काठमाडौं—सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको टीकापुर अस्पतालका प्रयोगशाला इञ्चार्ज उमेश बजगाईमाथि कुटपिट भएको छ । मंगलबार दिउँसो फिजियोथेरापिष्ट अनिल तिवारीले प्रयोगशाला इञ्चार्ज बजगाईमाथि कुटपिट गरेका हुन् ।
काम विशेषले प्रशासनमा गएका बेला मंगलबार दिउँसो २ बजे आफूमाथि तिवारीले कुटपिट गरेको बजगाईले बताए । ‘म कामका लागि प्रशासनमा गएको थिए, एक्कासी आएर उहाँले ममाथि कुटपिट गर्नुभयो,’ बजगाईले भने, ‘मैले कारवाहीका लागि अस्पताल प्रशासनमा निवेदन दिएको छु ।’
बजगाईमाथि कुटपिट गरेको आरोप लागेका तिवारी भने कार्यालयमा भइरहेको अनिमितताको विषयमा कुरा गर्दा गाली—गलौज गरेपछि प्रतिक्रिया दिएको दावी गरे । ‘प्रयोगशालामा भएको अनियमितताको विषयमा प्रशासनसँग कुरा गर्न गएको थिएँ । एक्कासी गाली-गलौंज गरेपछि मैले प्रतिक्रिया जनाएको हुँ ।’
तिवारीले विदाका दिन पनि प्रयोगशाला चलाएको देखाएर भत्ता खाने गरेको, रिएजेन्ट महंगोमा खरिद गर्ने गरेको आरोप पनि बजगाईमाथि लगाए । ‘प्रधानमन्त्री बालेन्द्र शाह मेरो गाउँका बाजे हुन्,’ उनले भने, ‘मैंले प्रधानमन्त्रीको सचिवालयसमेतलाई जानकारी गराइसकेको छु ।’
टिकापुर अस्पताल प्रशासनले प्रयोगशाला प्रमुखले कुटपिट गरेको निवेदन दिएपछि त्यसबारेमा सिसिटीभी फुटेजसहित आवश्यक अनुसन्धान र कारवाहीका लागि इलाका प्रहरी कार्यालय टीकापुरलाई परिपत्र गरिसकेको छ ।
सिसिटीभी फुटेजमा प्रयोगशाला प्रमुख बजगाईलाई तिवारी दौडिएर आएर कुटपिट गरेको देखिन्छ । लगतै, बजगाईले पनि तिवारीमाथि खुट्टाले प्रहार गरेको देखिन्छ । त्यसपछि अन्य कर्मचारीहरुले दुवै जनालाई छुट्याएका थिए ।
भिडियो हेर्नुहोस्