काठमाडौं-उपत्यकामा कोरोना संक्रमण तीब्र गतिमा बढेसँगै अस्पतालमा बेडहरुको अभाव हुन थालेको छ । आइतबार शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अनौठो दृश्य देखियो ।
अक्सिजनसहितका बेडहरुको अभाव भएपछि शुक्रराज अस्पतालले बेडबाहिर २९ जना बिरामीलाई अक्सिजन दिएर उपचार गरिरहेको छ । कसैलाई अस्पतालको प्यासेजमा, कसैलाई अस्पताल बाहिरको ढोकैमा अक्सिजन दिएर उपचार भइरहेको थियो ।
अस्पतालको आईसीयु र भेन्टिलेटरमात्रै होइन्, उपचार गर्ने कोठामा समेत नभएपछि उनीहरुलाई बाहिर उपचार गर्नुपर्ने अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए ।
अहिले टेकुको फूलफेलज आईसीयुमा २४ कोरोना संक्रमितको उपचार भइरहेको छ जसमध्ये १५ जना गम्भीर कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार हुँदैछ । एचडियुमा ३३ जना कोरोना संक्रमित उपचार हुँदैछ ।
‘अस्पतालमा ठाउँनै नभएपछि हामीले बिरामीलाई लबी, प्यासेज र ढोकामा पनि अक्सिजन दिएर उपचार गरिरहेका छौं,’ डा. राजभण्डारीले हेल्थआवाजसँग भने । अस्पतालमा थेग्नै नसक्ने अवस्था भएपछि अक्सिजन आवश्यक पर्ने २५ जना बिरामीलाई प्रसुती गृह पठाइएको उनले बताए ।
यसले पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न अस्पतालमा कोभिड बिरामीको चाप तीब्र रुपमा बढिरहेको देखिन्छ ।
