२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमिर्गौला पीडितका दुःख : डेराभाडा तिर्ने पैसा नभएपछि एक महिनादेखि वीर अस्पतालमै बास  

मिर्गौला पीडितका दुःख : डेराभाडा तिर्ने पैसा नभएपछि एक महिनादेखि वीर अस्पतालमै बास  

चिसो बढेको छ अस्पतालको भुईँ बाट चिसो लागे पनि दिउँसो अस्पताल बाहिर घाम तापेर बस्छु । श्रीमतीको स्वास्थ्य सुधार भैरहेको देख्दा रातीको चिसो दिउँसोको घामले बिर्सँदै जान्छु । 


काठमाडौँ – वीर अस्पतालको बेड नम्बर ३४ मा लम्पसार परिरहेकी ४५ वर्षीय कल्पना श्रेष्ठ । बेड नम्बरको छेउको सानो टेबलमा कल्पनालाई हेर्दे बसिरहेका छन् ५० वर्षीय  भोज बहादुर श्रेष्ठ (कल्पनाका श्रीमान् ) । वीर अस्पतालले उनीहरूलाई एक महिना देखि खानलाई खाना र बस्नलाई छानो दिएको छ । अस्पतालले पटक पटक घर जान डिस्चार्ज दिए तापनि उनीहरूले बेड नम्बर ३४ छोड्न सकिरहेका छैनन् ।

सिन्धुली गोलन्जोर गाउँपालिका २ घर भएका भोज बहादुर श्रेष्ठ र कल्पना श्रेष्ठ पुस ११ देखी वीर अस्पतालको बेड नम्बर ३४ मा बस्दै आइरहेका छन् । कल्पनालाई असार महिनाबाट हातखुट्टा सुनिने समस्या देखिएको थियो । उनको परिवार  सामान्य खेतीपातीमा निर्भर छ । आर्थिक अवस्था कमजोर भएकै कारण कल्पनाले आफ्नो रोगलाई लुकाउँदै आइरहेकी थिइन् । कल्पनाको जिउँ पुरै सुन्निन थालेपछि, भदौ महिनामा छिमेकबाट पैसा सापटी लिई भोजले कल्पनालाई  खुरकोट सुनकोसी सामुदायिक अस्पताल ल्याए ।

तस्विरः नवराज वाग्ले/हेल्थआवाज

खुरकोट सुनकोसी सामुदायिक अस्पतालमा चिकित्सकले कल्पनालाई मिर्गौलामा समस्या भएको बताए । यहाँ उपचार सम्भव नहुने हुँदा काठमाडौँ लैजान सल्लाह दिए । सामुदायिक अस्पतालसम्म पुर्‍याउन पनि पैसा नभएको कारण महिनौँ घरमै बसेका उनीहरूले त्यति नै बेला काठमाडौँ आउने आँट गरेनन् । तर श्रीमतीलाई दिनहुँ रोगले  छटपटाइरहेको देख्दा उनको मन कटक्क खान्थ्यो । साथीभाइ सँग सापटी मागेर ४० हजार रुपैयाँ जम्मा गरे । सापटी रकम ४० हजार जम्मा गर्न मात्रै उनले ३ महिना लगाएका थिए । त्यसपछि मङ्सिर १४ गते उनीहरू काठमाडौँको वीर अस्पतालमा आए ।  यहाँ जाँच गराउँदा उनको श्रीमतीको दुवै मिर्गौला खराब भैसकेको रहेछ । अस्पतालका डाक्टरले उनलाई डायलिसिस गराउनु पर्ने सल्लाह दिए ।  त्यसपछि उनले वीर अस्पताल आउन जान सजिलो पर्ने गरी कोठा खोज्नु पर्ने देखियो ।

भोजराज काठमाडौँको संखमुलमा बस्ने आफन्तको कोठामा बस्न थाले । त्यसपछि प्रत्येक तीन दिनमा कल्पना संखमुलबाट वीर अस्पतालमा डायलिसिस गराउँदै आइरहेकी थिइन् । त्यो कुरा आफन्तका घर धनीले थाहा पाएपछि आफन्तले असहज महसुस गर्न थाले ।
श्रीमतीलाई लिएर घरबाट प्रत्येक तीन दिनमा डायलिसिसको लागी काठमाडौँ धाउन सम्भव पनि थिएन र उनी सँग पैसा पनि थिएन । डायलिसिस नगरे उनको श्रीमतीको ज्यान जाने निश्चित छ । श्रीमतीको ज्यान बचाउनको लागी अस्पतालबाट घर ल्याउनै चाहँदैन थिए उनी । काठमाडौँमा बस्न बास छैन घर लगे श्रीमतीको ज्यान जाने निश्चित छ यही सोचेर उनले वीरका चिकित्सकहरूलाई आफ्नो पुरै नालीबेली सुनाए । अस्पतालले उनीहरूको समस्या बुझ्दै बेड छोड्न कर गरेनन् । त्यसपछि उनीहरू अस्पतालमै आफ्नो डेरा गर्न थालेका हुन्  ।

भोज र कल्पनाको अवस्थाबारे वीर अस्पतालकी एन एफ इन्चार्ज  ईश्वरी श्रेष्ठ  भन्छिन्, एक छाक खान र बास बस्न पैसा जुटाउन गाह्रो भएका उनीहरूले अस्पतालको बिल कसरी तिर्न सक्थे उनीहरूको अवस्था देखेर अस्पतालबाट औषधीमा ५० प्रतिशत जति छुट दिइएको छ । डायलिसिस अस्पतालबाटै हुने गरेको छ  । अस्पतालबाट डिस्चार्ज भएपछि घर जानुपर्छ घर लगे अस्पताल सम्म ल्याउन समस्या हुने हुँदा हामीले अहिले अस्पतालमै बस्न दिएका छौँ  । उनीहरूको दुवै जनाको  खाना पनि अस्पतालले नै व्यवस्था गरिदिएको छ ।

उनले साथीभाइबाट मागेको ४० हजार रुपैयाँ अहिले सकिने अवस्थामा छ । परिवारमा उनका कक्षा १२ मा पढ्ने छोरा छन् । श्रीमतीलाई कुर्ने मान्छे भएको भए म केही ज्याला काम गन बाहिर जान्थेँ ,भोजले भने, । बाहिर बाट औषधी किन्न कहिले एक हजार पर्छ भने ,कहिले ५,६ यस रुपैयाँ पर्ने गर्दछ । ऋण कसरी तिर्ने भन्दा पनि अहिले श्रीमतीको उपचार खर्च जुटाउन केही काम गर्न जान पाए हुन्थ्यो उनले भने ।

डायलिसिस गराए यता बिस्तारै श्रीमतीको स्वास्थ्यमा निकै सुधार आएको उनी बताउँछन् । उनी भन्छन् सुरुमा त बोल्नै नसक्ने, खान मन नगर्ने अवस्था थियो । अहिले बोल्न पनि सक्छिन् । खाना पनि खान मन गर्छिन् । वीर अस्पतालले बस्नलाई छानो र छाक टार्नलाई खाना दिएको छ । चिसो बढेको छ अस्पतालको भुईँ बाट चिसो लागे पनि दिउँसो अस्पताल बाहिर घाम तापेर बस्छु । श्रीमतीको स्वास्थ्य सुधार भैरहेको देख्दा रातीको चिसो दिउँसोको घामले बिर्सँदै जान्छु ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ