२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबाजुराका दुर्गम गाँउमा आयुर्वेद उपचार सेवा

बाजुराका दुर्गम गाँउमा आयुर्वेद उपचार सेवा


मार्तडी-जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले दुर्गम गाउँमा पुगेर आयुर्वेद उपचार सेवा दिदै आएको छ। विगतमा कार्यालयबाट मात्र सेवा दिदै आएको केन्द्रले अहिले भने गाउँमा गएर उपचारसँगै आयुर्वेद स्वास्थ्य सन्देश पनि दिइरहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराकी प्रमुख दीक्षा भण्डारीले बताइन।

केन्द्रले शनिबार समेत गाउँमा पुगेर क्लिनिक सञ्चालन गर्ने गरेको छ। ‘अरु समय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार गर्ने गरेको छौँ, बिदाको दिन गाउँघर क्लिनिक सञ्चालन गर्ने गरेको छौँ,’ सूचना अधिकारी सितल साउँदले भने। जनशक्ति अभावमा विदाको दिन पनि गाउँमा पुगेर सेवा दिने गरेको उनले बताए।

गौमुल गाउँपालिका-३ का ६१ वर्षीय धन लुवारले गाउँमै पहिलो पटक आयुर्वेद उपचार सेवा पाएको वताए। ‘मार्तडी जान सक्ने अवस्था थिएन्, पुगाउने पनि कोही थिएन्, गाउँमै स्वास्थ्यकर्मी आएपछि दमको उपचार गरे,’उनले भने, ‘गौमुल गाउँपालिकामा मात्र गाउँघर क्लिनिकमा एक सय १३ बढीले सेवा लिएका छन्।’

स्थानीय तहमा शिविर सञ्चालन गर्दा उनीहरुसँग पनि समन्वय गर्ने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख दीक्षा भण्डारीले बताइन्। गाउँघर क्लिनिकमा नसर्ने रोगको उपचार तथा व्यवस्थापन सम्बन्धी जानकारी गर्ने मुख्य उद्देश्य रहेको छ।

क्लिनिकमा नसर्ने रोग दम, अम्लपित्त, उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वास, मेदोगत रोग, वाथ सम्बन्धी रोगको विशेष उपचार गरिएको कार्यालय प्रमुख भण्डारीले बताइन्। पछिल्लो समयमा गाउँघरमा पुगे आयुर्वेद उपचार पाउँदा स्थानीय निकै खुशी भएको गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए।

प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले पनि आयुर्वेद कार्यालयले गरेको गाउँघर क्लिनिक निकै प्रभावकारी बन्दै गएको वताए। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुरामा पछिल्लो समयमा उपचार गर्नेको निकै भिड लाग्ने गरेको छ। कार्यालयको सेवा प्रभावकारी भएपछि उपचार गर्नेको संख्या पनि बढेको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ