२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसेनाद्वारा वृद्धसेवा केन्द्रमा स्वास्थ्य शिविर

सेनाद्वारा वृद्धसेवा केन्द्रमा स्वास्थ्य शिविर


धनगढी-नेपाली सेनाले कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको महिला तथा वृद्ध सेवा केन्द्रमा स्वास्थ्य शिविर संचालन गरेको छ । नेपाली सेना २५ नम्बर बाहिनी भगतपुरले भीमदत्त नगरपालिका–५ वनखेतस्थित वृद्धसेवा केन्दमा स्वास्थ्य शिविर संचालन गरेको हो ।

बुधबार नेपाली सेनाका चिकित्सक डा.बबिता सिलवालसहितको स्वास्थ्यकर्मीको टोलीले ६२ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेको छ ।

२५ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी शंकरबहादुर पण्डितले समाजिक कार्य अन्तर्गत सेनाले वृद्धसेवा केन्द्रमा बस्दै आएका जेष्ठ नागरिकको स्वास्थ्य उपचारका साथै खाद्यान्न एवं न्याना लुगा वितरण गरेको बताए ।

उनका अनुसार खाद्यान्नमा दाल चामलसहित ६२ थान सल सहयोग गरिएको छ । महिला तथा वृद्ध सेवा केन्द्र कञ्चनपुरका अध्यक्ष शारदा चन्दले सेनाले सदैव वृद्धसेवा केन्द्रमा सहयोग गर्दै आएको बताइन् ।

अधिकारकर्मी समेत रहेकी अध्यक्ष चन्दले सेनाले स्वास्थ्य शिविर संचालन गरेपछि वृद्धवृद्धाले आश्रममै उपचार पाएको बताइन् । ‘सेनाले दिएको राहतले केही दिन पुग्छ,’ उनले भनिन्, ‘यस्तै सहयोगबाट यो वुद्धसेवा केन्द्र चल्दै आएको छ ।’ ०६३ सालदेखि असाहयका आश्रय स्थलका रुपमा रहेको बृद्धसेवा केन्द्र बनेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ