२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘कानुनको कार्यान्वयन नहुँदा सुर्तिजन्य पदार्थको न्यूनीकरण हुन सकेन’

‘कानुनको कार्यान्वयन नहुँदा सुर्तिजन्य पदार्थको न्यूनीकरण हुन सकेन’


काठमाडौँ – कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा सुर्तिजन्य पदार्थको न्यूनीकरण हुन नसकेको पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले बताएका छन्।

सोमबार ‘विश्व धूमपानरहित दिवस’को अवसरमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, एक्सन नेपाल र द युनियनको संयुक्त आयोजित भर्चुअल अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘हामीले १० वर्षअघि बनाएका कानुनअहिलेसम्म कार्यान्वयन गर्न सकेनौं ? किन सकेनौँ ? राज्यले आफूले बनाएको कानून कार्यान्वयन गर्न नसक्नु आफैमा लज्जास्पद कूरा हो ।’

यस्तै, विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश सम्भाजी राव पाण्डवले सुर्तिजन्य पदार्थको प्रयोगले विश्वभर प्रत्येक वर्ष ८० लाख बढी व्यक्तिको मृत्यु हुने गरेको बताए। उनले भने, ‘धूमपान गर्ने व्यक्तिको नजिक बस्ने तर प्रत्यक्ष रुपमा धूमपान नगर्ने करीब १२ लाख व्यक्तिको पनि हरेक वर्ष ज्यान जाने गरेको छ।’

कार्यक्रममा विगटित प्रतिनिधि सभाका सदस्य एव नेतृ रामकुमारी झाँक्रीले सुर्तिजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने र यसको नियन्त्रण सम्बन्धि बनेको कानुनको कार्यान्वयन हुनुपर्नेमा जोड दिइन।

यस्तै, स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले कोभिड महामारीका कारण सूर्तिजन्य पदार्थको नियमन तथा अनुगमन र यसलाई निरुत्साहित गर्ने कार्यक्रम ल्याउन नपाएको भन्दै अवस्था सहज हुनासाथ यसले प्राथमिकता पाउने प्रतिबद्दता जनाए।

कार्यक्रममा सुदुरपश्चिम प्रदेशका प्रमुख सचिव रामकृष्ण सुवेदीले काठमाडौमा प्रमुख जिल्ला अधिकारी हुँदाका बखत सुर्ति नियन्त्रण सम्वन्धी कानून कार्यान्वयन गराउन खोज्दा उल्टै कानूनी झमेलामा फसेको जिकिर गरे  ।

‘द युनियन एसिया प्यासेफिक’ क्षेत्रका निर्देशक डा. तारासिंह बमले सूर्ति नियन्त्रण सम्बन्धि कानून उत्कृष्ठ भए पनि नेपालले कार्यान्वयनमा फितलोपना देखाएको गुनासो पोखे। ‘नेपालको सिको गर्दै भारत, श्रीलंका टिमोर लिष्टे लगायतका धेरै देशहरुले कानुन बनाए। तर. अहिले ती देशमा प्रभावकारी रुपमा कानून कार्यान्वयन हुँदा नेपालमा लागू हुन नसक्नु विडम्वनापूर्णको कूरा हो,’उनले कार्यक्रममा भने।

यता, प्रधानमन्त्रीको निजी चिकित्सक तथा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइऔएमका डीन प्राडा दिव्यासिंह शाहले सुर्ति नियन्त्रण सम्बन्धि कानून कार्यान्वयनका लागि स्वयमले सरकारको ध्यानाकर्षण गराउने बताइन ।

यस्तै, कुलतमा लागि सकेका व्यक्तिलाई लतबाट निकाल्ने विकल्पको खाँचो भएको कार्यक्रममा सहभागी राष्ट्रिय सभा सदस्य कोमल वलीले बताइन । उनले सबैजना एक जुट भएर जनस्वास्थ्यलाई हानी गर्ने सुर्तिजन्य पदार्थ प्रयोग नगर्न नगराउन जोड दिनुपर्ने उल्लेख गरिन।

कार्यक्रममा बोल्दै स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले स्वास्थ्य पत्रकारहरुले कानून कार्यान्वयनका लागि कानुनको पालना भएको छ वा छैन भनेर निरन्तर निगरानी गरिरहेको बताए। यसको साथै उनले स्वास्थ्य मन्त्रालयले सूर्ति नियन्त्रण सम्बन्धि कार्यक्रममा त्यति चासो नदिएको आरोप लगाए ।

एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले कानूनले स्पष्ट निषेध गरेको डोनेसन लिन नपाउने कार्यलाईउच्च ओहोदामा रहेका व्यक्तिमार्फत दिलाउने प्रयास भएको र कोभिड-१९ महामारीकाबीचमा प्रदेश सरकार र संघीय अस्पतालहरुमा डोनेसन बाढीरहेको उल्लेख गरे।

मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले कोरोना कहरले गर्दा सूर्तिजन्य पदार्थको केही घटेको भन्दै यहि बेला युवावर्गलाई लक्षित गरी थप कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा झण्डै ९० जनाको सहभागिता रहेको थियो । सुर्तिजन्य पदार्थको प्रयोगलाई न्युनिकरण गर्न यसअघि नै बनेको कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

आज देशभर नै ‘सुर्तिजन्य कुलत त्याग्ने प्रतिज्ञा गर्नुहोस, कुलत त्याग्नेहरु नै बास्तविक विजेता हुन्’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी विश्व धूमपान रहित दिवस मनाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ