२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसंक्रमण जटिल अवस्थामा, अक्सिजनको माग अत्याधिक बढ्यो : स्वास्थ्यमन्त्री त्रिपाठी

संक्रमण जटिल अवस्थामा, अक्सिजनको माग अत्याधिक बढ्यो : स्वास्थ्यमन्त्री त्रिपाठी


काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा कोभिड–१९ को संक्रमण जटिल अवस्थामा पुगेको बताए । मंगलबार संवाददाताहरुसँगको जुम बैठकमा स्वास्थ्यमन्त्री त्रिपाठीले अहिले अक्सिजनको माग अत्याधिक बढेको बताएका हुन् ।

‘अक्सिजनको माग अत्याधिक बढेको छ,’ त्रिपाठीले भने, ‘अक्सिजनको मागअनुसार दिन सकिदैंन ।’ उनले लिक्विड अक्सिजन विस्तारमा सरकार लागिरहेको बताउँदैं अक्सिजनसँग सम्बन्धित वस्तु ल्याउन पनि गाह्रो अवस्था भएको जानकारी दिए ।

त्रिपाठीले सरकारी अस्पतालमा १६ हजार बेड रहेको बताए । बिरामीको पीर मर्कामा सरकार दुःखी रहेको बताउँदैं अधिकतम स्रोत साधनको प्रयोग गरिने उल्लेख गरे । कोरोना महामारी बढ्ने ट्रेण्डमा रहेको बताउँदैं त्रिपाठीले छिमेकी देशमा पनि कोरोना संक्रमण उच्च रहेको उल्लेख गरे ।

उत्तरी छिमेकी देश चीनले २० हजार अक्सिजन सिलिण्डर उपलब्ध गराउन लागेको र त्यसमध्ये पहिलो चरणको सिलिण्डर आज नेपाल आउने उनले बताए । निजी क्षेत्रले पनि अक्सिजन सिलिण्डर थप्ने काम जारी राखेको उनले बताए । ‘महामारीमा कसैले पनि कालोबजारी नगरिदिनु हुन अनुरोध छ,’ उनले भने ।

कोभिड–१९ का बिरामीको उपचार र परीक्षण निःशुल्क रहेको उनले बताए । कोभिड-१९ खोप १० लाख भारतले उपहार दिएको, ८ लाख चीनले उपहार दिएको र २० लाख सरकारले किनेको बताउँदैं उनले किनेकोमध्ये १० लाख आपूर्ति हुन बाँकी रहेको उल्लेख गरे ।

खरिद गरेको १० लाख डोज खोप नपाउनुमा सिरम इन्स्टिच्युट अफ इण्डियामा आगलागी हुनु र भारतमा कोभिड १९ को महामारी फैलिनु कारण रहेको उनको भनाइ छ। ‘अहिले भारतले २० प्रतिशत खोप निर्यात गर्ने भनेको छ,’ उनले भने, ‘यो हुनेबितिकै हाम्रो खोप पाउँछौं ।’

अमेरिकी र रसियन राजदूतसँग पनि खोपका विषयमा गम्भीर कुराकानी भएको जानकारी मन्त्री त्रिपाठीले दिए । कोभ्याक्स खोप आउने विश्वास पनि आफूहरुको रहेको उनको भनाइ थियो ।

चीनसँग पनि खोप खरिदका लागि परराष्ट्र मन्त्रालयमार्फत पहल अगाडि बढिरहेको उनले बताए । मन्त्री त्रिपाठीले २० लाख डोज खोप सिरम इन्स्टिच्युट अफ इण्डियाबाट खरिद गर्दा ८० प्रतिशत मात्र रकम भुक्तानी गरेको जनाउँदैं एक पैसा पनि कसैलाई कमिसन नदिने बताए । ४ डलरमा कसैले खोप दिएमा १ करोड डोज किन्ने बताउँदै उनले सांसदहरुलाई पनि बुझेर मात्र बोल्न आग्रह गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ