२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमेयर नै खटिए कोभिड–१९ बाट मृत्यु भएकाको शव व्यवस्थापनमा

मेयर नै खटिए कोभिड–१९ बाट मृत्यु भएकाको शव व्यवस्थापनमा

उर्लावारीको स्वास्थ्य योजना : आइसोलेसन संचालनदेखि बिरामीलाई निःशुल्क एम्बुलेन्ससम्म


विराटनगर–कोभिड–१९ संक्रमणले गत बुधबार मृत्यु भएकाको शव व्यवस्थापनमा उर्लाबारी नगरपालिकाका मेयर खड्गबहादुर फागो आफैं खटिएका छन् ।

उर्लाबारी–२ घर भएर तत्कालीन उर्लाबारी गाविसका उपाध्यक्ष ६७ वर्षीय कुमार धिमालको कोभिड–१९ बाट मृत्यु भएपछि पीपीई लगाएर फागो आफै संक्रमितको शव व्यवस्थापनमा खटिएका थिए ।

वि.सं. २०५४ सालमा उर्लावारी गाविसमा नेकपा एमालेबाट उपाध्यक्ष निर्वाचित भएका धिमालको कोभिड–१९ संक्रमणका कारण झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा बुधबार मृत्यु भएको थियो ।

कोभिड–१९ का कारण मृत्यु भएपछि आफन्त पनि टाढा बस्ने र परिवारका २÷४ जना सदस्य मात्रै नजिक बस्ने गरेकाले सामाजिक उत्तरदायित्व सम्झेर आफैं धिमालको शव व्यवस्थापनमा जुटेको उनले सुनाए । समाजका अगुवा व्यक्तित्व गुमाएको अवस्थामा परिवारको सदस्यलाई साथ र सहयोगका साथै मनोबल बढाउन र सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्नका लागि शव व्यवस्थापनमा खटेको उनको भनाइ छ ।

‘कोभिड–१९ संक्रमणले मृत्यु भएका परिवारजनलाई अहिले समवेदना प्रकट गर्नेसम्म पनि कोही नजाने गरेको अवस्था छ,’ फागोले भने, ‘स्वास्थ्यसम्बन्धी सुरक्षात्मक उपाय अपनाएर भएपनि संक्रमितको हौसला बढाउनुपर्ने बेलामा अहिले समाजमा उल्टै हेला गर्ने गरेको अवस्था छ ।’ आफैंले संक्रमितको शव व्यवस्थापनमा खट्दा अन्य सर्वसाधारणमा पनि भएको डर त्रास न्यूनीकरण हुने अपेक्षा उनले गरेका छन् ।

उर्लावारीको स्वास्थ्य योजना : आइसोलेसन संचालनदेखि बिरामीलाई निःशुल्क एम्बुलेन्ससम्म

कोभिड–१९ को दोस्रो लहरमा उर्लावारी नगरपालिका संक्रमणको उच्च जोखिममा छ । महामारीको रूपमा फैलिएको संक्रमण समुदायस्तरमा छ । दिनहुँ यहाँ संक्रमित थपिरहेका छन् ।

शनिबारसम्म २ सय ५६ जना संक्रमित पुगेका छन् । १७ जनाको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ । १ सय ७ जना संक्रमणमुक्त भएको नगरपालिकाले जनाएको छ ।

पहिलो लहरमा उर्लाबारीमा संक्रमणले खासै प्रभाव नपारेपनि फैलिएको दोस्रो लहरको संक्रमण रोकथाम र नियन्त्रणमा प्रदेश, संघीय सरकारसँग समन्वय, निजी क्षेत्रसँग सहकार्यमा संक्रमण रोक्न लागि परेको उर्लाबारी नगरपालिका प्रमुख फागोले बताए ।

‘कन्ट्याक टे«सिङ, पिसीआर परीक्षण र एन्टिजेन परीक्षणदेखि संक्रमितको उपचार गर्न आइसोलेसन बनाउने काम गरेका छौं,’ प्रमुख फागोले भने, ‘विदेशबाट आएकाहरूलाई आइसोलेट गरेर बस्न आग्रह गर्दै आएका छौं ।’

कोभिड–१९ को दोस्रो लहरको तीब्र रूपमा फैलिएर अस्पतालमा शैय्या भरिएर बिरामीले उपचार पाउन छोडेपछि उर्लाबारी–८ राजघाटमा रहेको स्वास्थ्य चौकीमा ११ शैय्याको अक्सिजनसहितको कोभिड अस्पताल निर्माण गरेर संचालनमा ल्याइएको छ । अक्सिजन अभावमा संक्रमितहरुले अकालमै मृत्युवरण गरिरहेका बेला उपचार नपाएर कसैको ज्यान जान नदिन अक्सिजनसहितको कोभिड अस्पताल संचालनमा ल्याएको फागोले बताए । ‘उर्लाबारीमा पनि संक्रमण बढदै गएको छ । उपचार नपाएर मृत्यु भएका घटना पनि सुन्दै आएका छौं । त्यही भएर हामीले अहिले तत्काल अक्सिजनसहितको ११ शैय्याको अस्पताल संचालनमा ल्याएको हौं,’ उनले भने, ‘आवश्यकताअनुसार थप गर्दै लैजाने योजना बनाएका छौं ।’

कोभिड अस्पतालको सबै बेडमा अक्सिजन जडान गरिएको नगरपालिकाले जनाएको छ । राजघाटनमा संचालनमा आएको अस्पतालमा प्रत्यक्ष रूपमा डाक्टर र स्वास्थ्यकर्मीहरूको उपस्थितमा संक्रमितको उपचार हुने गरेको छ । दुई जना मेडिकल अधिकृत रहेका छन् । ६ जनाको टिम रहेको छ । करारमा नियुक्तको रहेको नगरपालिकाले जनाएको छ ।

यस्तै उर्लाबारी– ३ मंगलबारेमा रहेको प्रदेशस्तरीय मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पनि १२ शैय्याको कोभिड अस्पताल संचालनमा आएको छ । उर्लाबारीमा संक्रमण बढ्न थालेपछि निजीस्तरबाट पनि कोभिड अस्पताल संचालनमा आएको छ । उर्लाबारीस्थित गोदावरी हस्पिटलले पनि १० शैय्याको कोभिड अस्पताल संचालनमा ल्याएको छ । नगरपालिकाले बनाएको आइसोलसन र होम आइसोलेसनमा बसेका संक्रमितलाई गाह्रो भएर थप उपचारको लागि ठूला हस्पिटल लैजादा निःशुल्क एम्बुलेन्स सेवा सुचारू गरेको छ । ‘कुनै पनि संक्रमितलाई थप उपचारको लागि ठूलो अस्पताल भर्ना गरिनु प¥यो भने नगरपालिकाले स्टेनवाइज एम्बुलेन्स राखेको छ,’ नगरप्रमुख फागोले भने ।

नगरपालिकाले शव व्यवस्थापनको लागि शव बाहन पनि राखेको छ । भाडामा गाडी लिएर शव बाहन बनाएको छ । नगरभित्रका संक्रमित कुनै अस्पतालमा मृत्यु भए नगरपालिकाले शवबहान पठाएर दाहासंस्कार गर्ने ठाउँसम्म पु¥याउने गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ