२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकी प्रदेशकी स्वास्थ्यमन्त्री भन्छिन्, ‘रिफर गर्नुपर्ने बिरामीको संख्या घटाउनुस्’

गण्डकी प्रदेशकी स्वास्थ्यमन्त्री भन्छिन्, ‘रिफर गर्नुपर्ने बिरामीको संख्या घटाउनुस्’


पोखरा—गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले स्वास्थ्य क्षेत्र सुधारका लागि कुनै कसर बाँकी नराख्ने बताएकी छन् । शनिबार मन्त्रालयले आयोजना गरेको प्रदेशस्तरीय स्वास्थ्य कार्यालयहरुको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशबाट नै सकेसम्म धेरै सेवा निःशुल्क दिने योजना अगाडि बढाइने बताइन् ।

मन्त्री सिम्खडाले रिफर गर्नुपर्ने बिरामीको चाप घटाउने गरेर काम गर्नसमेत निर्देशन दिएकी छन् । जिल्ला अस्पतालबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गर्ने र गण्डकी प्रदेशभन्दा बाहिरका अस्पतलमा रिफर गर्दा बिरामीलाई समस्या हुने भन्दै सकेसम्म धेरै रोगको उपचार जिल्ला अस्पतालहरुमै गर्न निर्देशन दिएकी हुन् ।

उनले आयुर्वेद औषाधालयलाई सँगसँगै विकास गरेर काम गर्ने योजना सुनाइन । गण्डकी प्रदेशका बिरामीलाई जस्तोसुकै रोगलाई पनि गण्डकी प्रदेशभित्र नै उपचार गर्ने वातावरण बनाउने योजना मन्त्री सिम्खडाले सुनाइन् । उनले एनजीओसँग सहकार्य गर्ने कार्यक्रम मन्त्रीलाई सोधेर मात्र अघि बढ्नुपर्नेलगायतका निर्देशन दिइन् ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य सुवास अधिकारीले गण्डकी प्रदेश सरकारले सुरु गरेको पारिवारिक स्वास्थ्य प्रोफाइल योजना तीव्र रुपमा अघि बढाउनुपर्ने जानकारी दिए । उनले जनताको स्वास्थ्य उपचारको लागि कम खर्च हुने योजना अघि बढाउन अनुरोध गरे ।

संक्रमण तथा सरुवा रोग अस्पतालका निर्देशक डा. विकास गौचनले संक्रमण तथा सरुवा रोग अस्पतालले अहिलेसम्म उल्लेखनीय काम गरेको बताए । अहिले पनि गण्डकी अस्पतालमा अन्य अस्पतालमा नपाइने तर संक्रामण रोग तथा कोभिड १९ विरुद्धको खोप निरन्तर दिएको बताए । ५० शैय्याको अस्पतालमा विभिन्न सरुवा रोग, आँखाको प्रथामिक उपचार र इमर्जेन्सी सेवा २४ घण्टा नै सुचारु गरेको उनले सुनाए ।
गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश क्षयरोग उपचार केन्द्र, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय आपूर्ति व्यवस्थापन केन्द्रलगायतका संस्थाले समीक्षामा प्रगति विवरण र आगामी वर्षको योजना पनि सुनाएका थिए ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ