काठमाडौं-१० जेठमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नेपाली सेनाका अवकाशप्राप्त रथी बालानन्द शर्मा नियुक्त भएका हुन् । कोभिड-१९ व्यवस्थापनका लागि बनाइएको यो उच्चस्तरीय संयन्त्रमा शर्माको भूमिका कार्यकारी हो ।
कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार गठन भएको यो शक्तिशाली निकायका प्रमुखको सेवा सुविधाका विषयमा राजपत्रमा स्पष्ट व्यवस्था गरिएको छ । १० जेठमा प्रकाशित राजपत्रको सूचनाअनुसार शर्माका तलब विशिष्ट श्रेणीकाले पाउने सरह हुने उल्लेख छ ।
विशिष्ट श्रेणीको कर्मचारीको तलब अहिले ६० हजार ६ सय ७५ रुपैयाँ छ । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा २ हजार वृद्धि गरेकाले अब साउनबाट भने ६२ हजार ६ सय ७५ रुपैयाँ हुनेछ । यो विशिष्ट श्रेणी (सचिवसरह)को सुविधाबाहेकको तलबमान हो । यसमा अन्य विविध सेवा सुविधाहरु जोडिने गर्छन् ।
शर्मा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको कोभिड-१९ निर्देशक समितिको सदस्यसचिव हुने व्यवस्था छ । कोभिड-१९ निर्देशक समिति कोभिड-१९ विरुद्ध काम गर्ने सबैभन्दा उच्च संयन्त्र हो ।
शर्मालाई १० जेठमा मन्त्रिपरिषद् बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको प्रमुखमा नियुक्त गरेको थियो । सरकारले त्यसअघि शर्माकै नेतृत्वमा नेशनल डिफेन्स युनिभर्सिटी निर्माणको कार्य अगाडि बढाएको थियो ।
