२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयका ७ जना उच्च अधिकारी सीसीएमसीले मागेपछि मन्त्रालय दबाबमा

स्वास्थ्य मन्त्रालयका ७ जना उच्च अधिकारी सीसीएमसीले मागेपछि मन्त्रालय दबाबमा

को-को स्वास्थ्यका उच्च अधिकारी जाँदैछन् संकट व्यवस्थापन केन्द्रमा


काठमाडौं–कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्वास्थ्य मन्त्रालयका ७ जना उच्च अधिकारी मागेको छ । सीसीएमसीले पद नै तोकेर उच्च अधिकारी मागेपछि मन्त्रालय दबाबमा परेको छ ।

अहिले स्वास्थ्य मन्त्रालयमा सीसीएमसीले मागेअनुसार कर्मचारी कसरी दिने भन्ने दबाब छ । स्रोतकाअनुसार संकट व्यवस्थापन केन्द्रमा पूर्णकालीन रूपमा काम गर्ने गरी स्वास्थ्य आपत्तकालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) प्रमुख, कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) प्रमुख, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) प्रमुख, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रतिनिधी र खरिद एकाईका प्रतिनिधी पद नै तोकेर मागेको हो ।

अहिले एचईओसीमा प्रमुख डा. समिरकुमार अधिकारी, केन्द्रीय अस्पतालको प्रमुख डा. जागेश्वर गौतम, इडिसिडीको प्रमुख डा. कृष्ण पौडेल छन् ।

यस्तै, पूर्णकालीन भनेर नलेखिएकामा राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र प्रमुख, एचएमआईएस प्रमुखलाई संकट व्यवस्थापन केन्द्रमा पठाउन भनिएको छ । स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र प्रमुखमा डा. राधिका थपलिया र एचएमआईएसमा अनिल थापा छन् ।

‘सीसीएमसीले ७ जना स्वास्थ्यका कर्मचारी पूर्णकालीन रुपमा मागेपछि मन्त्रालयमा अहिले दबाब छ,’ मन्त्रालय निकट उच्चस्रोतले भन्यो, ‘पद नै तोकेर उच्च अधिकारी मागेपछि कसरी काम गर्ने भन्ने दबाब बढेको छ ।’ ती उच्च अधिकारीले सीसीएमसीले पद नै तोकेर मन्त्रालयका कर्मचारी मागेपछि मन्त्रालय सीसीएमसीको शाखाजस्तो भएको टिप्पणी गरे । यसले मन्त्रालयका कामहरुलाई पनि प्रभावित पार्ने उनले बताए ।

मुख्य निकायका प्रमुखहरु नै संकट व्यवस्थापन केन्द्रमा रहेर काम गर्ने गरी मागेपछि स्वास्थ्य मन्त्रालय सीसीएमसीको छायाँ बन्ने सम्भावना बढेर गएको भन्दै केही अधिकारी असन्तुष्ट बनेका छन् । ‘अहिलेको यस्तो बेलामा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी नै उतै बसेर काम गर्ने गरी बोलाइएपछि मन्त्रालयको भूमिका कमजोर हुने देखिएको छ,’ मन्त्रालयका अर्का उच्च अधिकारीले हेल्थआवाजसँग भने ।

स्वास्थ्य मन्त्रालयको तर्फबाट सीसीएमसीमा प्रतिनिधित्व गर्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले भने आफू दुई दिन बैठकमा नगएका कारण स्वास्थ्यबाट पूर्णकालीन रुपमा कर्मचारी बोलाउने निर्णयबारेमा आफूलाई थाहा नभएको बताए । ‘विज्ञताका हिसाबले आवश्यक परेको बेला स्वास्थ्यका कर्मचारी बोलाउने भन्ने कुरा भएको थियो,’ उनले भने, ‘स्वास्थ्यबाट कर्मचारी पूर्णकालीन रुपमा बोलाउनेबारेमा मलाई थाहा भएन ।’

कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको प्रमुखमा नेपाली सेनाका पूर्व रथी बालानन्द शर्मा छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ