२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचाररगतको रिपोर्ट र अपनाउनुपर्ने सावधानीहरुः ल्याबको रिपोर्ट गल्ती नहुन सक्छ

रगतको रिपोर्ट र अपनाउनुपर्ने सावधानीहरुः ल्याबको रिपोर्ट गल्ती नहुन सक्छ


आफू बिरामी पर्दा मात्र नभई आजकल आफू स्वस्थ छु भन्ने प्रमाणका रुपमा गरिने विभिन्न किसिमका जाँचहरु, जाँचहरुको संगालोजस्तै होल बडी चेक, वेलनेस इत्यादि गरिन्छ । एक प्रकारबाट यो जागरण आउने साह्रै सह्रानीय छ । रगतको जाँचबाट नै आफ्नो शरीरमा हुने/भैरहेको रसायनिक तथा हर्मोनका साथै क्यान्सरसँग सम्बन्धित जाँचहरु पनि गर्न सकिन्छ ।

प्याथोलोजी विषय पनि समायानुकूल परिमार्जन हुँदै आइरहेको कुरा सर्वविदितै नै छ । म सानो छँदा ‘दिशा पिसाबको’ जाँचले प्याथालोजीलाई चिनाउँथ्यो भने आज मोलिकुलरलगायतका विभिन्न विधाहरुमा प्याथोलोजी फैलिसकेको छ । म एउटा रगतको (अधिकांश) जाँच गर्ने प्रयोगशालामा कार्यरत रहेको हुँदा दिनहुँजस्तो केही न केही सुझाव/गुनासा तथा फरक प्रकृतिका रिपोर्टहरुसँग साक्षात्कार हुने अवसर पाएको छु ।

प्याथोलोजी विषयको अपरिहार्यता यति छ कि मानिस जन्मनुपूर्वदेखि अकाल मृत्युको कारण खोज्न पनि प्याथोलोजी चाहिन्छ । यति धेरै आवश्यकता हुँदा पनि प्याथोलोजी विषयले त्यति धेरै महत्व पाएको देखिदैंन् । अधिकांश रोगहरुको पहिचान, निदान, उपचार र उपचारपछिको निगरानीको लागि पनि प्याथोलोजी चाहिन्छ ।

किन ल्याबअनुसार फरक रिपोर्ट आउँछ र सबै रिपोर्टहरु गल्ती नहुन पनि सक्छन् भन्ने बुझ्न जरुरी छ ।

चिकित्साशास्त्रको विद्यार्थी रहँदा हामीलाई भन्ने गरिन्थ्यो, ‘बिरामीको उपचार गर, रिपोर्टको होइन्’ जसको तात्पर्य म अहिले आएर बुझ्दैंछु । रिपोर्टलाई बिरामीको लक्षणसँग मिलाएर हेर्नु जरुरी हुन्छ । विभिन्न रोगहरुको पहिचानका लागि गरिने जाँचहरुको लागि आफू पनि सावधान हुनु जरुरी छ । किन ल्याबमा रगत, दिशा, पिसा, खकार इत्यादि दिनुपूर्व जानकारी लिन जरुरी छ भन्ने कुरा महत्वपूर्ण छ ।

मेरो अनुभवमा प्रयोगशालामा जानुपूर्व केही सावधानीहरु पनि अपनाउनुपर्ने हुन्छ । साथै, रिपोर्टलाई रोगको लक्षणका साथै बिरामीको स्वास्थ्य अवस्थाको आधारमा विश्लेषण गर्नुपर्छ । कैयन अवस्थाहरुमा रिपोर्ट फरक पर्न जान सक्छ, मैले केही उदाहरणहरु प्रस्तुत गरेको छु ।

  • रगत दिने समयअनुसार रिपोर्टमा पर्न सक्ने असर जस्तैः हर्मोनको लागि दिइने रगत संकलनको समय
  • रगत दिँदाको शारीरिक एवं मानसिक अवस्थाको उपज
  • रगत दिँदा कुनै औषधी, भिटामिन वा कुनै स्वास्थ्यवर्द्धक तत्वहरुको सेवन गरेको अवस्था
  • बालबालिका तथा वृद्धावस्थामा गरिने जाँचहरु तथा जाँचहरुको सान्दर्भिक सिमा फरक हुन्छ । कुनै जाँचको रिपोर्ट धेरै वा थोरै आएको खण्डमा सामान्य शारीरिक अवस्थाको कारण पनि हुन सक्छ ।
  • खाना वा अम्मलले पर्न सक्ने प्रभावका कारण
  • लामो समयसम्म यदि आयुर्वेदिक औषधीहरु (जसमा सिसा भन्ने तत्वको मात्रा बढी छ त्यस्तो) को प्रयोग भएको अवस्था
  • सामान्य अवस्थामा गरिएको जाँचभन्दा गर्भवती अवस्थामा गरिने जाँचमा हुने परिवर्तन
  • वायोस्पी (मासुको जाँच) पनि एकै ठाउँमो नपठाएर विभिन्न ठाउँमा पठाइएको अवस्थामा
  • दिशामा (लुकेको रगतको कणहरुको जाँच जसले ठूलो आन्द्रामा समस्या देखाउन सक्छ) त्यसको जाँच पूर्व सेव नगरिएको मासु, मुला, काउली, कागती, पेन किलरको असर
  • ल्याबमा हुन सक्ने गल्ती जस्तैः नमुना संकलन गर्ने बेला हुने गल्तीका कारण
  • रगतको नमुना संकलन गरिएको तर उचित तापक्रम । उचित ट्युबमा संकलन नगरिएको खण्डमा
  • मेसिनमा हुने गडबडीका कारण आउन सक्ने रिपोर्ट । क्वालिटी कन्ट्रोल बिना गरिएका जाँचहरु
  • सम्पूर्ण कुराहरु (रगतको संकलन, तापक्रम, क्वालिटी कन्ट्रोल इत्यादि सही हुँदा पनि) हुने ‘अनियमित त्रुटि’का कारण
  • एक जनाको रिपोर्ट अर्कोलाई दिइएको खण्डमा । रिपोर्ट तयार भइसकेपछि रिपोर्ट कम्प्युटरमा चढाउने बेलामा वा हातले सार्ने क्रममा हुने गल्तीका कारण

अन्त्यमा, सबै ल्याबको उद्देश्य भनेको सही रिपोर्ट दिएर बिरामीको रोग पत्ता लगाई उपचारमा मद्धत गर्नु वा साधारण अवस्थामा गरिएको जाँचको सोहीअनुरुप नै रिपोर्ट उत्पादन गर्नु हो । प्याथोलोजिष्ट, चिकित्सक एवं बिरामी बीचको सौहार्दपूर्ण वातावरण भइ बिरामीको स्वास्थ्य अवस्थाको आधारमा विश्लेषण हुनु जरुरी छ । म ल्याबमा काम गर्ने चिकित्सकको नाताले भन्न चाहन्छु—‘ल्याबको रिपोर्ट गल्ती नहुन पनि सक्छ ।

(डा. प्याकुरेल सम्यक डाइग्नोष्टिकमा कार्यरत छन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ