२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकल महिलाहरुका लागि ६ दिने सेनेटरी प्याड तयारी तालिम सुरु

एकल महिलाहरुका लागि ६ दिने सेनेटरी प्याड तयारी तालिम सुरु


धनगढी-कैलालीको अत्तरियामा एकल महिलाहरुका लागि महिनावारी सरसफाइ, प्रजनन स्वास्थ्य परामर्श तथा सेनेटरी प्याड तयारी सम्बन्धि ६ दिने तालिम सुरु भएको छ । गोदावरी नगरपालिका महिला शाखाको आयोजनामा भएको तालिमको मंगलबार एक औपचारिक कार्यक्रमका बीच नगरप्रमुख हरि सिंह साउँदले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले मानिसहरुले सबैभन्दा पहिलो प्राथमिकता आफ्नो स्वास्थ्यलाई दिनुपर्ने बताए । ‘स्वास्थ्य बिना केही कुरा सम्भव छैन’ उनले भने, ‘त्यसैले सर्वप्रथम आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस ।’ महिनावारी भएको बेला प्रयोग गरिने फोहोर कपडाबाट रोगको संक्रमण बढ्ने भएकाले सफा कपडाको प्रयोग गर्नुपर्ने उनले बताए ।

‘विभिन्न रोगहरुको संक्रमण फोहोरबाट नै हुन्छ,’ नगरप्रमुख साउँदले भने ‘रोगको संक्रमणबाट मुक्त भई निरोगी जीवन जिउन आफू स्वस्थ हुनुका साथै गाउँघरमा भएको फोहोरलाई पनि कसरी व्यवस्थित गरी स्वस्थ समाज बनाउने भन्नेतिर अग्रसर हुन जरुरी छ ।’

नगरभरिका एकल महिलाहरुलाई तालिम दिई रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्य नगरको रहेको उनको भनाइ छ । तालिमका सहभागीहरुले उत्पादन गरेका सेनेटरी प्याडहरु नगरभित्रका सामुदायीक विद्यालयहरुलाई वितरण गरिने उनले बताए । यसैगरी कार्यक्रममा बोल्दै उपप्रमुख रत्ना कडायतले तालिममा सिकेको कुरा व्यवहारमा नउतारे तालिम लिएको अर्थ नहुने बताइन ।

‘प्राय सहभागीहरुले निःशुल्क रुपमा तालिम पाइराखेका छौ भनेर तालिममा त्यति चासो दिएको पाइदैन्,’ उनले भनिन्, ‘तर आफैले तिरेको करबाट नै यो तालिम प्राप्त भएको हो र यसलाई सदुपयोग गर्नुपर्छ भन्ने कुराको ज्ञान हुन जरुरी छ ।’ उनले तालिम आफ्नै लागि हो र भविष्यमा पनि यस्ता कार्यक्रममा सरिक हुनेछौ भन्ने हिसाबले लाग्न उनले सहभागीहरुलाई आग्रह गरिन् । तालिमले एकल महिलाहरुको जीवनमा फाइदा पु¥याउने विश्वास लिएको उनले बताइन् ।

वडा नंं २ का वडाध्यक्ष कृष्णराज जोशीलगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन गोदावरी नगरपालिकाकी महिला विकास निरीक्षक गोदावरी खत्रीले गरेकी थिइन । ६ दिनसम्म चल्ने तालिममा सबै वडाको प्रतिनिधित्व हुने गरी गठन गरिएको गोदावरी नगरस्तरीय एकल महिला समूहका ३० जना एकल महिलाहरुको सहभागिता रहेको थियो ।

तालीममा सेनेटरी प्याडको प्रशिक्षकका रुपमा गोदावरी नगरस्तरीय एकल महिला समूहकी अध्यक्ष खेमा बिष्ट रहेकी छन भने स्वास्थ्य परामर्श सम्बन्धी गोदावरी नगरपालिकाको स्वास्थ्य शाखा र महिला तथा बालबालीका शाखाका कर्मचारीहरुले प्रशिक्षण दिनेछन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ