२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमा तीन प्रमुख विशेषज्ञ पद खाली, यी हुन् सम्भावित दाबेदारहरू

स्वास्थ्यमा तीन प्रमुख विशेषज्ञ पद खाली, यी हुन् सम्भावित दाबेदारहरू


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत खाली रहेका तीन प्रमुख विशेषज्ञ पदका लागि ११ औं तहमा पाँच वर्ष कटेका सहसचिवहरुको लबिङ सुरु भएको छ । स्वास्थ्य सेवा ऐनअनुसार प्राविधिकतर्फको यो पद सरकारी स्वास्थ्यकर्मीको लक्ष्यको पद हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत हाल १२ औं तह (प्रमुख विशेषज्ञ)का लागि चार वटा दरबन्दी रहेका छन् । जसमा हाल एक जना प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंह मन्त्रालयका कार्यरत छन् ।

१२ औं तह रहने दरबन्दीमा स्वास्थ्य मन्त्रालयमा २ वटा, स्वास्थ्य सेवा विभागको महानिर्देशक १ वटा र २१ असारमा मन्त्रिपरिषद्बाट पास भएको वीर अस्पतालको नयाँ दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकारी एक जना रहेको छ । तर, मन्त्रालयमा प्रमुख विशेषज्ञको एक दरबन्दीबाहेक अन्य तीन दरबन्दी खाली छन् । यसअघि तीन प्रमुख विशेषज्ञ रहेकामा १८ साउनमा महेन्द्रप्रसाद श्रेष्ठ अनिवार्य अवकास पाएर घर गइसकेका छन् भने ४ साउनमा डा. रोशन पोखरेल स्वास्थ्य सचिव भइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयको नेतृत्व प्रधानमन्त्रीले आफैले राखेर राज्यमन्त्रीबाट काम चलाइरहेको अवस्थामा १२ औं तहको प्रक्रिया भने सुरु भएको छैन । स्वास्थ्यको महत्वपूर्ण विभाग मानिएको स्वास्थ्य सेवा विभागबाट १२ औं तहका महानिर्देशकलाई मन्त्रालयमा तानेर ११ औं तहका डा. आर.पी. बिच्छालाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको छ । सिनियरलाई पन्छाउँदैं जुनियरलाई जिम्मेवारी दिएपछि स्वास्थ्यका सिनियर सहसचिवहरु रुष्ट छन् । महामारीको समयमा उनीहरुको विज्ञतालाई मन्त्रालयले उपयोग गर्नका लागि पनि १२ औं तहको खाली दरबन्दी तत्काल पूर्ति गर्नुपर्ने दबाब मन्त्रालयमाथि छ ।

१२ औं तहका लागि हाल ११ औं तहको बरियतामा पहिलो नम्बरमा रहेका डा. भीमसिंह तिंकरी, दोस्रो नम्बरमा रहेका डा. गुणराज लोहनी, तेस्रो नम्बरमा रहेका डा. तारा पोखरेल, पाँचौ नम्बरमा रहेका सुनिलराज शर्मा र छैटौ नम्बरमा रहेका डा. कृष्ण पौडेल प्रमुख दाबेदार हुन् । चौथो नम्बरमा रहेका डा. तारा पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा चलाइरहेका कारण उनी तत्काललाई यो रेसबाट बाहिर छन् ।

स्वास्थ्य सेवा ऐनअनुसार १२ औं तहका लागि कुल खाली दरबन्दीको कम्तिमा १.५ प्रतिशत थप उम्मेदवार बढुवा समितिले मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने हुन्छ । यसअघि लामो समय तीन वटा दरबन्दी खाली रहेर सिफारिस गर्दा १.५ प्रतिशतकै आधारमा पाँच जनाको नाम सिफारिस गरिएको थियो । तर, यस पटक कम्तिमा १.५ प्रतिशत उल्लेख भएअनुसार त्यो भन्दा बढीको नाम पनि बढुवा समितिले क्याबिनेटमा सिफारिस गर्न सक्ने देखिन्छ ।

यदि त्यसरी सिफारिस गरेमा बढीमा १ को ३ सिफारिस हुन सक्छ । १ को ३ सिफारिस हुँदा सातौं नम्बरमा रहेका डा. वासुदेव उपाध्याय, आठौं नम्बरमा रहेकी डा. संगीता मिश्रा, नवौं नम्बरमा रहेका डा. श्यामसुन्दर यादव र दशौं नम्बरमा रहेका डा. श्रीकृष्ण श्रेष्ठको नाम सिफारिसमा पर्न सक्छ । सिफारिस भएकामध्येबाट मन्त्रिपरिषद्ले जसलाई पनि १२ औं तहमा बढुवा गर्न सक्ने यसअघिको नजिर रहेको छ ।

स्वास्थ्य मन्त्रालयले १२ औं तहका लागि प्रक्रिया सुरु नगरेको स्वास्थ्य सचिव डा. रोशन पोखरेल बताउँछन् । ‘अहिले १२ औं तह बढुवाको प्रक्रिया सुरु भएको छैन,’ उनले भने, ‘अब चाडै नै हामी प्रक्रिया अगाडि बढाउँछौं ।’

फागुनसम्म नभएर प्रमुख दाबेदर घर जाने

अघिल्ला सरकारजस्तै यो सरकारले पनि १२ औं तहको प्रक्रिया समयमै अगाडि नबढाएमा प्रमुख दाबेदारहरुमध्येबाटै केही ११ औं तहबाटै अनिवार्य अवकास पाएर घर जानेछन् । आगामी फागुनसम्म १२ औं तहको प्रक्रिया अगाडि नबढे बरियतामा पहिलो नम्बरमा रहेका डा. तिंकरी र तीन नम्बरमा रहेका डा. पोखरेल बाहिरिन्छन् ।

उनीहरु बाहिरिए बरियतामा डा. गुणराज लोहनी पहिलो नम्बरमा हुनेछन् । सुनिलराज शर्मा दोस्रो नम्बरमा, डा. कृष्ण पौडेल तीन नम्बरमा, डा. वासुदेव उपाध्याय चौथो नम्बरमा र डा. संगीता मिश्रा पाँचौ नम्बरमा आइपुग्छन् । तर, डा. संगीता १२ औं तहमा तत्काल जाँदा उनको सेवा अवधि कम हुने हुँदा उनले त्यो विकल्प नरोज्न सक्छिन् । उनी स्वास्थ्य सेवामा प्रवेश गरेको भर्खर ७ वर्ष मात्र भएको हुँदा १२ औं तह पाँच वर्ष पूरा गर्दा पनि पेन्सन पाउँदिनन् ।

यो पनि पढ्नुस

स्वास्थ्यका ४० वर्षमुनिका १० सहसचिव, जसले कम उमेरमै पाए लोभलाग्दो सफलता


क्याटेगोरी : समाचार
ट्याग : #डा. गुणराज लोहनी, #डा. तारा पोखरेल, #डा. दीपेन्द्ररमण सिंह, #डा. भीमसिंह तिंकरी, #डा. रोशन पोखरेल, #डा. श्यामसुन्दर यादव, #डा. श्रीकृष्ण श्रेष्ठ, #डा. संगीता मिश्रा, #डा.कृष्ण पौडेल, #प्रमुख विशेषज्ञ, #सुनिलराज शर्मा, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ