२०८० फागुन १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचापाकोटका सिनियर अहेव कोइरालाविरुद्ध ९० लाख भ्रष्टाचार गरेको आरोप

चापाकोटका सिनियर अहेव कोइरालाविरुद्ध ९० लाख भ्रष्टाचार गरेको आरोप


काठमाडौं–स्याङ्जाका चापाकोट नगर कार्यपालिकाका सिनियर अहेव बिन्दु कोइरालाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लागेको छ । गत शुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक विज्ञप्ति जारी गरी सार्वजनिक सेवाको पदमा रहेका कोइरालाले आफ्नो पदको दुरुपयोग गरी गैरकानुनी रुपमा श्रोत नखुल्ने सम्पत्ति आर्जन गरेको भन्दै उनी विरुद्ध विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको  जनाएको हो ।

सार्वजनिक सेवामा रहँदा करिब २० वर्षको अवधिमा कोइरालाले आर्जन गरेको सम्पत्तिमध्ये नब्बे लाख उनन्चालीस हजार रुपैयाँ बढीको सम्पत्तिको स्रोत नखुलेको अख्तियारले जनाएको छ ।

गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएकाले कोइरालाविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी आरोप–पत्र दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

उनी २०५४ साल कार्तिक ५ मा सरकारी सेवामा प्रवेश गरेका थिए । सार्वजनिक नियुक्ति पाएको मितिदेखि २०७८।०८।२१ गतेसम्मको जाँच अवधिमा २ करोड ९७ लाख ८१ हजार ८०२ रुपैयाँ आर्जन गरेको र सोही अवधिमा ३ करोड ८८ लाख २१ हजार ४२२ रुपैयाँ खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

जागिर अवधिमा कोइरालाले खर्च, लगानी तथा सम्पत्ति आर्जनमा ९० लाख ३९ हजार ६२० रुपैयाँको स्रोत नखुलेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

कोइरालालाई सोही रकम बराबर बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा ९२० बमोजिम कैद सजाय हुन र स्रोत नखुलेको सम्पत्तिबाट जफत,असुल गर्न माग दाबी गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ