२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिमका अस्पतालहरुमा चिकित्सक र स्वास्थ्यकर्मी अभाव

सुदूरपश्चिमका अस्पतालहरुमा चिकित्सक र स्वास्थ्यकर्मी अभाव


धनगढी—समायोजन अघि सुदूरपश्चिम प्रदेशमा काम गरिरहेका अधिकांश चिकित्सकहरूले समायोजनका क्रममा संघ रोजेपछि सुदूरपश्चिमका प्रदेशका स्वास्थ्य संस्थामा चिकित्सकको अभाव देखिएको छ । सुदूरपश्चिम प्रदेशमा १४ वटा अस्पतालमध्ये अधिकांश अस्पतालले चिकित्सकहरु अभाव खेपिरहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा संघअन्र्तगतको १ अस्पताल, प्रदेश अन्तर्गतका ३ अस्पताल र स्थानीय तह अन्तर्गतका ३ अस्पताल, साझेदारीमा सञ्चालित १ अस्पताल र ६ जिल्ला अस्पताल छन् । संघअन्तर्गतको डडेल्धुरा अस्पताल, प्रदेश अन्तर्गतका महाकाली अस्पताल, सेती प्रादेशिक अस्पताल र टिकापुर अस्पताल रहेका छन् । त्यस्तै गरी स्थानीय तह अन्तर्गत मालाखेती अस्पताल, गोकुलेश्वर अस्पताल र जोगबुढा अस्पताल र साझेदारीमा सञ्चालित अछामको बयलपाटा अस्पताल रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा बैतडी, दार्चुला, डोटी, अछाम, बझाङ र बाजुरा गरी ६ जिल्ला अस्पताल रहेका छन् । सबै अस्पतालहरुमा चिकित्सकहरुको अभाव प्रमुख समस्याका रुपमा देखिएको छ ।

संघीयता कार्यान्वनको सन्दर्भमा कर्मचारी र स्वास्थ्यकर्मी समायोजन प्रक्रिया टुंगी नसकेकोले स्वास्थ्य जनशक्तिको तथ्यांक एकिन गर्न कठिन छ । दुई दशक पहिले निर्धारण गरिएको स्वास्थ्य जनशक्तिको दरबन्दी आफैमा बढ्दो जनसंख्याले गर्दा समयसापेक्ष छैन् । तर, त्यो दरबन्दी पनि पूरा छैन् । चिकित्सक र नर्सको दरबन्दी र स्थायी पदपूर्तिको अनुपात हेर्ने हो भने एकदमै न्युन छ ।

यस प्रदेशका ३ वटा स्थानीय निकायका अस्पतालहरु, २ वटा प्रदेश अस्पतालहरु (सेती प्रादेशिक अस्पताल र महाकाली अस्पताल), ६ वटा जिल्ला अस्पतालहरु, र अछाममा संचालित बयलपाटा अस्पताल गरी जम्मा १४ अस्पताल गरी जम्मा दरबन्दी मध्ये ६९ प्रतिशत चिकित्सकका पदहरु रिक्त छन् । तथापी करार र अन्य स्रोतबाट उपलब्ध जनशक्तिबाट स्वास्थ्य सेवालाई जसोतसो धानिएको छ । बिशेषज्ञ चिकित्सकको दरबन्दीअनुसारको पदपूर्ति अझ न्युन छ । त्यसैगरी स्टाफ नर्सको दरबन्दीमध्ये ४२ प्रतिशत स्थायी पदपूर्ति हुन सकेको छैन ।

सामाजिक विकास मन्त्रालयअन्तर्गत नीति, कानुन, मापदण्ड, योजना र जन—स्वास्थ्य महाशाखा र अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखामा ७ जनाको दरबन्दी रहेकोमा ४ वटा पदहरु रिक्त छन् भने स्वास्थ्य निर्देशनालयको ३२ जनाको दरबन्दीमा ५० प्रतिशत वटा पदहरु रिक्त छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ