालोबजारी गरेको पाइएमा कडा कारवाही गरिने बताएका हुन्।

उनले प्रत्येक अस्पतालले कोभिड उपचारमा लाग्ने औषधी तथा एन्टीभाइरल औषधी मौज्दातमा राखिएको जानकारी दिए।

यसको साथै उनले अस्पतालहरुमा प्रयोग भएका वा नभएका शैय्याहरुको दैनिक विवरण स्वास्थ्य मन्त्रालयमा पठाउन पर्ने जनाएका छन्। यदि कुनै अस्पतालले विवरण नदिएको वा शैय्या लुकाएको पाइएमा कारवाही गरिने समेत उनले उल्लेख गरे।

सम्बोधनको क्रममा उनले दोस्रो लहरमा देखिएको नयाँ स्वरूप निकै घातक रहेको बताए। उनले भने, ‘संक्रमणको दर र मृत्युदर गतबर्षको तुलनामा बढी छ। हिजोको २४ घन्टाको तथ्यांकलाई उदाहरणको रुपमा लिँदा, पीसीआर परीक्षण गरिएका १६ हजार ७७० केसमध्ये झण्डै ४३ प्रतिशत अर्थात ७ हजार २११ मा संक्रमण देखिएको छ।’

कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट बञ्चित हुनु नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्नेमा सरकार संवेदनशील रहेको प्रधानमन्त्री ओलीले बताए। उनले महामारीको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालित गरिएको उल्लेख गरे।

यसको साथै कोभिडको साङ्ग्लो चुडाउनको लागि सबैको साथ जरुरी रहेको प्रधानमन्त्री ओलीले जनाए । उनले कोरोना नियन्त्रणको लागि लगाइएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउन सरकारका साथै आम नगारिकको पनि उत्तिकै भूमिका रहेकोले सम्पूर्णलाई घरबाट बाहिर ननिस्कन र स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ