काठमाडौं–त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको महाराजगन्ज मेडिकल कलेजमा पढ्ने दुई विद्यार्थीमाथि कुटपिट भएको भन्दैं प्रहरीमा उजुरी परेको छ ।
महाराजगन्ज क्याम्पसमा विपर्फयुजन टेक्नोलोजी दोस्रो वर्षमा अध्ययनरत वीरेन्द्र कुँवर र एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत सागर खडकाले आफूहरुमाथि कुटपिट भएको भन्दै महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएका छन् । कुटपिटबाट कुँवरको हातमा चोट लागेको छ । चिकित्सकले त्यसलाई शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका छन् ।
उनीहरुले शुक्रबार साँझ आफूहरु लाइव्रेरीमा पढेर फर्कने क्रममा सोही क्याम्पसका सुलभ आचार्य, रमेश बलायर, सुमित बोहोरालगायत समूहले आफूहरुमाथि कुटपिट गरेको आरोप लगाएका छन् ।
विद्यार्थीहरुबीच कुटपिट भएको विषयमा सहायक क्याम्पस चिफ सुनिति रावल जोशीसँग कुरा गर्दा विद्यार्थीबीच झगडा भएको भएपनि क्याम्पस प्रशासनले केही नगरेको बताइन् । ‘हिजो झगडा भएको हो,’ उनले हेल्थ आवाजसँग भनिन्, ‘कुटाइ खानेले गुनासो गरेका छन् । स्वभाविक हो । आज विदा भएको हुँदा केही पनि गरिएन ।’ उनले कुटपिटबाट घाइते भएका विद्यार्थीलाई इमर्जेन्सीमा लगेर उपचार गर्न भनेको बताइन् ।
महाराजगञ्ज क्याम्पस स्रोतका अनुसार महाराजगञ्ज क्याम्पसमा बनेको नयाँ होस्टेलका विषयमा विद्यार्थीहरुबीच लामो समयदेखि विवाद हुँदै आएको छ । नयाँ होस्टलमा बनिसकेतापनि क्याम्पस प्रशासनले औपचारिक रुपमा विद्यार्थी राखेको छैन । अघि होस्टल बस्न नाम निस्किएका विद्यार्थीले केही समय अघिबाट नयाँ होस्टलमा बस्न थालेपछि विद्यार्थीहरुवीच विवाद बढेको थियो ।
सो विवाद समाधान गर्न सहायक क्याम्पस चिफले सर्वपक्षीय बैठक राखी पुनः नाम निकाल्ने र जसको नाम निस्कन्छ त्यो मात्र नयाँ होस्टलमा बस्ने, अन्यले छोड्नुपर्ने सहमति भएको थियो । तर, नयाँ सूची ननिस्कदै शुक्रबार विद्यार्थीहरुबीच कुटाकुट भएको छ ।