२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजोशीको सरुवाको पत्र २२ दिनसम्म स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य सेवा विभाग पुगेन

जोशीको सरुवाको पत्र २२ दिनसम्म स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य सेवा विभाग पुगेन

१५ वर्षदेखि निरन्तर स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमा


काठमाडौं–राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका १० औं तहका स्वास्थ्य शिक्षा प्रशासक कुन्ज जोशीको सरुवाको पत्र २२ दिनसम्म पनि स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य सेवा विभागस्थित केन्द्रमा नपुगेको पाइएको छ । २८ बैशाखमा स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयबाट उनको सरुवा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा भएको थियो ।

स्वास्थ्य मन्त्रालयको प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीले २८ बैशाखमा जोशीको सरुवा भएको जानकारी दिए । ‘मन्त्रालयले २८ बैशाखमा उहाँको सरुवा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा गरेको हो,’ रेग्मीले भने, ‘हामीले त्यहीबेला नै पत्र पठाइसकेका छौं ।’

तर, १७ जेठसम्म २२ दिन बितिसक्दा पनि जोशीको सरुवाको पत्र रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयबाट टेकुस्थित विभाग परिसरमा रहेको केन्द्रमा पुग्न सकेको छैन । हेल्थआवाजले सोमबार राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियासँग बुझ्दा उनले सरुवा पत्र केन्द्र आइनपुगेको बताइन् ।

मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रेग्मीले जोशी स्वास्थ्य तालिम केन्द्रमा सरुवा भएपछि उनको ठाउँमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रकी शिला श्रेष्ठलाई सरुवा गरिएको जानकारी दिए ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रकी शिला श्रेष्ठलाई कामकाजको लागि स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमा पठाइएको पत्र आफू कहाँ आइसकेको तालिम केन्द्रका निर्देशक मोहमद दाउदले बताए । उनको ठाउँमा कुन्ज जोशी आउने जानकारी पाएपनि अहिलेसम्म आइनसकेको उनले भनाइ थियो ।  ‘शिलाजीको स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमा सरुवा भएको पत्र पाएको छु,’ उनले भने, ‘तर उहाँ कोभिड भएर आइसोलेसनमा हुनुहुन्छ । उहाँको ठाउँमा स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रबाट कुन्ज जोशी आउने कुरा सुनेको छु । तर, पत्र पनि आएको छैन र मान्छे पनि आउनु भएको छैन ।’

रोचक त के भने जोशीको अहिलेसमेत गरी तीन पटक स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रबाट अन्यत्र सरुवा भइसकेको छ । तर, उनी तीन पटक नै पावर सेन्टरको आडमा आफ्नो सरुवा रोकेर स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमा जरा गाँडेर बसिरहेका छन् ।

यसअघि पहिलो पटक उनको सरुवा सुर्खेतस्थित स्वास्थ्य तालिम केन्द्रमा भएको थियो । दोस्रो पटक पोखरास्थित स्वास्थ्य तालिम केन्द्रमा भयो । तर, त्यतिबेला पनि उनको सरुवा बीचबाटोबाटै गायब भएको थियो । तेस्रो पटक राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा सरुवा हुँदा पनि उनको पत्र २२ दिनसम्म बीचबाटैमा गायब छ, कहिले स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमा पुग्छ निश्चित छैन ।

स्वास्थ्यअन्तर्गतको ठूलो बजेट रहेको आकर्षक ठाउँ मानिने स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमा उनी वि.सं. २०६३ सालदेखि लगातार छन् । यसअघि स्वास्थ्य मन्त्रालयका ११ औं तहका दुई जना अधिकारीहरु भूमिकाबिहीन रहँदा पनि जोशीले ११ तहको प्रमुख रहने स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमा निमित्त प्रमुख भएर काम गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ