२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रपति रामचन्द्र पौडेल ११ दिनपछि अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनपछि अस्पतालबाट डिस्चार्ज


काठमाडौं—राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । बुधबार त्रिवि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा ११ दिन उपचारपछि राष्ट्रपति डिस्चार्ज भएका हुन् ।

सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले राष्ट्रपतिको पूर्ण स्वास्थ्य लाभपछि बुधबार अपरान्ह डिस्चार्ज गरिएको जानकारी दिए । ‘सम्माननीय राष्ट्रपतिज्यूलाई हामीले दिउँसो ४ बजेतिर डिस्चार्ज गरेका छौं,’ उनले भने, ‘उहाँ पूर्णतयाः स्वस्थ भएर निवास फर्किनुभएको छ ।’

मुटुमा समस्या देखिएपछि २ असारमा राष्ट्रपति पौडेल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । त्यसपछि चिकित्सकहरुले उनको मुटुको चालको ७२ घण्टा इसिजी मनिटरिङ गरेका थिए ।

इसिजी मनिटरिङमा मुटुको चाल कम पाइएपछि चिकित्सकहरुले राष्ट्रपतिको मुटुमा पेशमेकर राख्ने निर्णय गरेका थिए । ५ असारमा चिकित्सकहरुले राष्ट्रपति पौडेलको मुटुमा पेशमेकर राखेका थिए ।

डा. गजुरेलले अहिले राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको र हिडडुल गर्न सक्ने अवस्थामा रहेको जानकारी दिए ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ