२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअमित मेडिसिनका सञ्चालक दुस्यन्त बस्नेतसहित दुई जनालाई पक्राउ गर्न अदालतको अनुमति

अमित मेडिसिनका सञ्चालक दुस्यन्त बस्नेतसहित दुई जनालाई पक्राउ गर्न अदालतको अनुमति


धनगढी-कर चुक्ता प्रमाणपत्र कीर्ते गरेको आरोप लागेका अमित मेडिसिनका सञ्चालक दुस्यन्त बस्नेतसहित दुई जनालाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ। जिल्ला अदालत कैलालीबाट बस्नेतसहित अर्का सञ्चालक प्रदिप अग्रवाललाई पक्राउ गर्न अनुमति प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले पुष्टी गरे ।

प्रमाणपत्र किर्ते गरेको देखिएपछि सञ्चालकलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो । टेण्डर हत्याउन अमित मेडिसिन डिस्ट्रीब्युटर्सले कर चुक्ता प्रमाणपत्र कीर्ते गरेको उजुरी परेपछि आन्तरिक राजश्व कार्यालय कैलालीले छानविन सुरु गरेको थियो।

गेटा आँखा अस्पतालको गत आर्थिक वर्षको औषधी खरिदको टेण्डर हत्याउनका लागि अमित मेडिसिनले कर चुक्ताको प्रमाणपत्र किर्ते गरेको आरोप लागेपछि  आन्तरिक राजश्व कार्यालय कैलालीले छानविनपछि पक्राउका लागि प्रहरीसँग समन्वय गरेको बुझिएको छ।

अमित मेडिसिनले २०७४ साल माघ १० गते आन्तरिक राजश्व कार्यालयबाट जारी भएको कर चुक्ताको प्रमाणपत्र आँखा अस्पतालको टेण्डरमा पेश गरेको थियो। सो प्रमाणपत्रमा कर अधिकृत रामबोली साम्बाहाम्फेले हस्ताक्षर रहेका छन्।

तर, उनको २०७४ असोजमै धनगढीबाट सरुवा भइसकेकोले अमित मेडिसिनले कर चुक्ताको प्रमाणपत्र कीर्ते गरेको आरोप लाग्दै आएको छ। सरुवा भएका कर अधिकृतको हस्ताक्षर स्क्यानिङ गरी मेडिसिनले कर चुक्ताको प्रमाणपत्र बनाइएको अनुन्धान कार्यलयले जनाएको छ ।

अमित मेडिसिनले कर चुक्ता प्रमाणपत्र किर्ते गरेको उजुरी परेपछि आन्तरिक राजश्व कार्यालय कैलालीले गेटा आँखा अस्पतालबाट कागजपत्रहरु नियन्त्रणमा लिएर छानविन गरेको थियो ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ