२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीरको भीभीआईपी ३५ वर्ष र भीआईपी ५ महिनादेखि रित्तै, मन्त्रीको प्रचारमोहमा थपिए तीन क्याबिन

वीरको भीभीआईपी ३५ वर्ष र भीआईपी ५ महिनादेखि रित्तै, मन्त्रीको प्रचारमोहमा थपिए तीन क्याबिन


काठमाडौं–स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा थप २ विशिष्ट तथा अति विशिष्टहरु उपचारका लागि थप एक कक्ष उद्घाटन गरे । मंगलबार उनले सो कक्ष उद्घाटन गर्दैगर्दा सगौरव भने, ‘मेरै निर्देशनपछि यो थप गरिएको हो । अब विशिष्ट र अति विशिष्ट व्यक्तिहरुको उपचार नेपालमै हुनेछ ।’

मन्त्री बस्नेतले वीर अस्पतालको सर्जिकल भवनमा उभिएर यसो भनिरहँदा ५० मिटर पश्चिममा रहेको वीर अस्पतालका पूराना भीभीआईपी र भीआईपी कक्षले उनलाई नै गिज्याइरहेका थिए ।

वीर अस्पतालमा यसअघि नै एक अति सुविधासम्पन्न भीभीआईपी कक्ष र भीआईपी कक्ष छन् । यो भीभीआईपी कक्षमा ३५ वर्षदेखि एक जना पनि उपचारका लागि भर्ना भएका छैनन् । त्यसो त सँगै रहेको भीआईपी कक्षमा पनि पछिल्लो ५ महिनादेखि १ जना पनि भर्ना नभएको अस्पतालको अभिलेखमा उल्लेख छ । जसमा ५ महिनाअघि तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङ भर्ना भएका थिए ।

मन्त्री बस्नेतको प्रचारमा रमाउने शैलीका कारण अब वीर अस्पतालको सर्जिकल भवनका तीन क्याबिन पनि पूराना भीभीआईपी र भीआईपी क्याबिन जस्तै रित्तै रहने वीरका एक कर्मचारी बताउँछन् । ‘पुरानै क्याबिन ढुसी परिरहेका छन्, अब यी थप क्याबिनमा पनि ढुसी पर्ने भए,’ उनी भन्छन्, ‘कम्तिमा नियमित क्याबिन चलाएको भए अलिकति भएपनि वीर अस्पतालको आम्दानी बढ्थ्यो ।’

भीआईपी र भीभीआईपी क्याविन थप गर्ने विषय चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका उपकुलपति प्रा.डा. भुपेन्द्र बस्नेत मन्त्रीले संसदमा नै अति विशिष्ट र विशिष्ट व्यक्तिहरुको उपचार नेपालमा नै गर्ने व्यवस्था गर्ने भनी गरेको प्रतिवद्धताअनुसार तय गरिएको बताउँछन् ।

‘मन्त्रीज्यूले संसदमा भनेको कुरालाई लागु गर्ने प्रक्रियामा यो तोकिएको हो,’ उनले भने ‘भवन बनाउँदा पनि भीभीआईपी र भीआईपी उपचारका लागि क्याबिन बनाउने भनेर डिजाइन गरिएको थियो ।’ डा. बस्नेत लामो समयदेखि विद्यमान भीभीआईपी क्याबिन प्रयोग नभएतापनि भीआईपी क्याबिन भने प्रयोग भइरहेको दावी गर्छन् ।

नयाँ भीभीआईपी र भीआईपी क्याबिन प्रयोगका लागि सरकारले तय गर्ने नीतिमा पनि भर पर्ने उनको भनाइ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ