२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यघरेलु खानाबाटै बढाउनुहोस् रोगसँग लड्न सक्ने क्षमता

घरेलु खानाबाटै बढाउनुहोस् रोगसँग लड्न सक्ने क्षमता


कुनै पनि व्यक्ति स्वस्थ हुनु भन्नाले रोगसँग लड्ने क्षमता हुनु हो । हामीले आफू स्वस्थ हुनुका निम्ति सर्वप्रथम विशेष रुपमा ध्यान दिनुपर्ने पक्ष भनेको हाम्रो आफ्नो खानपिन हो । हामीले खाने खाना स्वस्थ तथा सफा भएको खण्डमा त्यसले केही हदसम्म स्वतः हाम्रो शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास गर्छ । त्यसैले आफ्नो शरीरमा प्रतिरोधात्मक क्षमता बढाउनुका निम्ति विशेषगरी सर्वप्रथम आफ्नो आहारमा ध्यान दिन जरुरी छ ।

सामान्यतयाः व्यक्तिहरु पौष्टिकयुक्त आहारको नाममा धेरै खर्च गरिरहेका हुन्छन् । तर, व्यक्ति स्वस्थ्य बन्न तथा पौष्टिक आहार हामीले घरेलु खानाबाटै पनि प्राप्त गर्न सकिने हुँदा यसरी पौष्टिक खानाको नाममा बाहिर गरिने खर्च फजुल खर्च मात्रै हुन जान्छ । नेपालीको सन्दर्भमा भन्ने हो भने हामीले बिहान बेलुका खानाको रुपमा प्रयोग गर्ने दाल, खाना तथा रोटीहरु नै पौष्टिक आहाराको मुल स्रोतहरु हुन् । जसकारण शरीरमा कुनै पनि किसिमको समस्या वा मोटोपन नभएका व्यक्तिहरुले भने मिलाएर खाएको यस्ता खानपिनबाट मात्रै पनि शरीरलाई आवश्यक पौष्टिक तत्वहरु प्राप्त गर्न सक्छन् ।

अर्काे शब्दमा भन्नुपर्दा दैनिक रुपमा प्रयोग गर्ने स्थानीय खानाबाट नै शरीरले आवश्यक पौष्टिक तत्वहरु परिपूर्ति गर्न सक्छन् । स्थानीय

खानाहरु अन्तर्गत निम्न खानाहरु पर्दछन्ः

दाल तथा गेडागुडी

सामान्यतयाः नेपालीले खानाको समयमा विभिन्न गेडागुडीको सुपलाई दाल बनाएर खानासँग खाने प्रचलन रहेको छ । स्वास्थ्यको दृष्टिकोणले यी आहारा वास्तवमै नै स्वस्थ्यवद्र्धक छन् । यसरी विभिन्न गेडागुडीको सुप बनाएर खानाले एक स्वच्छ एवं ताजा माछा–मासु खाए बराबरको प्रोटिन प्रदान गर्छ । यसले शरीरमा फाइबर, कार्बाेहाइड्रेट, आइरन, एन्टीअक्साइड जस्ता आवश्यक तत्वहरु प्रदान गर्छ । यसैगरी चामल अर्थात्, खानामा पाइने भिटामिन ए, सी र ई ले शरीरको बाहिरी सौन्दर्यको कभर मानिने छालामा फाइदा पु¥याउँछ, नै यसका साथै यसले शरीरका कोषहरुको वृद्धि विकासमा पनि मद्दत पुर्‍याउँछ ।

हरियो तरकारी तथा सागसब्जी

हरियो तरकारी एवं सागसब्जीलाई विशेषगरी भिटामिन ‘ए’, ‘सी’ र ‘के’ को बलियो आधार मानिन्छ । यसका साथै यी खानामा फाइबरको मात्रा पनि प्रचुर रहेको हुन्छ । यस्ता खानाको दैनिक प्रयोगले व्यक्ति स्वस्थ्य हुनुका साथै यसले व्यक्तिमा मोतिबिन्दु, दाँत तथा मांसपेशीको अनावश्यक दुखाइमा राहत पुर्‍याउँछ ।

गहुँ र अन्न

खाजा वा खानाको रुपमा लिने कोदो, गहुँ, जौ, धान, तोरी, मकैको रोटी वा विभिन्न परिकारले व्यक्तिलाई मोटोपनबाट टाढा रहन मद्दत गर्छ । अधिकांश रोगहरु व्यक्तिमा मोटोपनबाट नै हुने हुँदा यसले पनि व्यक्तिलाई स्वस्थ रहन मद्दत पुर्‍याउँछ । यति मात्र नभई गहुँले रगतमा भएको सुगर पनि नियन्त्रण गर्न मद्दत गर्छ । यसरी दैनिक रुपमा कुनै न कुनै प्रकारको अन्नको प्रयोग गर्नाले यसले शरीरमा भएका पुराना (क्रोनिक) रोगको जोखिमलाई घटाउँछ ।

दुधजन्य पदार्थ

दुध तथा दुधजन्य परिकार विशेषगरी शरीरको हाडजोर्नीको लागि उपयुक्त मानिन्छ । यसले शरीरमा न्युट्रिशनको मात्राबाट शरीर मेन्टेन गर्न मद्दत गर्छ । यसका साथैै यसले शरीरमा क्याल्सियम, पोटासियम, भिटामिन ‘डि’ तथा प्रोटिन समेत प्रदान गर्छ ।

माछा मासु

मासु भिटामिन ‘बी’ युक्त परिकार हो । यी परिकारमा पाइने फ्याट्स तथा प्रोटिनले पनि शरीरमा सकरात्मक ऊर्जाको विकास गराउँछ । मासु मनपर्ने व्यक्तिले घरमै पनि माछा मासु आफै बनाएर प्रयोग गर्न सक्छन् । तर, मासु खाने समयमा भने राम्ररी नपाकेको वा आधाकाँचो मासुको प्रयोग गर्नु हुँदैन । यसले झन् शरीरमा विभिन्न समस्या सिर्जना गर्ने हुदा माछा मासु राम्ररी पकाएर मात्रै खानु पर्छ ।

प्रशस्नत पानी

पानी सबैको घरमा उपलब्ध सर्वसुलभ तरल पदार्थ हो । यो हाम्रो शरीरको निम्ति नभई नहुने अत्यावश्यक तरल पदार्थमध्ये एक हो । यसको प्रशस्त सेवनले शरीरमा फाइदा पुग्नुका साथै विभिन्न रोगहरुबाट बच्न मद्दत पुग्छ । त्यसैले शरीरमा पानीको कमी हुन नदिन हामीले जाडो वा गर्मी दुवै याममा शरीरलाई आवश्यक पानीको सेवन गर्नुपर्छ । यसका निम्ति हामीले बाह्य पेय पदार्थको सट्टामा यसको प्रयोग गर्न सकिन्छ भने चिसो ठाउँमा सुप तथा झोलिलो वस्तुको रुपमा पनि यसको प्रयोग गर्न सकिन्छ ।

यसरी घरमै उपलब्ध हुने यी खानाहरुबाट हामीले प्रशस्त मात्रामा स्वास्थ्य लाभ लिन सक्छौ । तर, भोक मेटाउनको निम्ति प्रयोग गरिने यी घरेलु खाना पनि एकै पटक नभई पटक–पटकमा मात्रा मिलाएर लिनुपर्छ । अन्यथा एकै समयमा उच्च प्रोटिनयुक्त खाना खानाले कहिलेकाहिँ हाम्रो शरीरले पचाउन नसक्ने पनि हुन्छ । फलस्वरुपः विभिन्न समस्या देखा पर्दछ । त्यसैले पनि हामीले खानाको मात्रा मिलाएर थोरै–थोरै गरेर पटक–पटकमा खानुपर्छ ।

यसका साथै हामीले बाहिर फास्ट फुड भनिने खानाको प्रयोग सकभर गर्नु हुँदैन । हाल मौसम परिवर्तनको समय पनि रहेको र अझ त्यसमाथि पनि कोभिड–१९, हङकङ फ्लु, स्वाइन फ्लुजस्ता संक्रमणहरुको भय फैलिरहँदा बजारमा बेच्न राखिएका खुल्ला खाना खानु भनेको रोगलाई निम्तो दिनु बराबर हो । त्यसैले बाहिरी प्रदुषित वातावरण तथा खानाबाट आफूमा कुनै पनि रोगको संक्रमण देखा नपरोस् भन्नको निम्ति बजारमा पाइने फास्ट फुड तथा जंक फुडहरुको प्रयोगबाट सकेसम्म टाढै रहनुपर्छ । र, यसो गर्नाले व्यक्ति स्वस्थ रहन्छ नै, यसका साथै व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि हुन्छ ।

प्रस्तुतीः सृजना मगर 


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ