२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमणिपाल शिक्षण अस्पतालले दिएको पीडा : सकियो पैसा, थपियो कोभिड–१९

मणिपाल शिक्षण अस्पतालले दिएको पीडा : सकियो पैसा, थपियो कोभिड–१९


पोखरा–मणिपाल शिक्षण अस्पतालमा कोभिड–१९ पुष्टि भएपछि उपचार नै नगरी डिस्चार्ज गरिएका शिशुका बुवाआमामा समेत संक्रमण पुष्टि भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ । मणिपाल शिक्षण अस्पतालले जानबहादुर बुढाको नवजात शिशुमा संक्रमण देखिएपछि उपचारार्थ ९० हजार धरौटी मागेको थियो ।

मणिपालले दैनिक २२ देखि २८ हजारसम्म खर्च लाग्ने विवरण सुनायोे । त्यसपछि त जानबहादुर छोराको उपचार मणिपालमा गराउनै नसक्ने अवस्थामा पुगे । आवास निर्माणमा मजदूरी गर्ने जानबहादुरसँग भएको पैसा सुत्केरी उम्काउँदा र पोजेटिभ हुनुअघि छोराको उपचार गर्दा नै सकिइसकेको थियो । धरौटी बुझाउन नसकेपछि अस्पतालले जानबहादुरको छोरालाई अस्पतालबाट निकालिदियो ।

मणिपालबाट निकालिएका शिशुको अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एनआईसीयुमा निःशुल्क उपचार भइरहेको छ । तर, एक महिना पनि नपुगेका शिशु आमाको काखमा बस्न पाएका छैनन् । मणिपालमै कोभिड–१९ पुष्टि भएका शिशुमात्रै होइन् । जानबहादुर र उनकी श्रीमती कामनासमेत कोभिड–१९ संक्रमित भए । बुढा दम्पती अस्पतालमै कोभिड–१९ आइसोलेसनमा छन् ।

छोरालाई कोभिड–१९ निको होला भन्ने आशामा रहेका बुढा दम्पती पनि संक्रमित भएपछि तनावै–तनाव भएको छ । खोसिएको रोजीरोटी, रित्तो पकेट र सबै कोभिड–१९ संक्रमणले बुढालाई बेचैन बनाएको छ । एउटै हस्पिटलमा छोरा एकातिर, बाबुआमा अर्काेतिर । जानबहादुर भन्छन्, ‘बच्चाको एनआईसीयुमा उपचार भइरहको छ । कामना बच्चालाई घरी–घरी दूध खुवाउन जान्छिन्, नत्र हामी छुट्टै कोठामा छौं ।’ बुढा दम्पतीको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

भर्खरकी सुत्केरीलाई स्याहार नपुगेकोप्रति गम्भीर जानबहादुरको चिन्ता छ । त्यसै त सुत्केरी झन् कोभिड–१९ संक्रमण । अर्काेतर्फ छोरामा पहिले संक्रमण भएकाले पहिले नै निको हुने विश्वाससहित आफूहरु निको नभए कसले स्याहार गर्ला भन्ने पिर थपिएको छ ।

महिना दिन नपुगेको शिशुले पटक–पटक ढुक्कसँग दूध खान पनि पाएको छैन । आमामा पनि संक्रमण भएपछि काखमा रहने अवस्थासमेत रहेन । शिशुको स्याहारसहित उपचार अस्पतालका नर्सहरुले नै गरिरहेका छन् ।

नवजात शिशुसहित जानबहादुर दम्पतीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निःशुल्क उपचार भइरहेको छ । बुढा दम्पतीले खानाको व्यवस्था आफैं गर्नुपर्ने भएपनि उनीहरुका लागि न्युट्रेसन रिह्याबिलिटेसन होममार्फत निःशुल्क खानाको प्रबन्ध अस्पतालले मिलाइदिएको छ । त्यसो त पोखरामा उनका आफन्त नै छैनन्, खाना लगिदिने मान्छेसमेत छैनन् ।

जानबहादुरलाई अहिलेको मात्रै होइन, भोलि अस्पतालबाट डिस्चार्ज भएपछि कोठामा पुग्दा दैनिकी चलाउने चिन्ताले झन् बढी पिरोल्न थालेको छ । अस्पतालबाट फर्किएपछि कोठा भाडा तिर्ने र खानेकुरा जुटाउने कसरी भन्ने नै मुख्य समस्या बन्न थालेको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल बालरोग विभाग प्रमख डा. रामचन्द्र बाँस्तोलाका अनुसार बुढामगरका बच्चाको अवस्था निकै जटिल रहेको छ । उनी भन्छन्, ‘पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोही पनि गरिब बिरामी उपचार नपाएर फर्कनुपर्ने अवस्था हुँदैन् ।’

नेविसंघको पहलमा ३५ हजार सहयोग

नेपाल विद्यार्थी संघ (नेविसंघ) को पहलमा मणिपाल शिक्षण अस्पतालबाट कोभिड–१९ संक्रमण भएको नभन्न भन्दै डिस्चार्ज गरिएका शिशुका लागि सहयोग प्राप्त भएको छ । आर्थिक अवस्था कमजोर भएका उनीहरुका लागि नेविसंघका पूर्व केन्द्रीय सदस्य भानुभक्त ढकालको सक्रियतामा ३० हजार सहयोग प्रदान गरिएको छ ।

समाजसेवी टीकाकुमारी गुरुङले २० हजार र व्यवसायी विश्वराज श्रेष्ठले १० हजार सहयोग गरेको ढकालले जानकारी दिए । ढकाल भन्छन्, ‘कोभिड–१९ संक्रमितको उपचार गर्ने भनिएको मणिपाल शिक्षण अस्पतालले जबरजस्ती नवजात शिशु निकालेको छ । कडा कानुनी कारबाही हुनुपर्छ ।’

कोभिड–१९ को निःशुल्क उपचार गर्ने भनिएपनि मणिपालले बेइमानी गरी दोहोरो शुल्क उठाएको यो घटनाबाट पुष्टि हुने ढकालले जिकीर गरे । मणिपाल अस्पताल प्रशासन भने आफूलाई जानकारी नभएको भनेर उम्किन्छ । यस्तै, पोखरा नयाँ बजारका विजयबहादुर थापाले ५ हजार सहयोग गरेको जानबहादुरले बताए ।

पटक–पटक विवादित भइरहने मणिपाल शिक्षण अस्पतालमा केही समयअघि कोभिड–१९ उपचारमा खटिएका स्वास्थ्यकर्मी आन्दोलित भएका थिए । आन्दोलित स्वास्थ्यकर्मीलाई कारबाही गरेपछि परिस्थिति झन् खराब बनेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ