२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य संकटकालको सुझाव सकारात्मक : स्वास्थ्यमन्त्री

स्वास्थ्य संकटकालको सुझाव सकारात्मक : स्वास्थ्यमन्त्री

कोभिड–१९ को नयाँ भेरियन्ट घातक र संक्रामक


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले देशमा स्वास्थ्य संकटकाल लगाउन विज्ञहरुबाट प्राप्त सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको बताएका छन् । सोमबार मन्त्रालयले गरेको भर्चुअल प्रेस ब्रिफिङमा बोल्दैं उनले यस्तो बताएका हुन् ।

‘देशमा स्वास्थ्य संकटकाल लगाउन विज्ञहरुबाट प्राप्त सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको छ,’ उनले भने ।

मन्त्री त्रिपाठीले कोभिड–१९ को नयाँ भेरियन्ट संक्रामक र घातक रहेको बताएका छन् । अहिले नेपालमा नयाँ भेरिन्ट B.1.617.2 तीब्र रुपमा फैलिरहेको जानकारी दिएका हुन् ।

‘नयाँ भेरियन्ट तीब्र रुपमा फैलिएको छ,’ उनले भने, ‘यो निकै संक्रामक र घातक छ ।’ उनकाअनुसार अहिले नेपालमा सक्रिय संक्रमित १ लाख १५ हजार ५ सय ४७ रहेका छन् । जसमध्ये आईसीयु १ हजार ७२१ जना रहेका छन् भने भेन्टिलेटरमा ४८४ जनाको उपचार भइरहेको छ ।

मन्त्री त्रिपाठीले विगत एक हप्ताको आँकडा हेर्ने हो भने दैनिक औसतमा ८ हजार ३ सय नयाँ कोभिड–१९ संक्रमित थपिइरहेका छन् । ‘आवातजावत प्रभावकारी रुपमा नियन्त्रण हुन नसकेको, केही सेवा र कार्यहरु सुचारु रहेका कारण संक्रमणदर अपेक्षाकृत रुपमा नियन्त्रणमा आउन नसकेको हो,’ उनले भने, ‘संक्रमण आगामी ४ हप्तापछि घट्दै जान सक्ने देखिन्छ ।’

सरकारले देशभरका सरकारी निजी गरी १५७ अस्पताललाई सूचीकृत कोभिड–१९ को उपचार गरिरहेको छ । सरकारले सम्पूर्ण सरकारी र ४५ वटा निजी अस्पतालबाट कोभिड–१९ संक्रमित बिरामीको निःशुल्क उपचार गरिरहेको छ । मन्त्री त्रिपाठीकाअनुसार बैशाखमा मात्रै कोभिड–१९ बिरामीको निःशुल्क उपचार गरेबापत ४५ करोड रुपैयाँ अस्पतालहरुलाई शोध भर्ना दिइएको छ ।

देशभरका ५५ सरकारी प्रयोगाशालाबाट कोभिड–१९ निःशुल्क परीक्षण हुँदै आएको छ भने ३६ निजी प्रयोगशालाले कोभिड–१९ परीक्षण गरिरहेका छन् । मन्त्री त्रिपाठीकाअनुसार अहिले औसत दैनिक २० हजार परीक्षण हुने गरेको छ ।

संक्रमणलाई निन्त्रणमा ल्याउन स्थानीय तहसँग सहकार्यमा समुदायमा एन्टीजेन परीक्षणलाई तीब्रता दिइएको त्रिपाठीले बताए । यसका कार्यका लागि प्रदेश नं. १ मा १ लाख ७५ हजार, प्रदेश नं. २ मा २ लाख, बागमती प्रदेशमा ३ लाख, गण्डकी प्रदेशमा १ लाख ५० हजार, लुम्बिनी प्रदेशमा २ लाख, कर्णाली प्रदेशमा १ लाख ५० हजार र सुदूरपश्चिम १ लाख ७५ हजार एन्टीजेन किट पठाइएको छ ।

कोभिड–१९ का भेरियन्टहरुको अनुगमन गर्नका लागि नियमित रुपमा जिन सिक्वेसिङ भइरहेको बताउँदैं मन्त्री त्रिपाठीले यसको प्रमाणीकरणका लागि विदेशस्थित प्रयोगशालासँग सहकार्य गरिएको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ