२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल रेमेडिजमा भित्रियो नयाँ व्यवस्थापन, डेढ वर्षभित्र १५० प्रडक्ट पुर्‍याउने लक्ष्य

नेपाल रेमेडिजमा भित्रियो नयाँ व्यवस्थापन, डेढ वर्षभित्र १५० प्रडक्ट पुर्‍याउने लक्ष्य


काठमाडौं—स्वदेशी बजारमा हर्मोनल औषधीमा उत्पादनमा एक्लो मानिएको नेपाल रेमेडिज प्रा.लि. मा नयाँ व्यवस्थापन भित्रिएको छ । गत साउनबाट विभिन्न सेक्टरमा लगानी गर्दै आएको नेक्स्ट होल्डिङले नेपाल रेमेडिजको बहुमत सेयरसहित व्यवस्थापन सम्हालेको हो ।

‘साउन पहिलो सातादेखि हामीले कम्पनी टेकओभर गरेका हौं,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अविरल नेपालले भने, ‘हामीले नेक्स्ट होल्डिङको ग्रुप अफ कम्पनीजका रुपमा यसको बहुमत सेयरसहित स्वामित्व लिएका हौं ।’ नेक्स्ट भेन्चर्सले झण्डै ७५ प्रतिशत सेयर किनेर कम्पनी व्यवस्थापन सम्हालेको हो । त्यसबाहेक बाँकी २५ प्रतिशत सेयर भने पुराना लगानीकर्ताहरुकै छ ।

नेक्स्ट होल्डिङले लगानी क्षेत्र विस्तार गर्ने क्रममा फर्मालाई हेरिरहेको थियो । नेपाल रेमेडिजलगायतका फर्मा कम्पनीहरुसँग छलफलपछि हर्मोनल क्षेत्रमा राम्रो गरिरहेकाले रुपन्देहीमा फ्याक्टी रहेको नेपाल रेमेडिज आफूहरुको रोजाइमा परेको नेपाल बताउँछन् ।

‘स्वदेशी बजारको झण्डै ५० प्रतिशत औषधीको हिस्सा नेपाली कम्पनीहरुले उत्पादन गर्न थालिसके,’ उनले भने, ‘नेपाल रेमेडिज हर्मोनल प्रडक्टको सबैभन्दा ठूलो कम्पनी हो । त्यही कारण हाम्रो प्रतिस्पर्धा पनि विदेशी कम्पनीसँग हुने भयो ।’ हर्मोनल प्रडक्टमा अझ धेरै गर्न सकिने भएकाले पनि आफूहरुको रोजाइमा नेपाल रेमेडिज परेको उनले जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृत अविरल नेपाल । तस्विरः नवराज वाग्ले/हेल्थआवाज

नेपाल रेमेडिज प्रा.लि.का ५० भन्दा बढी उत्पादनहरु बजारमा छन् । जसमध्ये २२ देखि २५ वटा प्रडक्ट हर्मोनल छन् भने बाँकी अन्य जनरल उत्पादनहरु छन् । कम्पनीका डाइलोकेयर, फेम्प, प्रोजीमेड, एडिल—२, नोरेथ, च्वाइस, र्‍यापजोल, रेमिप्राजोललगायतका उत्पादनहरु बजारमा लोकप्रिय छन् ।

नेपाल रिमेडिज प्रा.लि.ले इसिमोप्राजोल केही महिनाभित्रै बजारमा ल्याउने तयारीमा छ । लिक्वीडमा कफ सिरफलगायतका उत्पादनहरुका लागि पनि तयारी भइरहेको सिईओ नेपालले बताए । ‘एकदेखि डेढवर्षभित्र हामीसँग १ सय ५० प्रडक्टहरु बजारमा हुनेछन्,’ उनले भने, ‘हर्मोनमा केही प्रडक्ट थप्छौं । जनरल प्रडक्टहरु बढाउँछौं ।’

सन् २०२० मा सुरु भएको नेक्स्ट होल्डिङको फर्माबाहेक हाइड्रो पावर, डिस्टीलरी, रेम वर्क (को—वर्किङ स्पेश कम्पनी), प्राइभेट इक्वीटीलगायतमा लगानी छ । नेक्स्ट भेन्चर्सको म्यानेजमेन्ट रहेर नेतृत्व गरिरहेका सबैजना ३५ वर्षभन्दा कम उमेर समूहका युवाहरु छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #अविरल नेपाल, #नेपाल रेमेडिज प्रा.लि., #प्रमुख कार्यकारी अधिकृत, #हर्मोनल औषधी


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ