२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपैसा अभावमा एक महिनादेखि वीर अस्पतालमै आश्रय लिइरहेका भोजबहादुर दम्पत्तिको उद्धार

पैसा अभावमा एक महिनादेखि वीर अस्पतालमै आश्रय लिइरहेका भोजबहादुर दम्पत्तिको उद्धार


काठमाडौं—डेरा भाडा तिर्ने पैसा नभएपछि महिनौदेखि वीर अस्पतालमै आश्रय लिएर बिरामी श्रीमती ४५ वर्षीया कल्पना श्रेष्ठको मिर्गौलाको उपचार गर्दै आइरहेका भोजबहादुर श्रेष्ठ दम्पत्तिको उद्धार भएको छ । ६ माघमा हेल्थआवाज डटकममा उनको अस्पताल वासको समाचार प्रकाशित भएपछि उनलाई रानीवनस्थित मानवसेवा आश्रमले उद्धार गरेको हो ।

डेरामा बस्ने पैसा अभावका कारण अस्पतालले पटक—पटक मिर्गौला रोगले थलिएकी श्रीमती कल्पनालाई डिस्चार्ज गर्दा पनि उनी अस्पताल छाडेर जान सकेका थिएनन् । ‘अस्पतालको चिसा रातहरूमा श्रीमतीको श्वास जोगाउन बेड नम्बर ३७ छोड्न सकिरहेको थिएन । एक सर्को मैलो लुगा र प्वाँल परेको जुत्तामा बसिरहेको थिए,’ उनले भने, ‘मैले एकाएक बस्नलाई वास र लगाउनलाई नयाँ लुगा पाउँदा एकछिनका लागि सबै सपनाझैं लाग्यो,’ भोजबहादुर भने ।

अस्पतालमा थुप्रै बिरामी आउने जाने भएको हुँदा उनीहरुको पारिवारिक अवस्थाबारे धेरै थाहा हुँदैन् । ‘तर, भोजबहादुर बस्ने ठाउँ नभएर अस्पतालमै बसिरहेको अवस्थाबारे एनएफ विभागमा जानकारी थियो,’ वीर अस्पतालकी एनएफ इञ्चार्ज ईश्वरी श्रेष्ठले भनिन्, ‘उनीहरुको अवस्था बुझेर नै अस्पतालले बस्ने व्यवस्था मिलाइएको थियो ।’

माघ ६ मा हेल्थअवाज डटकममा ‘मिर्गौला पीडितका दुःख : डेराभाडा तिर्ने पैसा नभएपछि एक महिनादेखि वीर अस्पतालमै वास’ शीर्षकमा भोजबहादुरको समाचार प्रकाशित भएको थियो । उक्त समाचार प्रकाशित भएपछि भोजबहादुरको अवस्थाबारे अस्पताल र बाहिर सन्देश प्रवाहित भयो ।

त्यसपछि तुरुन्तै भोजबहादुर र मिर्गौला पीडित उनकी श्रीमती कल्पनाको उचित व्यस्थापनको लागि अस्पताल प्रशासनले समेत पहल सुरु गर्‍यो । यसरी अस्पतालको बेड लामो समयसम्म एउटै बिरामीलाई अस्पतालले दिइरहँदा अन्य बिरामीले आवश्यक परेकाले सेवा नपाउने हुन कि भन्ने प्रश्न एकातिर खडा भयो भने अर्कोतिर उनीहरुको उचित व्यवस्थापनको दबाब पनि प्रशासनमाथि पर्‍यो । त्यसपछि अस्पतालले मानवसेवा आश्रममा सम्पर्क गरी उनीहरुको व्यस्थापन गरिदिन आग्रह गर्‍यो ।

अस्पतालको आग्रहलाई रानीवनस्थित मानव सेवा आश्रममा स्वीकार गर्दै भोजबहादुर र उनकी श्रीमती कल्पनालाई उद्धार गर्‍यो । अहिले उनीहरु दुवैजना मानव सेवा आश्रममा बस्दैं आएका छन् । त्यही मानव सेवा आश्रमबाटै उनी श्रीमतीको मिर्गौलाको डाइलाइसिस गर्न हप्ताको दुई दिन वीर अस्पताल पुग्ने गरेका छन् ।

उनको अस्पताल आउने जाने गाडी भाडा पनि एक जना मनकारी डाक्टरले गरिदिएका छन् । ‘१० माघमा मेरो खातामा उहाँ (नाम खुलाउन नचाहने डाक्टर) साबले २० हजार रुपैयाँ हालिदिनुभएको छ,’ भोजबहादुर भन्छन्, ‘अहिले डाक्टर साबले दिएको त्यही पैसा चलाइरहेको छु ।’ अहिले श्रीमतीको स्वास्थ्यमा पहिलेभन्दा निकै सुधार आइरहेको उनले सुनाए ।

सिन्धुली गोलन्जोर गाउँपालिका—२ का भोजबहादुर १४ मंसिरमा बिरामी श्रीमतीको उपचार गर्न वीर अस्पताल पुगेका थिए । एकजना आफन्तको डेरामा बसेर वीरमा श्रीमतीको उपचार गराइरहेका उनले त्यहाँ घरबेटीले गुनासो गरेका कारण बस्न सकेनन् । त्यसपछि ११ पुसमा श्रीमतीलाई अस्पतालले डिस्चार्ज गर्दा पनि डेराभाडा अभावमा उनी अस्पतालकै बेडमा बसिरहेका थिए । भोजबहादुरको उक्त दुःखबारे हेल्थआवाजले ६ माघमा समाचार प्रकाशित गरेको थियो ।

यो पनि पढ्नुस् 

मिर्गौला पीडितका दुःख : डेराभाडा तिर्ने पैसा नभएपछि एक महिनादेखि वीर अस्पतालमै वास  


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ