२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. विधान निधि पौडेलको सल्लाह : ग्यास्ट्राइटिसबाट कसरी छुटकारा पाउने ?

डा. विधान निधि पौडेलको सल्लाह : ग्यास्ट्राइटिसबाट कसरी छुटकारा पाउने ?


सामान्य बोलीचालीमा ग्यास्ट्रिक भनेर चिनिने स्वास्थ्य समस्यालाई चिकित्सामा भने ‘ग्यास्ट्राइटिस’ भनिन्छ । हाम्रो पेटमा थैलोको रुपमा आमाशय रहेको हुन्छ । यसभित्र रहेको पातलो झिल्ली सुन्निनु नै ग्यास्ट्राइटिस हुनु हो । सरल भाषामा आमाशयको भित्री भाग सुन्निएमा हामी त्यसलाई नै ‘ग्यास्ट्राइटिस’ भन्छौ ।

सामान्यतयाः हामीले अामाशय (पेटकाे थैलाे) लाई माथिल्लो, बीचको र तल्लो भाग गरी ३ भागमा छुट्याएका हुन्छौं । यसको प्रकृति व्यक्तिमा भिन्न–भिन्न रुपमा देखिने हुँदा ग्यास्ट्राइटिसमा कसैको तल्लो त, कसैको माथिल्लो वा कसैको भने पूरै भाग पनि सुन्निएको हुनसक्छ । यो व्यक्तिको दैनिकी वा उसको खानपिन र उसले आफ्नो शरीरलाई कत्तिको प्राथमिकता दिन्छ भन्ने कुरामा भर पर्दछ ।

यसका कारणहरु

नेपालमा ८० प्रतिशत व्यक्तिलाई यस समस्याले सताउने गरेको पाइन्छ । हाम्रो पेटमा ‘एच–पाईलरी’ नामक एक ब्याकटेरिया रहेको हुन्छ । उक्त जीवाणु एक्टीभ भएमा हामीलाई यस समस्याले सताउन थाल्दछ । नेपालकाे सन्दर्भमा भन्ने हाे भने ८० प्रतिशत व्यक्तिलाई एच–पाईलरी व्याक्टेरियाकै कारण यस समस्याले सताउने गरेकाे पाइन्छ । कतिपयले खाना नखाने वा धेरै खाने बानीलाई नै ग्यास्ट्राइटिसको मुख्य कारण मान्छन् ।

तर, वास्तवमा भने त्यसो होइन । व्यक्तिको यी बानीले पेटमा भएको ‘एच–पाइलरी’ ब्याक्टेरियालाई एक्टीभ गराउन मद्दत गर्ने भएतापनि ग्यास्ट्राइटिसको मुख्य कारण भनेको ‘एच–पाइलरी’ ब्याकटेरिया नै हो । र, यो एक्टीभ हुनका निम्ति भने व्यक्तिको निम्न पक्षहरुले विशेष भुमिका खेल्दछ ।

  •  समयमा खाना नखाने
  • भोको बस्ने
  • समयम नसुत्ने वा खाना खाने बित्तिकै सुत्ने
  • पिरो, अमिलो बढी खाने
  • धेरै खाना खाने
  • बढी चिल्लो एवं मसालेदार खाना खाने
  • विभिन्न पेन–किलरहरुको सेवन
  • धुम्रपान एवं मद्यपान

लक्षणहरू

शरीरमा देखिएको समस्या ग्यास्ट्राइटिस नै हो कि होइन भन्ने कुरा हामी यसको लक्षणबाट नै पहिचान गर्न सक्छौ । यस समस्याले सताएको व्यक्तिमा निम्न लक्षणहरु देखिन्छः

  • छाती पोल्ने
  • अमिलो पानी आउने
  • पेट ढाडिने वा डुम्म हुने
  • खाना खाएपछि पेट दुख्ने
  • डकार वा हिच्की आउने
  • अरुचि हुने
  • बान्ता आउने
  • ¥याल आइरहने आदि ।

जोखिम अवस्था

ग्यास्ट्राइटिस भन्नाले म्युकस लेयर सुन्निने प्रक्रिया मात्रै हो भन्ने हामीले थाहा पाइसक्यौ । तर, अब ग्यास्ट्राइटिस बिग्रेमा के हुन्छ त? अर्थात् यसले कस्तो जोखिम निम्त्याउँछ? यसबारे पनि केही जानकारी हासिल गरौं ।

झिल्लीको कोषिका माथि भएको म्युकस लेयरले हामीले खाना वा कुनै औषधि खादा पेटमा बन्ने एसिडलाई बचाउने काम गर्दछ । तसर्थ, आवश्यकता अर्थात क्षमताभन्दा धेरै खाना खाएमा उक्त लेयरले आफ्नो काम राम्ररी गर्न सक्दैन ।

फलस्वरुपः त्यहाँ उत्पन्न भएको उक्त एसिडले सिधै कोषिकामा असर गरी क्रमसः म्युकस लेयर, सब–म्युकस लेयर र मसल लेयरको तल तिरबाट खियाउँदै लैजान्छ । र, व्यक्तिमा अल्सर समेत देखिन्छ । त्यसैले पनि हामीले यसको उपचार समयमै गर्नुपर्छ ।

रोकथाम तथा उपचार

शरीरमा ग्यास्ट्राइटिस समस्या निम्त्याउन विभिन्न पक्षहरुको भूमिका रहेजस्तै यस समस्याबाट छुटकारा पाउने वा यस्तो समस्या आउनै नदिने विभिन्न उपायहरु रहेका छन् । जसमध्ये हामीले विशेषगरी निम्न यी ३ पक्षहरुमा ध्यान दिनुपर्दछः

१. हरी

हरी भन्नाले आत्तिएर हतारमा काम गर्ने भन्ने बुझिन्छ । हामी सदैव काममा व्यस्त भएका कारण हतारमा हुन्छौ । जसकारणले हामीले समयमा खाना नखाने वा खादैं नखाने पनि गर्छाै । जसले शरीरमा ग्यास्ट्राइटिस उत्पन्न गर्न प्रत्यक्ष भूमिका खेल्दछ । तसर्थ, ग्यास्ट्राइटिसबाट बच्नका लागि हामीले हाम्रो हरी गर्ने बानीलाई हटाउनु पर्दछ ।

२. वरी

व्यक्तिको स्वभाव कस्तो हुन्छ भने आफू चिन्तित वा तनावमा रहेको बेलामा कि त केही खादैं खादैन वा आवश्यकभन्दा पनि बढी खाने गर्दछ । यस्तै अझ कतिपयले त तनावको नाममा मद्यपान तथा धुम्रपानको सेवन गरिरहेका हुन्छन् । जुन विल्कुल गलत हो । यसले शरीरमा समस्या निम्त्याउनुबाहेक अन्य केही लाभ गर्दैन । तसर्थ, शरीरमा देखिने अन्य समस्याका साथै ग्यास्ट्राइटिसबाट बच्नका निम्ति व्यक्तिले सकेसम्म वरी अर्थात् तनावमुक्त अवस्थामा बस्नुपर्छ ।

३.करी 

करीअन्तर्गत भने बढी चिल्लो, अमिलो, नुन तथा मसालेदार खाना भन्ने बुझिन्छ । व्यक्तिको यस्ता बानीले पनि ग्यास्ट्राइटिस निम्त्याउन सघाउ पु¥याइरहेको हुन्छ । तसर्थ, पोलेको माछामासु, सिसीमा राखेर गलाइएको अचार, अत्याधिक पिरो, अमिलोजस्ता खानाबाट टाढा रहनाले पनि ग्यास्ट्राइटिसबाट बच्न सकिन्छ ।

यस्तै यीबाहेक शारीरिक व्यायाम, राति सुत्दा हल्का खाना खाने र सुत्नुभन्दा ३ घण्टाअघि नै खाना खाने, प्रशस्त पानी पिउने, धुम्रपान तथा मद्यपानबाट टाढा रहने र जथाभावी पेलकिलरको सेवन नगर्नाले पनि ग्यास्ट्राइटिसबाट टाढा रहन सकिन्छ । तर, यति गर्दागर्दै पनि ग्यास्ट्राइटिसले सताएको खण्डमा भने व्यक्तिले यसलाई बेवास्ता नगरी समयमै यसको उपचार गराउनु पर्दछ ।

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ