२०८१ असार २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यस्वास्थ्यमन्त्रीलाई एक चिकित्सकको खुल्ला पत्र

स्वास्थ्यमन्त्रीलाई एक चिकित्सकको खुल्ला पत्र


माननीय मन्त्रीज्यू,
नमस्कार ।

हरेक जनताको निःशुल्क स्वास्थ्य सेवा पाउने हक अधिकारसँग प्रत्यक्ष सरोकार राख्ने यति महत्वपूर्ण मन्त्रालयको मन्त्री हुनुभएकोमा सर्वप्रथम हजुरलाई हृदयदेखि नै बधाई एवं शुभकामना व्यक्त गर्न चाहन्छु । दिगो स्वास्थ्य क्षेत्रको विकासका लागि हजुरका सक्षम कार्यदिशालाई नमुना मानेर हजुरको शिरोपर गर्ने स्वास्थ्य क्षेत्रका युवाहरुको लर्को लामै छ ।

यी लामहरु हजुरको कार्यकाल पश्चात झन् बढ्दै जानेछ भन्नेमा म निकै नै आशावादी छु । स्वास्थ्यको सेवामा सरल समान पहुँच र विशिष्टता आजको आवश्यकता हो । नेपालका दुर्गम क्षेत्रहरुमा गएर सेवा दिन सक्ने आशावादी चिकित्सकहरुको वृत्ति विकास र आत्मविश्वास जागृत गर्नु समेत आजको चुनौती बन्दै गइरहेको छ । यो मुलुककै हृदय मानिने स्वास्थ्य क्षेत्रमा स्टेथेस्कोप लगाएर नै रोग निर्क्याैल गर्न हजुर समक्ष अनुरोध गर्न चाहन्छु ।

केएमसी पूर्व विद्यार्थी संघको आयोजना र छायाँनाथ रारा नगरपालिका—५ को सहकार्यमा यही सालको दशैं अगाडि विकट मुगु जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेका थियौं । उक्त स्वास्थ्य शिविरमा करिब ६ सय जना बिरामीले प्रत्यक्ष लाभ लिएको देख्दा र अशक्त, बालवृद्ध, विपन्न, पहुँच नभएकाहरुको हकहितमा कार्य गर्न पाउँदा संस्थाको अध्यक्ष र अभिभावक भएको नाताले मलाई धेरै नै खुशी लागेको थियो ।

उक्त शिविरमा एक सय बिरामी बालरोग, एक सय बिरामी नसा तथा हाडजोर्नी सम्बन्धि रोग, एक सय बिरामी महिला तथा स्त्री रोग र अरु रोगका बिरामीहरु जनरल रहेका थिए । निःशुल्क शिविरहरुको आयोजनाले गरिब जनताहरुको स्वास्थ्यमा उल्लेखनीय सुधार आउन सक्ने हुँदा भविष्यका दिनमा समेत समाजलाई टेवा पुग्ने अनुकरणीय कार्यमा सधै अग्रसर रहने वाचा समेत मैैले तिनै मुगुका जनताका सामु गरेको थिए । तर, एउटा संस्थाले के नै पो गर्न सक्छ र दीर्घकालीन रुपमा मन्त्रीज्यू ? गर्नुपर्ने त सरकारले हो । त्यसैले त्यहाँ भइराखेको स्वास्थ्य सेवाको असमान पहुँचका सम्बन्धमा हजुरको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।

समयको बोलावट, स्थानको आह्वान र आत्माको आमन्त्रण थियो । सायद, हामी आफ्नो जीवन नै जोखिममा राखेर यति लामो यात्रा तय गरेर निःशुल्क शिविर गर्न मुगु पुगेका थियौं । जति नै कठीनताको उकालो भएतापनि हामी माथि सयपत्री फूलको माला र अबिर लगाएर गरिएको स्वागत र सम्मान, च्याङग्राको मासुसँग मार्सी चामलको भातसहितको भोजन र त्यो आत्मीयता र कृतज्ञता अमूल्य थियो । कति टाढा—टाढाबाट स्वास्थ्य उपचार गर्न आएका ती मनहरुलाई म कसरी शब्दमा व्यक्त गरु मन्त्री ज्यू ? सायद चरम गरिबी र असहिष्णु सरकारबीच जीवनको मूल्य सिकाउने ती हँसिला र सहयोगी चेहेराहरुलाई जे—जे छ । आफूसँग सर्वस्व नै दिन मन लागेको थियो । स्वर्गका झिल्काहरु टिप्ने सुन्दर तर मौन ती चेतनाहरुलाई स्थानीय नेता भनाउँदाहरुले हरेक प्रहर पासोमा पारी निकम्मा बनाउँदै गइरहेका छन् ।

घनिष्ठ प्रभावका साथ अन्तसंस्करणमा नघुसी त्यहाँ सुधार हुँदैन्थ्यो । तर, जीवनको अग्रिम रेखासम्म भेट्टाउन पनि ताल्चा विमानस्थलबाट सिधै उड्नुपर्ने बाध्यताबीच कोदो, फापर, ढिंडो र सिस्नोको रससँग बाँचिरहेछ मुगु । पहाड पारीका दुनियाँका अनेकौं चमत्कारले सपनामा ऐठन परे पनि आखिर ! धुलोमा अक्षर नटिक्ने रैछ, मैनबत्तीले भूगोल नदेखिने रैछ, रारा हेरेरै मात्र भोक मेट्दो रैनछ । पहाडका कथा, सभ्यता र कठिनाइका कथा सारंगीले गाएर मात्र के गर्नु सुन्नेले नसुने पछि ?

राराले पर्यटकको इशारामा रङ मात्र बदल्छ तर मुगुले विकासको रङ अझै बदल्न सकेको छैन । यो भौगोलिक कमजोरी मात्र होइन्, मुगु राज्यको आँखा उपर सौताने बन्धनमा छ । यी ठाँउहरुमा मानिसहरु कसरी आए होलान् ? कसरी बाच्दा हुन् ? तुषाराले कठ्याग्रिने र धुलो हिलोमा लट्पटिने जीवनहरु कसरी स्वस्थ भएर फुल्दा हुन् ? भविष्यको सम्भावना एउटा उपन्यासको कथा जस्तै । गरिबीको पासोमा परी धर्म परिवर्तन र विदेशी दातृ संस्थाको शिकार भएर मुगु जिउँदो लाश र चलनको दास भएर बाचिरहेछ । मार्फाको ह्यांगमा मुगुलाई अन्यायमा पार्ने छुट कदापी राज्यलाई छैन् ।

ओखतीको अभावमा त्यहाँका जनतालाई भौतारिन दिने छुट कदापी राज्यलाई छैन । साच्चै काठमाडौंका जनता र मुगुका जनताहरुको बाँच्न पाउने अधिकारमा किन भिन्नता छ मन्त्रीज्यू? के त्यहाँका जनताहरु नेपाली होइनन् र? संविधानका धारामा व्याख्या भएजस्तो स्वास्थ्य सेवा सुलभ र निःशुल्क पाउने प्रावधान किन मुगुका जनतालाई लागु हुदैन् ? काठमाडौंका चोकैपिच्छे अस्पताल हुन हुने तर मुगुको सदरमुकाममा भएको एउटा अस्पतालमा समेत डाक्टर र औषधीको अभाव किन मन्त्रीज्यू?

मुगुजस्तै अरु विकट जिल्लाहरुमा समेत स्वास्थ्यका अवस्थाहरु नाजुक र बिजोग छन् । नत्र सुधारका लागि सत्याग्राही डा. गोविन्द केसीहरु किन जन्मिन्थे ? पिडौंला कहिले पनि नछोपिने शिशुहरु, नाकमा सिंगान बोकेर हिडेका बच्चाहरु, दिसामुक्त हुन नसकेका सार्वजनिकस्थलहरु सायद यिनै पर्यावरणमा टोलाएर पनि स्वास्थ्यको दरिद्रता देख्न सकिन्थ्यो ।

स्वास्थ्यको प्रतिकूलतालाई धर्म परिवर्तनको अस्त्र बनाएर खेलिएको धमिलो खेलको मुकदर्शक बनेको छ सरकार । जिब्रो मात्र मिठो बनाउने सेता आयतीत चामलभन्दा स्थानीय तहमा उब्जनी हुने र ताकत दिने कोदो, फापर, ढिंडोलाई हेला गर्ने प्रवृत्तिलाई रोक्न समेत सकेको छैन् सरकार । खै ! यी कथाहरु कहिले सकिएलान् ? मन्त्रीज्यू ! जति लेख्यो, सुनायो उति नै मन भरिएर आउँछ । आदतले बिगारेको त्यो भूगोलको सभ्यतालाई कसरी निरोगी राख्न सकिन्छ । अब दिमाग खियाउने बेला आएको छ मन्त्रीज्यू ! हुन त सरकारका मन्त्रीज्यूहरुलाई फुर्सदै कहाँ छ र ? स्वास्थ्य उपचारका निम्ति विदेश धाउँदैमा । विकट जिल्लाका स्वास्थ्य सेवाका पीडा नदेखेरै काठमाडौंमा बिरामी लुट्ने नर्सिङ होम खोल्न दिदैमा कहाँ ‘वाहवाह’ पाइन्छ र ? केही नदेख्नुमा र देखेर पनि वास्ता नगर्नुमा फरक छ, मन्त्रीज्यू ।

अब पनि बाटो बिग्रिदा जाबो ज्वरो घटाउने ‘टाटा’ (औषधि)कुर्न ताल्चा विमानस्थल वरिपरि आँखा घुमाउन प¥यो भने ? सुत्केरी व्यथा लाग्दा उही ताल्चामा विमान आउने दिन कुर्नु प¥यो भने ? के काम भयो आखिर स्थानीय र प्रादेशिक सरकारको ? अब पनि बिगार निको पार्न पूजा, मन्त्र, बली, धामी झाँक्री कै भर पर्नुप¥यो भने ? के काम भयो यो स्वास्थ्य मन्त्रालयको ? अब पनि विज्ञानभन्दा ज्यादा विश्वासमा मानिस अडिग रहे भने के काम भयो कम्युुनिस्ट सरकारको ?

अझै पनि आशा छ, हजुरकै कार्यकालमा मुगुजस्तै विकट जिल्लाका स्वास्थ्य क्षेत्रका अभावहरु मेटिदै जानेछन् । मानव जीवनको रक्षाका लागि सरकार लोक कल्याणकारी नीतिमा जाने छ । स्वर्गका देवताहरु बाँस बस्ने यी स्थलहरुमा सरकारको उपस्थिति उल्लेखनीय हुने नै छ । धार्मिक कल्पना र अन्ध—विश्वासहरुमा रुमल्लिनेहरुलाई आधुनिक स्वास्थ्य उपचारको घेरामा पक्कै पनि ल्याइने छ । पोषिलो मानवताबीच, फराकिलो सोचाइ र गहिरो सहानुभूतिले विकट भूगोललाई सुगम बनाउँदै लानेछ ।

सबै सुखी हुनेछन्, सबै निरोगी हुनेछन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ