२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशराकम कर्णालीमा अक्सिजनसहितको आइसोलेसन

राकम कर्णालीमा अक्सिजनसहितको आइसोलेसन


जुम्ला-कर्णाली प्रदेशको दैलेख जिल्लास्थित आठबीस नगरपालिकाले राकम कर्णालीमा अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमणको बढ्दो महामारीबाट नागरिकलाई जोगाउन अक्सिजनसहितको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको हो ।

आठबीस नगरपालिकामा भारतबाट आउने नागरिकको संख्या उल्लेख्य छ । नयाँ भेरियन्टसहितको कोरोना संक्रमितको संख्या दिनानुदिन बढदैं जाँदा अक्सिजनको आवश्यकता पर्ने भएका कारणले दश वटा ठूला अक्सिजन सिलिण्डर खरिद गरेर आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको नगरप्रमुख खड्गराज उपाध्यायले बताए ।

आफैं पनि कोरोना संक्रमित भए होम आइसोलेसनमा रहेका नगरप्रमुख खड्गराज उपाध्यायले भने, ‘नगरपालिकाले निर्माण गरेको आइसोलेसन भवनमा ३६ वटा शैय्या व्यवस्थापन गरेका छौं । ७ जना कोरोना संक्रमित उपचारका लागि यहाँ भर्ना भइसक्नु भएको छ ।’

उनले शैय्या भन्दा पनि अक्सिजनको समस्या भएको गुनासो गरे । ‘हामी कहाँ शैय्याको समस्या छैन । सामूदायिक विद्यालय भवनलाई पनि प्रयोग गर्न सकिन्छ । मुख्य समस्या अक्सिजन कै हो’, नगरप्रमुख उपाध्याय भन्छन्, ‘अहिले दशवटा मात्रै सिलिण्डर खरिद गर्न सफल भएका छौं । संघीय सरकारबाट अक्सिजन सिलिण्डर पाउनेमा हामी आशावादी छौं ।’

उनले नगरवासीलाई सामाजिक दूरी कायम गर्न, मास्क लगाउन र सकभर घरमै बसेर नगरपालिकालाई सहयोग गर्न अपिल गरे । ‘भारतबाट आएका हरेक व्यक्तिलाई १४ दिन होम आइसोलेसनमा बस्न हामीले अनुरोध गरेका छौं । सबैजना बसिरहनु भएको छ,’ उनले भने, ‘कोरोनाबाट जोगिन सबैको भूमिका महत्वपूर्ण हुन्छ । यसमा सबै सजग र सचेत बन्न अनुरोध गर्दछु ।’ आठबीसका ७० प्रतिशत युवा रोजगारीका लागि भारत जाने गरेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ