२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविराटनगरमा दर्ता नभएको फार्मेसीबाट कलोबजारी, बिरामी ठगी गर्ने संचालक फरार

विराटनगरमा दर्ता नभएको फार्मेसीबाट कलोबजारी, बिरामी ठगी गर्ने संचालक फरार


विराटनगर – विराटनगरका केही फार्मेसीहरूले मनलाग्दी स्वास्थ्य सामग्रीको चर्को मूल्य बिरामीसँग असुली गरेको पाइएको छ । यसअघि दर्ता भएको केही फार्मेसीहरूले बिरामी ठगी गर्दै आएकोमा अहिले दर्ता नभएको औषधी पसलहरूले पनि बिरामीलाई ठगी गरेको पाइएको हो ।

गोल्डेन अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीलाई विराटनगरको अस्पताल चोकमा दर्ता विना सञ्चालनमा रहेको फार्मेसीले ठगी गरेको भेटिएको छ । १८ दिन अस्पतालमा बसेका बिरामीका लागि फार्मेसीले तीन लाख ५ हजारको औषधी उपलब्ध गराएको बिल थमाएको छ । जसमा सर्जिकल ग्लोब्स मात्रै ५५ हजार रुपैयाँको छ ।

सिरहाको गोलबजार नगरपालिका–१३ का विन्देश्वर पासवानको उपचारका लागि औषधी खरिद गरेका उनका छोरा गरदीप पासवानलाई दर्ता विनाको फार्मेसी सञ्चालक शंकर यादवले ठगी गरेका हुन् ।बिरामी ठगी गरेको खुलेपछि औषधी व्यवस्था विभाग विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार छापा हानेको थियो । तर, विभाग र प्रहरी आएको सुइको पाएपछि बिरामी ठगी गर्ने यादव फरार भएका छन् । प्रहरी र विभागले उनको पसल बन्द गरि बिरामी ठगी गर्ने यादवको खोजी कार्य जारी राखेको छ ।

विन्देश्वर पासवानको गोल्डेनमा उपचार भएपछि दर्ता विना अस्पताल नजिकै सञ्चालनमा रहेको फार्मेसीसम्म उनलाई एम्बुलेन्स चालकले पु¥याइ दिएका थिए । बिरामी ल्याइदिए वापत हस्पिटल अगाडीको फार्मेसीले चालकलाई कमिसन दिने भएकोले उनीहरूले बिरामीको आफन्तलाई सम्पर्क गराइदिने गर्दछन् ।

१८ औं दिनमा हिसाब गर्दा ४६ प्याकेट सर्जिकल ग्लोब्स अस्पताल पठाएको उल्लेख छ । फार्मेसीले एक दिन ६ प्याकेटसम्म अस्पताल पठाएको दाबी गरेको छ । एक प्याकेटमा ५० जोर सर्जिकल ग्लोब्स हुन्छ । तर अस्पतालले दैनिक ६ प्याकेट ग्लोब्स नमगाएको बताएको छ । फार्मेसीमा बिरामीका आफन्तले ३५ हजार रुपैयाँ जम्मा गराएका थिए ।

‘सुरुमा ३५ हजार जम्मा गरेको थिएँ, पछि तीन लाख ५ हजारको औषधि भयो भन्छन्,’ विन्देश्वर पासवानले भने, ‘फार्मेसीले १२ प्रतिशत छुट दिने भन्दैछ ।’ फार्मेसीले बिल भने नोबेल मेडिकल कलेज अगाडि रहेको हेल्थकेयर फार्मेसीको प्रयोग गर्दै आएको छ । अस्पतालमा उपचार गर्दाको बिल भने दुई लाख ६ हजार उठेको छ । एकसाता भेन्टिलेटरमा राखेर उपचार गर्नु परेकाले सो बिल उठेको अस्पतालले जनाएको छ । फार्मेसीको बिल भने अस्पतालको भन्दा एक लाख रुपैयाँ बढी छ ।

फार्मेसीबाट ठगिएपछि आफन्तले औषधी व्यवस्था विभागको विराटनगरस्थित क्षेत्रीय कार्यालयमा उजुरी दिएका छन् । उजुरीपछि छानविन सुरु गरेको विभागले फार्मेसीले ठगी गरेको निष्कर्ष निकालेको हो । ‘फार्मेसीले बिरामीका आफन्तलाई बढी औषधी र बढी बिल देखाएर ठगी गरेको देखिन्छ,’ कार्यालयका निमित्त प्रमुख सञ्जीव शार्मा कट्टेलले भने, ‘फार्मेसीले बिलमा उल्लेख गरेका परिमाण अस्पतालले दिएको प्रेस्किप्सनको भन्दा धेरै छ ।’

उनका अनुसार गोल्डेन अस्पताल अगाडि बोर्ड नै नराखी फार्मेसी सञ्चालन गर्ने यादवको नोबेल मेडिकल कलेज अगाडि पनि फार्मेसी छ ।ठगी गरेको उजुरी आएपछि यादवलाई खोज्दै प्रहरी र विभागको टोली दुईवटै पसल पुगेको थियो । तर, दुवै पसल बन्द गरेर पसल सञ्चालक फरार भएको उनले बताए ।

दुई फार्मेसी बन्द

विराटनगर महानगरपालिका ९ अस्पताल चोकका दुई वटा फार्मेसी बन्द गराएको छ । अर्काको लाइसेन्स प्रयोग गरेर औषधीको व्यापारिक कारोबार गरेको पाइएपछि बिभागले फार्मेसी बन्द गरेको हो ।

अनुगमन टोलि पुगेपछि एउटा फार्मेसीका सञ्चालक भने भागेका थिए । टाइम्स फर्मा र रियाङ्शी मेडिलाई रितपूर्वक व्यवसाय नगरेको भन्दै बन्द गरिएको छ । विभागको विराटनगरस्थित कार्यालयका निमित्त प्रमुख सञ्जीव कट्टेलका अनुसार कारोबार गर्ने सम्बन्धित व्यक्तिको नाममा लाइसेन्स नभएको र अर्कै व्यक्तिको नाममा रहेको लाइसेन्समा कारोबार गरेको देखिएपछि बन्द गरिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ