२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजलेश्वर अस्पतालमा भेन्टिलेटर नपाउँदा संक्रमितको मृत्यु, जनशक्ति अभावमा ५ भेन्टिलेटर थन्किए

जलेश्वर अस्पतालमा भेन्टिलेटर नपाउँदा संक्रमितको मृत्यु, जनशक्ति अभावमा ५ भेन्टिलेटर थन्किए


धनुषा–महोत्तरीको जलेश्वर अस्पतालमा भेन्टिलेटर सेवा संचालन नहुँदा कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–४ का ४२ वर्षीय रघुनाथ पाण्डेको मृत्यु भएको मृतकका आफन्त वैभव चौधरीले बताए ।

मृतक पाण्डे सर्लाहीको धनकौल गाउँपालिकाको शिक्षा संयोजक पदमा कार्यरत थिए । बिहीबार श्वासप्रश्वासमा समस्या आएपछि पाण्डेलाई जलेश्वर आस्पतालको आइसोलेसन कक्षमा अक्सिजन दिएर राखिएको थियो । शुक्रबार कोभिड–१९ परीक्षण गर्दा उनका संक्रमण देखिएको थियो ।

शनिबार राति साढे ८ बजे उपचारमा संलग्न डाक्टरले थप उपचारका लागि भेन्टिलेटरमा राख्नुपर्ने परिवारजनलाई जानकारी दिएका थिए । ‘एम्बुलेन्स खोज्दाखोज्दै रातिको साढे १० बज्यो,’ मृतक परिवारका चौधरीले भने, ‘गाउँबाट बल्ल एम्बुलेन्स आइपुग्यो ।’ जनकपुर लग्दै गर्दा बाटोमा संक्रमितको मृत्यु भएको जलेश्वर अस्पताल विकास समितका अध्यक्ष सुरेश पाण्डेले बताए ।

अस्पतालमा कोभिड–१९ संक्रमितलाई बोक्ने एम्बुलेन्स नहुँदा समस्या भएको छ । अक्सिजनसहितको १५ बेडको अस्थायी कोभिड अस्पताल एक साता अघिदेखि अस्पतालले संचालनमा ल्याइएको थियो ।

गत वर्ष जलेश्वर अस्पतालले २ करोड बढीमा ५ वटा भेन्टिलेटर खरिद गरेको थियो । तर, जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगविहिन बनेको छन् । ‘जनशक्ति व्यवस्थान गरिदिन प्रदेश सरकारलाई भन्दा भन्दै थाकिसक्यो,’ अस्पताल विकास समितिका अध्यक्ष पाण्डे भन्छन्, ‘तर, कुनै सुनवाई भएको छैन ।’ प्रदेश सरकारले भेन्टिलेटर चलाउने जनशक्ति नदिएर आफू आमरण अनशनमा बस्ने उनले चेतावनी दिएका छन् ।

महोत्तरीको सदरमुकाममा पर्ने जलेश्वर अस्पतालसँग एउटा मात्रै थोत्रो एम्बुलेन्स छ । ‘निजी संघसंस्थालाई सरकारले एम्बुलेन्स दिन्छ । तर, सरकारी अस्पताल पुरोनो एम्बुलेन्सको भरमा चल्छ,’ अध्यक्ष पाण्डेले भने, ‘अस्पतालमा नर्मल बिरामीका लागि मात्रै एम्बुलेन्स छ । कोराना संक्रमितलाई बोक्न एम्बुलेन्स पनि छैन ।’ अस्पतालमा ६० वटा अक्सिजन सिलिण्डर कोभिड–१९ संक्रमितका लागि जोहो गरेर राखिएको छ ।

हालै प्रदेश सरकारले जलेश्वर अस्पतालमा २३ जना स्वास्थ्यकर्मी अस्थायी जनशक्ति पठाएको छ । त्यसका लागि तीन दिने सूचना अह्वान गरिएको छ । तर, नयाँ जनशक्तिको दरबन्दीमा भेन्टिलेटर संचालन गर्ने जनशक्ति नरहेको अस्पतालले जनाएको छ ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले भेन्टिलेटर संचालन गर्ने जनशक्ति व्यवस्थापन गरिने बताए । ‘प्लेन भएर मात्रै भएन, चलाउने पाइलट पनि चाहियो,’ उनले भने, ‘प्लेन चलाउन हामी पाइलटको व्यवस्थापनमा लागेका छौं ।’ कोभिड–१९ संक्रमणले हालसम्म महोत्तरीमा २१ जनाको मृत्यु भइसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ