२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यतथ्यमा आधारित भएर समाचार नलेख्दा महामारीमा ठूलो दुर्घटना निम्तिन सक्छ : विज्ञ

तथ्यमा आधारित भएर समाचार नलेख्दा महामारीमा ठूलो दुर्घटना निम्तिन सक्छ : विज्ञ


काठमाडौं—देशमा बेला—बेला आइरहने महामारीको समाचार सम्प्रेषण गर्दा तथ्यमा आधारित हुन नसके ठूलो दुर्घटनामा पर्न सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन् । कोभिड—१९ महामारी लगत्तै हाल डेंगी महामारीसँग लडिरहेका बेला राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, ट्रिपल मिडिया र सेभ द चिल्ड्रेनको संयुक्त प्रयासमा समाजमा गलत सन्देश जान नदिने उद्देश्यले संचारकर्मीहरुका लागि राखिएको दुई दिने अभिमुखीकरण कार्यक्रम उनीहरुले यस्तो बताएका हुन् ।

दुई दिनसम्म चलेको ‘जोखिम सञ्चार तथा सामुदायिक सहभागितामा मिडियाको भूमिका’ विषयक अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य क्षेत्रका विज्ञहरूले जोखिममा सम्प्रेषण गर्दा तथ्यमा आधारित नभएको खण्डमा ठूला दुर्घटनाहरू हुन सक्ने बताए ।

अधिकारीहरूले अन्य विधामा कलम चलाउनेभन्दा स्वास्थ्य क्षेत्रमा केन्द्रित भएर कलम चलाउने पत्रकारहरू एकदमै संवेदनशील हुनुपर्ने बताए । उनीहरूले जोखिम समयमा सचेत भएर कलम चलाउन सुझाव दिएका छन् ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छाले स्वास्थ्य पत्रकारिता गर्दा व्यक्तिको मौलिक हकलाई मध्यनजर गर्दै गोपनीयता कायम राखेर समाचार लेख्नुपर्ने बताए । उनले प्रमाण बेस लेखन नभए ठूलो क्षति पुग्ने पनि स्पष्ट पारे ।

स्वास्थ्य तथा जनसंख्या सचिव डा. रोशन पोखरेलले पत्रकारले हरेक सूचना सम्प्रेषण गर्दा समुदायमा पर्ने असरको विषयमा ख्याल गर्नु पर्ने बताए । उनले सञ्चार माध्यममा समाचार सम्प्रेषण हुने सामग्रीले समाजमा सकारात्मक र नकारात्मक दुबै असर पर्ने बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले जोखिमको अवस्थामा सही र सत्य सूचनालाई तौलिएर मात्रै जनतामाझ पु¥याउन मिडियाले भूमिका निभाउनुपर्ने बताए । महामारीको समयमा अन्य समयको जस्तो सहज उपलब्धता नहुने भएकाले त्यसलाई पनि ध्यानमा राखेर समाचारहरू लेख्न उनले पत्रकारलाई आग्रह गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राले वैज्ञानिक र तथ्यपरक छ कि छैन भन्ने जाँचेर मात्रै समाचार सम्प्रेषण गर्नुपर्ने बताइन् । जोखिम सञ्चारमा एकरूपता ल्याउँनुपर्नेमा उनको जोड रहेको छ ।

मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले समाचार लेख्दा प्रयोग गरिने शब्दहरूमा ध्यान दिनुपर्ने बताए । ‘कहिलेकाही सही समाचार भएपनि शब्दका कारण दुर्घटना निम्तिन सक्छ,’ उनले भने ।

स्वास्थ्य सेवा विभागअन्तर्गत स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रकी वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक शिला श्रेष्ठले जोखिम सञ्चारमा तथ्यपरक सूचना सम्प्रेषण महत्वपूर्ण रहने बताइन् ।

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले जोखिमका बेला भ्रम तथा हल्लाहरु पनि निकै बाहिर आउने गरेको सुनाए । उनले कोभिडको समयमा फरक फरक व्यक्तिहरूले आफू अनुकूल सन्देशहरू दिदा जनतामा नराम्रोसँग भ्रम पैदा भएको बताए ।

व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्माले कोभिड—१९ महामारीको जोखिमपछि स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि भएको बताए । साथै उनले स्वास्थ्यकर्मीहरूमाझ भविष्यमा आइपर्ने महामारीजन्य जोखिमको सामना गर्न सक्ने आत्मविश्वास बढेको समेत दाबी गरे ।

राष्ट्रिय स्वास्थ्य शिक्षा प्रशासक डा भक्तबहादुर केसीले जोखिमको समयमा हुने सञ्चारमा सम्बन्धित विज्ञ वा आधिकारिक व्यक्ति र जोखिममा रहेका नागरिकबीच तत्काल दिइने सूचना, जानकारी, परामर्श र राय सुझावको आदान—प्रदान हुनुपर्नेमा जोड दिए ।

स्वास्थ्य मन्त्रालयका उपसचिव कपिलप्रसाद तिमिल्सिनाले समाचार सम्प्रेषण गर्दा तथ्याङ्कलाई केन्द्रमा राखेर गर्न आग्रह गरे । उनले तथ्यांक सामान्य मात्रै तलमाथि हुँदा फरक र गम्भीर असर पर्ने भन्दै तथ्याङ्कको सही व्यवस्थापनमा सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले कोभिडको महामारीमा अनावश्यक हल्ला, कोभिड विरुद्धको खोपको बारेमा भ्रमहरू फैलाइएकाले खोप माथि आम जनताको अविश्वास बढेको बताए । गलत सन्देशले गर्दा नागरिकमा अनावश्यक डर उत्पन्न भई खोप लगाउनमा हिचकिचाहट भएको समेत स्मरण गराए ।

स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा चुमनलाल दासले महामारीमा सबैको समन्वय आवश्यक भएको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता तथा एचइओसी प्रमुख डा. समिर अधिकारीले सही र सत्य सूचनालाई मात्रै प्रोत्साहन गर्न आग्रह गरे ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ