२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यअमेरिकामा डिसेम्बरबाट कोरोनाको भ्याक्सिन दिइने

अमेरिकामा डिसेम्बरबाट कोरोनाको भ्याक्सिन दिइने


काठमाडौं—कोरोना भाइरस (कोभिड—१९) विरुद्धको भ्याक्सिन अमेरिकामा डिसेम्बरबाट सर्वसाधारणलाई दिन सुरु हुने सम्भावना रहेको बताइएको छ । समाचार एजेन्सीहरुकाअनुसार अमेरिकामा ११ डिसेम्बरदेखि अमेरिकामा भ्याक्सिन दिन सुरु हुनेछ ।

बेलायत, जर्मनीमा पनि डिसेम्बरबाट औपचारिक रुपमा भ्याक्सिन दिन सुरु गरिने एजेन्सीहरुले दावी गरेका छन् । यस्तै, भारतमा नयाँ वर्ष सन् २०२१ को तीन महिनाभित्र सर्वसाधारणका लागि दिने सम्भावना छ ।

कोरोना भाइरसको संक्रमण र मृत्युको आँकडामा सबैभन्दा पहिलो स्थानमा रहेको अमेरिकामा कोभिड—१९ विरुद्धको भ्याक्सिन टास्क प्रमुख मोन्सेफ सलोइले सीएनएनसँगको एक अन्तर्वार्तामा अमेरिकामा पहिलो व्यक्तिलाई डिसेम्बर ११ मा भ्याक्सिन दिइने बताएका छन् । उनले फुड एण्ड ड्रग एडमिनेष्ट्रेसन (एफडिए)ले अनुमति दिने बितिकै भ्याक्सिन दिन सुरु गरिनेछ ।

यसको तयारी पहिले नै पूरा भइसकेको बताइएको छ । ‘मलाई पूरा विश्वास छ कि ११ वा १२ डिसेम्बरसम्म अनुमति मिल्नेछ,’ उनले भने । १० डिसेम्बरमा एफडिएको महत्वपूर्ण बैठक बस्दैछ । यही बैठकले भ्याक्सिन लगाउन अनुमति दिने अपेक्षा गरिएको छ ।

यस्तै, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेनले देशमा भ्याक्सिनको काम जनवरीबाट सुरु गरिने बताएका छन् । उनले भने, ‘हामीले हाम्रातर्फबाट आवश्यक सबै महत्वपूर्ण तयारी गरिसकेका छौं । हामी जनवरीमा भ्याक्सिन दिने गरी हिडिरहेका छौ र तीन महिनामा पूरै देशलाई आवश्यक डोज दिइनेछ ।’ स्पेन र जर्मनी युरोपका पहिला यस्ता देश हुनेछन्, जहाँ भ्याक्सिन पूर्ण हुनेछ । देशमा कुल १३ हजार भ्याक्सिन प्वाइन्ट बनाइएका छन् ।

द गार्जियनसँगको कुराकानीमा जर्मनीका स्वास्थ्य मन्त्री जेन्स स्पान्हले भने, ‘युरोपमा जर्मनी र स्पेन यस्तो पहिलो देश हुन्, जसले भ्याक्सिनका लागि आवश्यक सबै तयारी पूरा गरिसकेका छन् ।’


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ