२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडडेल्धुराको भित्री मधेसमा मलेरियाका बिरामी भेटिए

डडेल्धुराको भित्री मधेसमा मलेरियाका बिरामी भेटिए


धनगढी-डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकाका २ वडामा मलेरिया रोगका बिरामी भेटिएका छन् । नपरपालिको वडा नम्बर ६ र ७ बाट बिरामी भएर जचाँउन आएका व्यक्तिहरूको रगत परिक्षण गर्दा मलेरिया भएको पुष्टि भएको साँदनी स्वास्थ्य चौकीका प्रमुख हेल्थ असिस्टेन्ट जयबहादुर धामीले जानकारी दिए । २ हप्ताअगाडि साँदनी स्वास्थ्य चौकीमा पुगेका बिरामीहरूमा मलेरियाका लक्षण देखा परेका उनको भनाइ छ।

दुई हप्ता अघिदेखि फैलिएको मलेरिया रोगबाट हालसम्म १० जना बिरामीहरू संक्रमित भइ निःशुल्क औषधि सेवन गरिसकेका छन्। विशेष गरेर गत २ हप्ताअघि पहिलोपल्ट वडा नम्बर–६ स्थित रामपुर गाउँका एकजना स्थानीय संक्रमित भएका थिए। मलेरिया रोगको प्रकोप वडा तहमा दिनानुदिन बढ्दै गएकाले सोबारे जोगबुडा अस्पताल र जिल्लास्थित स्वास्थ्य कार्यालयमा समेत खबर गरिसकेको स्वास्थ्य चौकी प्रमुख धामीले जानकारी दिए।

पछिल्लो समयमा स्वास्थ्यकर्मीको टोलीले संक्रमण रहेको सम्भावित रामपुर, भोरकुण्डा, थालिगडा, ठूलागडालगायतका क्षेत्रमा खोजी (सर्च) गरिरहेको छ। सर्चका साथसाथै हाल स्थानीयलाई जनचेतना फैलाइरहेको स्वास्थ्य प्रमुख धामीको भनाइ छ। औलो प्रभावित वडाहरूमा झुल वितरण र लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने काम केही दिनमै सुरु गरिने स्वास्थ्य कार्यालय, डडेल्धुराका भेक्टर कन्ट्रोलर सुपरभाइजर हरिप्रसाद भट्टले जानकारी दिए।

सामान्यतया: औलो रोगका परजिवि भएको लामखुट्टेल टोकेको १०–१५ दिन भित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नीहरू दुख्ने, असजिलो महसुस हुनेजस्ता सामान्य लक्षणहरु देखा पर्दछन् । निरन्तर वा दिन विराएर ज्वरो आउने, शरीरका महत्वपूर्ण भित्री अंगहरू फियो, कलेजो सुनिने, शरीरमा रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृतिअनुसार विभिन्न लक्षण तथा समस्याहरू देखिने गर्दछन्।

पोथी एनोफेलेस जातिको लामखुट्टेले टोकेपछि सर्ने भएकोले लामखुट्टेको टोकाइबाट बच्न स्वास्थ्यकर्मीको सुझाव छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ